गोविन्द शर्मा
बाँके, मङ्सिर ७ गते । नेकपा (एमाले) ले बाँकेमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम सञ्चालन गर्नुभएको छ । पार्टी कार्यकर्ता र आम जनतासँग निर्वाचनको समयमा गरिएको प्रतिबद्धता कार्यान्वयन भए नभएको विषयमा आम जनतासँग साक्षात्कारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले जानकारी दिनुभयो ।
एमालेले लुम्बिनी प्रदेशसभा ३ (१) मा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले निर्वाचनका समयमा धेरै प्रतिबद्धता गरिएको अवस्थामा अब जनतासँग परीक्षणका लागि पनि जन निर्वाचित प्रतिनिधिले साक्षात्कार गर्न आवश्यक भएको बताउनुभयो ।
खत्रीले भन्नुभयो, ‘जनताका गुनासा सुन्नका लागि निरन्तर जनतामाझ जान जरुरी छ ।’ खत्रीले प्रदेश सरकारले बजेट तयार गर्ने सन्दर्भमा पनि जनतासँग अन्तरक्रिया गरिएको बताउँदै बजेट कार्यान्वयनको समयमा पनि जनतामाझ जान आवश्यक ठानेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारबाट विनियोजन भएका अधिकांश आयोजनाको काम कार्यान्वयनमा गइसकेको जानकारी दिनुभयो । संविधानसभा सदस्य समेत रहनुभएका एमालेका केन्द्रीय सल्लाहकार दलबहादुर सुनारले जनप्रतिनिधि र आम जनताबिच जति बढी अन्तरक्रिया र साक्षात्कार हुन्छ सोहीअनुसार कामले गति लिने बताउनुभयो ।
जनताको सुखदुःखमा सँगै रहने प्रतिविद्धतासहित एमालेले जनतासँग प्रदेश सभा सदस्य कार्यक्रम सञ्चालन गर्न लागेको हो । मङ्सिर १० गतेदेखि सुरु हुने कार्यक्रमका लागि केन्द्रीय, प्रदेश र जिल्ला तथा पालिका नेतृत्वलाई वडा स्तरीय भेला संयोजनको जिम्मेवारी दिइएको छ ।