बासुदेव शर्मा
जाजरकोट, मङ्सिर ७ गते । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणका लागि जाजरकोट पुग्नुभएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भूकम्प पीडितलाई तत्काल पहिलो चरणको राहत प्याकेज उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
जाजरकोटको भूकम्पपीडितले खेप्नु परेको दुःखलाई मध्यनजर गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार भूकम्पबाट जनता घरबारविहीन भएपछि अस्थायी बास निर्माणका लागि नलगाड नगरपालिका –४ र ५ का जनताको अस्थायी टहरा निर्माणको नेतृत्व लिएर यहाँ आउनुभएका नेता पौडेलले विनाशकारी भूकम्पबाट जनताले पाएको दुःख प्रत्यक्ष रूपमा देखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारलाई उहाँले आग्रह गर्दै भन्नुभयो, ‘अस्थायी आवासका लागि सरकारले दिने भनिएको ५० हजार रुपियाँ तत्काल उपलब्ध गराउनु होला ।’
भूकम्प प्रभावित क्षेत्रका जनताको अवस्था नाजुक छ । अधिकांश घर भत्किएर क्षतिग्रस्त छन् । चिसो बढ्दै गएपछि दीर्घरोगी सुत्केरी बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था जटिल बन्दैगएको परिवारले न्यानो लत्ताकपडा नपाएको उहाँले बताउनुभयो ।
जनतालाई चिसोबाट जोगाउन अस्थायी टहरा निर्माण गरी सुरक्षित गर्ने सरकारको दायित्व भएको उहाँको भनाइ छ । मङ्सिर–पुसको चिसोमा जनताको जीवन रक्षा गर्न अस्थायी टहरा निर्माणका लागि घोषणा गरेको ५० हजार रुपियाँ तत्काल उपलब्ध गराउन नेता पौडेलले आग्रह गर्नुभयो ।
‘जनाता खुला जमिन, त्रिपालमुनि बस्न बाध्य भएको तीन हप्ता भयो, सहयोग ढिला भइसकेको छ । अर्कोतिर अझ दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान जनताभन्दा सत्ता लिप्सामा केन्द्रित भएको देखिन्छ’ उहाँले भन्नुभयो ।
जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई नेता पौडेलले आग्रह गर्नुभयो । नलगाड नगरपालिका –५ रघुनाथटोल र ऐरारीटोलमा एकसय अस्थायी आवास निर्माण गरिएको बताउनुभयो ।