निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ ।
नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको टोली रुकुमपश्चिमका भूकम्प प्रभावित स्थानको वडा–वडामा विभाजित भएर भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माणको काममा परिचालन भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणका लागि जाजरकोट पुग्नुभएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भूकम्प पीडितलाई तत्काल पहिलो चरणको राहत प्याकेज उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभाबी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताउनुभयो ।
गत कात्तिक १७ गते गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेको परिवारको घर निर्माण कार्यमा युवा सङ्घ स्याङ्जाको टोली रुकुमपश्चिममा सक्रिय रहेको छ ।
नेकपा (एमाले) ले बाँकेमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम सञ्चालन गर्नुभएको छ । पार्टी कार्यकर्ता र आम जनतासँग निर्वाचनको समयमा गरिएको प्रतिबद्धता कार्यान्वयन भए नभएको विषयमा आम जनतासँग साक्षात्कारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले जानकारी दिनुभयो ।
नवलपुरका थारु समुदायले कला र संस्कृतिको जगेर्ना गर्न लागि परेका छन् ।
काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूको प्रदर्शन जारी राखेका छन् । बल्खुस्थित जारी प्रदर्शनमा प्रदर्शनकारीले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नारा लगाएका छन् ।
सर्लाहीमा यो वर्ष धान उत्पादनमा कमी आएको छ । आकासे वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो । मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार धान उत्पादन राम्रो नहुँदा जिल्लाका किसान चिन्तित छन् ।
झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमानले बुधवार राति श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
काठमाडौँको तीनकुनेमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा सङ्घका नेता कार्यकर्ताको उपस्थिति रहेको छ भने अहिले प्रदर्शन जारी छ ।
गोरखाको प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो ।
सांसद हर्कमाया विश्वकर्माले अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ । जातीय विभेदका घटना पटक पटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उहाँको भनाइ छ ।
सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार समुदायले बिहीबार बर्की एकादशी पर्व धूमधामसँग मनाएका छन् ।