• १२ असार २०८१, बुधबार

धानको राम्रो मूल्य पाएपछि किसान खुसी

blog

दमक समाचारदाता

दमक, पुस ३ गते । झापामा विगतका वर्षको तुलनामा यस वर्ष धानको भाउ आकासिएपछि किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य वृद्धि भएपछि किसान खुसी भएका हुन् ।

अघिल्लो वर्ष यो समयमा धानको मूल्य एक हजारदेखि अधिकतम एक हजार दुई सय रुपियाँ प्रतिमन रहेकामा अहिले एक हजार पाँच सयदेखि एक हजार छ सय रुपियाँसम्म किसानले पाएका छन् । न्यूनतम समर्थन मूल्यमा समेत धान बिक्री नहुँदा लागत मूल्य उठाउन समस्या हुने गरेकामा यस वर्ष धानको मूल्य राम्रो पाएको कमल गाउँपालिकाका किसान मदन आचार्यले बताउनुभयो ।

दमक–१० का किसान केदार मिश्रका अनुसार दिनप्रतिदिन धानको मूल्य बढ्दो अवस्थामा रहेको छ । “एक हजार छ सय रुपियाँ प्रतिमन बिक्री हुन थालेको छ । यसरी धानको मूल्य पाउने हो भने खेती गर्न पनि जाँगर चल्छ,” उहाँको भनाइ छ । अघिल्लो वर्ष मुस्किलले एक हजार रुपियाँ प्रतिमन धान बिकेको उहाँको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. मुख्य शाखा, बिर्तामोडले तोकेभन्दा बढी मूल्य किसानले बाहिर सहज रूपमा पाएका छन् । गत सोमबारदेखि कम्पनीले सोना मन्सुली धान तथा रञ्जित मन्सुली धान प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँमा किन्दै आएको छ । यसका लागि किसानले धान त्यहीँ पुर्‍याउनु पर्छ ।

धान घुन, किरा नलागेको, एकहन, राम्ररी सुकेको तथा अन्य बाह्य पदार्थ तथा अन्य धान नमिसिएको हुनुपर्ने, धान बिक्री गर्ने किसानले अनिवार्य रूपमा नागरिकताको प्रतिलिपि तथा स्वघोषणापत्र ल्याउनुपर्ने जस्ता प्रावधानले गर्दा किसानले कम्पनीमा लगेर ध्यान बिक्री गर्न समस्या हुने गरेको बताएका छन् ।

धान बिक्री गर्ने किसानले सम्बन्धित वडा कार्यालय, गाउँपालिका वा नगरपालिकाबाट जारी गरिएको कृषक प्रमाणीकरणको सिफारिस अनिवार्य ल्याउनुपर्ने व्यवस्थाले गर्दा पनि किसान यसप्रति आकर्षित छैनन् । त्योभन्दा बढी मूल्यमा घरआँगनबाट नै किसानले धान बिक्री गर्न पाएका छन् ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । जस अनुसार मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ मूल्य निर्धारण भएको छ । यसभन्दा अघिल्ला वर्षहरूमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पनि किसानले पाएका थिएनन् ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार चार लाख ३६ हजार ४६७ मेट्रिक टन धान उत्पादन भएको छ । ढिला गरी वर्षा भएका कारण धान खेतीको क्षेत्रफल केही घटे पनि उत्पादन भने बढेको हो । अघिल्लो वर्षभन्दा यस वर्ष आठ हजार ५९२ मेट्रिक टन धेरै धान फलेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार खेती किसानीमा भएको आधुनिक प्रविधिको प्रयोग, माटोमा सुधारका प्रयासलगायतका कार्यले गर्दा धान उत्पादकत्व बढ्दै गएको छ । लागत मूल्य कम हुने र मूल्य पनि राम्रो पाउँदा किसान दुई बाली लगाउन उत्साहित बन्न थालेका छन् ।