• १५ असार २०८२, आइतबार

कैलालीमा आधा पनि रोपाइँ भएन

blog

वर्षा भएपछि धनगढीमा रोपाइँ गर्दै स्थानीय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार १५ गते । मध्य असारसम्म कैलालीमा यसवर्ष आधा पनि रोपाइँ भएको छैन । 

बेलैमा पानी नपर्दा अहिलेसम्म कम रोपाइँ भएको हो । यसवर्ष हालसम्म ४० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र कैलालीले जानकारी दिएको छ । 

सो कार्यालयका प्रमुख टेकबहादुर विष्टका अनुसार असार पहिलो र दोस्रो सातातिर मनसुन राम्रोसँग सक्रिय नभएका कारण कम रोपाइँ भएको छ । उहाँले जिल्लाको पश्चिमी क्षेत्रमा अझै धेरै रोपाइँ गर्न बाँकी रहेको बताउनुभयो । पूर्वी क्षेत्रमा पहिल्यै पानी परेकाले त्यतातिर अलि बढी रोपाइँ भएको विष्टले जनाउनुभयो । 

यो जिल्लामा ७१ हजार हेक्टर जमिनमा धान खेती गरिने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । यसैबिच, आइतबार मोहन्याल गाउँपालिकाको फलेबिसौनामा राष्ट्रिय धान एवम् रोपाइँ दिवस मनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको प्रमुख आतिथ्यतामा कृषि ज्ञान केन्द्रले रोपाइँ दिवस मनाएको हो।