• ४ जेठ २०८१, शुक्रबार

धान उत्पादन घट्यो

blog

धान स्याहार्दै गरेका किसान । तस्विर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर ६ गते । सर्लाहीमा यो वर्ष धान उत्पादनमा कमी आएको छ । आकासे वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो । मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार धान उत्पादन राम्रो नहुँदा जिल्लाका किसान चिन्तित छन् । 

चन्द्रनगर गाउँपालिका–३, गेरुका टोलका किसान विनोद साहले छ कठ्ठामा लगाएको धान बालीमा सिँचाइका लागि मात्रै १० हजार रुपियाँ खर्च भएको गुनासो गर्नुभयो । “यो वर्ष आकासे वर्षाले साथ नदिँदा धान राम्रो फलेन,” खेतमा धान काट्दै गरेका साहले भन्नुभयो, “छ कठ्ठामा १० हजारको त पानी मात्रै पटाएँ तर १० हजारको धान फलेको छैन ।”

आवश्यकता अनुसार आकासे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी पटाएका छन् । दमकलबाट सिँचाई गर्दा प्रतिघण्टा तीन सय रुपियाँ तिर्नुपर्छ । 

एक कठ्ठामा पानी पटाउन कम्तीमा पनि दुई घण्टासम्म दमकल चलाउनुपर्छ । धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको किसानले बताएका छन् । 

पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको गेरुका टोलका किसान साहले गुनासो गर्नुभयो । “जे जति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो,” साहले गुनासो पोख्दै भन्नुभयो, “सरकारले बेलैमा मलखाद र सिँचाइको प्रबन्ध गरिदिए किसानलाई राहत मिल्थ्यो ।” 

प्रमुख चाडपर्व सकिएसँगै सर्लाहीका किसान अहिले धान भित्र्याउन व्यस्त छन् । प्रत्येक फाँटका किसानलाई धान काट्ने, बोझा बाँध्ने र थ्रेसर लगाउने चटारो परेको हो । लालबन्दी नगरपालिका–३, जब्दीका किसान रुपलाल चौधरीले यो वर्ष कम वर्षा र रोग, कीराको प्रकोपले धान उत्पादन घटेको गुनासो गर्नुभयो । “पोहोर साल धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यही धान रोप्यौँ तर राम्रो फलेन,” चौधरीले भन्नुहुन्छ, “यो वर्ष मेहनत र लगानी अनुसार धान उत्पादन हुन सकेन ।”  

कृषि ज्ञान केन्द्र सर्लाहीले गएको वर्ष भन्दा धान खेती केही बढेपनि उत्पादन भने घटेको जनाएको छ । ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले सिँचाई सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भएपनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताउनुभयो । 

“पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाइ सुविधा नभएको ठाउँमा धानको उत्पादन घट्यो,” रायले भन्नुभयो,“ केही क्षेत्रमा रोग, कीराको प्रकोप पनि देखिएको छ । कार्यालयको तथ्याङ्क अनुसार सर्लाहीमा ४६ हजार ५०० हेक्टर जग्गामा धान खेती हुने गरेको छ । 

जिल्लामा गत वर्ष एक लाख ६४ हजार १४५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष चारदेखि पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन धान उत्पादन गर्न पनि समस्या परेको किसानले बताएका छन् ।