यही महिनाको अन्तिममा रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र अञ्जु पन्तको स्वर रहेको छ । भिडियोमा अभिनेतृ करिश्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ ।
नेवाः कला संस्कृतिको ३३ सय वर्षभन्दा पुरानो इतिहास बोकेको वज्रयोगिनी क्षेत्र र वज्रयोगिनीबारे निर्माण गरिएको वृत्तचित्र ‘द योगिनी’ को प्रोमो र पोस्टर अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सिड्नीको क्याम्प्सी सहरको कम्युनिटी हलमा गुथि अस्ट्रेलियाका अध्यक्ष उमेश नापितले पोस्टर अनावरण गर्नुभएको गुथि अस्ट्रेलियाले जनाएको छ । कार्यक्रममा गुठीका भाषा संस्कृति अध्ययन समितिका संयोजक श्याम सैँजूले गौरवमय परम्परा रहेको वज्रयोगिनी क्षेत्र र वज्रयोगिनीबारे बनाइएको वृत्तचित्र नेपालको इतिहास अध्ययन गर्नेका निम्ति महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको गुथि अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अघिल्लो साता सामान्य सुधारिएर बन्द भएको सेयर बजार यो साताको पहिलो दिन उच्च अङ्कले सुधारिएको छ । ६२ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे छ अर्ब पुगेको छ । आइतबार सेयर बजारमापक नेप्से परिसूचक ६२.२१ अङ्कले उकालो लागेर दुई हजार ११७.७३ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ९.६४ अङ्कले उकालो लागेर ३९५.६४ को बिन्दुमा पुगेर रोकिएको छ ।
नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब १५ करोड रुपियाँको बजेट सातौँ नगर सभाबाट पारित गरेको छ । सङ्घ र प्रदेश सरकारको विभिन्न शीर्षकको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानेर नगरपालिकाले आगामी आवका लागि उक्त बजेट नगर सभामा प्रस्तुत गरी पारित गरेको हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले आगामी आवका लागि चालु आवको असार १० गतेभित्र बजेट सभामा पेस गरी असार मसान्तभित्र पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । सङ्घीय संसद्को अधिवेशन चालु नरहेको अवस्थामा गत वैशाख २० गते सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन तथा अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याइएको हो ।
पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ। आज १३ औं नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो।
सुनकोशी नदीमा पौडी खेल्न गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका –४ का झरिमान राईका १६ वर्षीय छोरा नयन्द्र राई नदीमा डुबेर बेपत्ता भएका हुन् ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगर प्रमुख धनराज आचार्यले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लेकसाइडलाई २४ घण्टा खुला गर्न पहल गर्ने बताउनुभयो।
बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०–८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको १३ औं नगरसभाको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
धनुषाको विदेह नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०–८१ का लागि ७० करोड पाँच लाख तीन हजार पाँच सय एक रुपियाँको आयव्ययसहितको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुराएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण
गुल्मीमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका –२ च्यानडाँडा निवासी ४१ बर्षीय लिलबहादुर घर्ती र उहाँकी ८ बर्षीया छोरी बिन्दु घर्तीको गए राति खहरे खोलाले बगाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड रुपियाँको बजेट ल्याएको छ । उपमहानगरले गतवर्षको तुलनामा बजेटको आकार घटाएर आउँदो आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपियाँको बजेट ल्याएको हो ।
इलाम जिल्लाका १० वटै स्थानीय पालिकाले आइतबार आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट सार्वजनिक गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताउनुभएको छ।