बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले कात्तिक २३ गते विभिन्न बैङ्क, वित्तीय संस्था तथा सहकारीका खातामा एकमुस्ट रकम पठाइदिएको थियो तर कात्तिक २४ गते शुव्रmबार बैङ्क खुलेदेखि ३० गतेसम्म तिहार बिदा भयो । मङ्सिर १ गते शुक्रबार बैङ्क खुले पनि अधिकांश बैङ्कले किसानको खातामा पैसा पठाएका छैनन् । चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैङ्क खातामा पैसा हस्तान्तरण नगरिदिँदा दसैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घले शनिबार सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा आयोजना गरेको शान्तिदीप हस्तान्तरण तथा झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हाम्रो अधिकार चाहियो भन्ने हो ।”
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा आगामी माघ २० देखि सुरु गर्ने भएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार एमडी, एमएस र एमएसी नर्सिङ, एमएसी मिडवाइफ्री नर्सिङ र एमडी आयुर्वेदाको परीक्षा माघ २० गते सम्पन्न हुने छ । यसै गरी जनस्वास्थ्य स्नातकोत्तर तह र एमफिल एन्ड क्लिनिकल फिजियोलोजीको प्रवेश परीक्षा माघ २१ गते सम्पन्न हुने छ भने स्नातकोत्तर डेन्टल सर्जरी तह, स्नातकोत्तर फार्मेसी, एमएसी बायोकेमेस्ट्री र स्नातकोत्तर फिजियोथेरापी तहको परीक्षा मङ्सिर २२ गते हुने भएको छ । डा. झाले आयोगले लिने प्रवेश परीक्षाका लागि मङ्सिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन दिनुपर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालका अनेक विकल्प रहेकाले अवैध रूपमा एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन आग्रह गर्नुभएको छ । भर्चुअल प्राइभेट नेटवर्क र डोमेन नेम सिस्टम (डिएनएस) प्रयोग गरी टिकटकको प्रयोग गर्नु गैरकानुनी हुने बताउँदै उहाँले साइबर सुरक्षाको जोखिमलाई दृष्टिगत गरी वैकल्पिक सामाजिक सञ्जाल प्रयोग गर्न सुझाव दिनुभयो ।
सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पालिकामा बस्नुपर्ने मापदण्ड निर्माण गर्ने भएको छ । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन खटाएको कार्यालयमा एक वर्षसम्म बस्नुपर्ने गरी नयाँ मापदण्ड निर्माण गर्न लागेको हो ।
झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।
प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ ।
चिसोका कारण जाजरकोटमा थप तीनजना वृद्धको ज्यान गएको छ ।
शनिबार दिन ढल्दै गर्दा सन्तोष साह ललितपुरको कुपण्डोल नजिकै वाग्मती नदी किनारमा बत्ती जडान गर्दै हुनुहुन्थ्यो। भारत घर भएका साह हरेक वर्ष यसैगरी तिहार र छठ जस्ता पर्वमा बत्ती जडान गर्न यहाँ आउनुहुन्छ।
वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, नवलपुरले उपभोक्तामाथि लगाइएको १० प्रतिशत कर छुट गराई दिन वन मन्त्रालयलाई आग्रह गरेको छ।
बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता र देशको पक्षमा काम नगरेको भन्दै सच्चिन आग्रह गर्नुभएको छ ।
टीकापुर पार्कमा मङ्सिर २ गते शनिबार दश हजार ६०० जना पर्यटकले अवलोकन गरेका छन् । कर्णाली, लुम्विनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका पर्यटकले करिब १३ विघामा फैलिएका पार्कका गार्डेन, बाटिका, पिकनिक स्थल, पार्किङ भरिभराउ छन् ।
दाङमा प्रहरीले धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –१५ गोरखा हस्पिटल रोडनजिकै हिडिरहेको अवस्थामा २१ बर्षीय कृतिक बुढामगरमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।