गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता र देशको पक्षमा काम नगरेको भन्दै सच्चिन आग्रह गर्नुभएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार यहाँ आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । प्रतिक्रियावादीहरु देशव्यापीरुपमा सक्रिय रहेकाले त्यसलाई निरुत्साहित गराउन एमालेले भूमिका खेल्ने उहाँले बताउनुभयो ।
युवा विद्यार्थीहरु एक्लै छैनन, साथमा एमाले छ भन्ने देखाउन मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गरिने उहाँले बताउनुभयो । एमाले हिंसाको राजनीति नगर्ने, शान्तिपूर्ण राजनीति गर्ने हुनाले शान्तिपूर्ण प्रदर्शन गरिने उहाँको भनाइ छ । एमालेजस्तो शक्ति देशमा रहेकाले सरकार तथा अन्य शक्तिले स्वेच्छाचारिता गर्न नपाएको उहाँले टिप्पणी गर्नुभयो ।
लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले बलिदानी दिएर ल्याएको व्यवस्था भएकाले यसको संरक्षणमा एमाले जस्तोसुकै योगदान दिन तयार रहेको उहाँले बताउनुभयो । यो व्यवस्था चलाउने काम भएमा एमालेले त्यसको प्रतिवाद गर्ने उहाँको भनाइ छ । देशको परिस्थिति विग्रदैगएकाले त्यसलाई सुधार गर्न एमाले सडकमा आउने उहाँले बताउनुभयो ।
देशको अवस्था सुधारका लागि सरकारलाई पटक पटक सुझाव दिए पनि त्यसको सुनुवाई नभएको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले सरकारलाई अब दवावको खाँचो भएको महशुस भएको बताउनुभयो । भएको बेतिथी, कुशासनलाई चुपचाप हेरेर बस्न नसकिने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “सरकारले सप्रिने खालको कुनै लक्षण देखाएन, सरकार तत्काल सच्चिनुपर्छ ।”
समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्पसाथ अभियानमा एमाले रहेकाले डराउनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । “लोकतान्त्तिक व्यवस्थामाथि कसैले औलो ठड्याउने काम नगरोस्, त्यस्तो औलोलाई तल झार्ने काम एमालेले गर्छ” उहाँले भन्नुभयो । देशको समृद्धि र जनताको पक्षमा एमाले सदैव क्रियाशील रहेको उहाँले चर्चा गर्नुभयो ।