काठमाडौँ, मङ्सिर ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ ।
नेपाल पर्वतारोहण सङ्घले शनिबार सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा आयोजना गरेको शान्तिदीप हस्तान्तरण तथा झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हाम्रो अधिकार चाहियो भन्ने हो ।” प्रधानमन्त्री ‘प्रचण्ड’ ले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग भन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने उल्लेख गर्नुभयो । उहाँले मङ्सिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुने सम्मेलनमा क्षतिपूर्ति दाबी गर्ने तयारी थालिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले यसलाई मागका रूपमा नभई अधिकारकै रूपमा सशक्त रूपमा राख्ने तयारी भएको प्रस्ट पार्नुभयो । उहाँले सम्मेलनमा आफैँ सहभागी भई नेपालका तर्फबाट जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानिनोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरणका बारेमा कुरा उठाउने बताउनुभयो ।
उहाँले खुम्बु क्षेत्रको विकास तथा विस्तार, व्यवस्थित पर्यटकीय गतिविधि सञ्चालन, सगरमाथाको सुरक्षा र सफाइलाई प्रभावकारी रूपमा लैजान सरोकारवालाको सहभागितामा आवश्यक कार्यविधि बनाइने उल्लेख गर्नुभयो । कालापत्थर क्षेत्रमा दीप प्रज्वलन हस्तान्तरण र झन्डोत्तोलन गर्नु आफैँमा महत्वपूर्ण क्षण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले भन्नुभयो, “मैले महासभामा हामीले गर्दै नगरेको कामका निम्ति मूल्य चुकाउनुपर्ने विडम्बनाका बारेमा स्पष्टसँग राखेको छु । यसलाई प्रत्यक्ष रूपमा अनुभूत गर्न र उक्त मुद्दालाई विश्वव्यापीकरण गर्न राष्ट्रसङ्घका महासचिवसँग अपिल गरेँ,” उहाँले भन्नुभयो, “मेरै निमन्त्रणामा राष्ट्रसङ्घका महासचिव तुरुन्तै नेपाल आउनुभयो । खुम्बु क्षेत्रको अवलोकन र स्थानीयसँग अन्तव्रिर्mया गर्नुभयो । यो निकै महत्वपूर्ण छ ।”
प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वमाझ नेपाललाई चिनाउने सगरमाथा र लुम्बिनीको संरक्षण र प्रवर्धन गर्न सरकारले भरमग्दुर प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँले विश्व समुदायमाझ नेपालको प्रतिष्ठा अभिवृद्धिका लागि खुम्बु क्षेत्रको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासमा पनि कहिल्यै नटुङ्गिने अनन्त स्रोतका रूपमा सगरमाथा र लुम्बिनी रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव लुम्बिनी गएर शान्तिको अपिल गर्नुभयो ।