• १३ मंसिर २०८१, बिहिबार

युवा सङ्घको टोली वडा–वडामा निर्माणको काम गर्दै

blog

आठविसकोट नगरपालिका–९ मा भत्किएका भवनको सामग्रीहरू व्यवस्थापन गदै राष्ट्रिय युवा सङ्घ बाँकेको टोली । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ७ गते । नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको टोली रुकुमपश्चिमका भूकम्प प्रभावित स्थानको वडा–वडामा विभाजित भएर भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माणको काममा परिचालन भएको छ । 

यसै क्रममा गण्डकी र लुम्बिनी प्रदेशबाट जिल्लामा आएको टोली वडा वडामा विभाजन भएर उद्धार, अस्थायी आवास निर्माणको काममा लागेको हो । राष्ट्रिय युवा सङ्घका जिल्ला अध्यक्ष नवराज मल्लका अनुसार नवलपरासी जिल्लाबाट आएको टोली आठविसकोट नगरपालिका –१४ मा केन्द्रित भएको छ भने पाल्पाबाट आएको टोली वडा –१३ मा परिचालन भएको छ ।


त्यसैगरी वडा–११ मा कपिलवस्तुबाट आएको टोली खटिएको छ भने बाँकेको टोलीले वडा –९ मा काम सुरु गरेको छ । सो टोलीले बुधबार बाल कल्याण माध्यमिक विद्यालयमा स्वयम् सेवा गरेको थियो ।

जिल्ला अध्यक्ष मल्लका अनुसार सो टोलीले भत्किएका भवनको काठ, ढुङ्गा र जस्तापाता व्यवस्थापन गरेर अस्थायी आवास निर्माणमा लागेको छ । बर्दियाबाट पनि राष्ट्रिय युवा सङ्घको एक टोली भूकम्प प्रभावित क्षेत्रमा आउँदै गरेको बताइएको छ । प्युठानबाट आएको टोली सानीभेरी गाउँपालिकाको वडा नम्बर ११ मा परिचालन भएको छ । 


त्यसैगरी गण्डकी प्रदेशबाट आएको प्रदेश कमिटी अध्यक्ष पानबहादुर क्षेत्रीको नेतृत्वमा आएको टोली चौरजहारी नगरपालिका १० र ११ मा केन्द्रित भएको छ । सो टोलीले वडा १० मा ६ वटा अस्थायी आवास निर्माण गरेर भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण समेत गरिसकेको छ ।