• ११ मंसिर २०८१, मङ्गलबार

लगानी सम्मेलनको प्रतीक्षा

blog

सिद्धान्ततः लगानी नाफा प्रेरित हुन्छ । नाफा लगानीको वातावरणमा निर्भर गर्छ । लगानीको वातावरण राज्यको शासकीय शैली र क्रियाकलापसँग जोडिएको हुन्छ । लगानी प्रभावकारी बनाउनका लागि स्रोत र साधन आवश्यक पर्छ । मानिस, रुपियाँ, कच्चा पदार्थ, विधि, मेसिन र व्यवस्थापनलाई उत्पादनका साधनका रूपमा लिइन्छ । प्रायः सबै साधन आर्थिक उपार्जनका लागि उत्तिकै महत्वपूर्ण भए पनि आर्थिक उपार्जनका लागि वित्तीय स्रोतलाई महìवपूर्ण साधनका रूपमा हेरिन्छ । आर्थिक प्रतिफलका लागि लगानी राज्य र निजी क्षेत्रले जुटाउनुपर्ने हुन्छ । राज्यभित्रबाट वा विदेशी लगानी आकर्षित गरी आर्थिक उपार्जनका लागि स्रोत जुटाउन प्रयत्न गरिएका हुन्छन् । विदेशी लगानीसित प्रविधिको पनि प्रवेश भई उन्नत उत्पादनका लागि अवसरहरू प्राप्त हुने गर्दछ ।

लगानीको प्रभावकारिताका लागि देशको अवस्था र लगानी प्रभावित बनाउने साधनहरूको सक्रियतामा भर पर्छ । विदेशी लगानीका लागि नीतिगत व्यवस्थासहित जिम्मेवारी तोकिएका संयन्त्रको क्रियाकलापको महत्वपूर्ण भूमिका हुन्छ । संस्थागत संरचना र नीतिगत प्रभावकारितामा लगानी र प्रतिफलका विषयमा भने विभिन्न विश्लेषण गरिएका हुन्छन् । विदेशी लगानी आकर्षित गर्न नीतिगत व्यवस्थासहित लगानी बोर्ड र उद्योग विभागमा एकद्वार प्रणालीको व्यवस्था गरिएको छ । नेपालले लगानी आकर्षित गर्न प्रयत्न नगरेको पनि होइन तर परिणाम भने आशा लाग्दा हुन सकेन । लगानीलाई प्रभावकारी बनाउन तेस्रो वैदेशिक लगानी सम्मेलनको घोषणा गरी तयारीमा जुटेको अवस्थामा उक्त सम्मेलनको विषयमा विवेचना गर्न खोजिएको छ । 

विगतका लगानी सम्मेलन 

नेपालले सन् २०१७ को मार्च महिनामा पहिलो लगानी सम्मेलन गरी नेपालमा लगानीका सम्भावना र अवसरको विश्व समुदायमा प्रस्तुत गरेको थियो । उक्त सम्मेलनमा २५० संस्थागत र २४ देशको प्रत्यक्ष सहभागिता थियो । सम्मेलनमा मित्र राष्ट्र भारतका वित्तमन्त्री अरुण जेट्लीले नेपालमा लगानीका सम्भावनाका बारेमा सम्बोधन गर्नुभएको थियो । नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक बहुपहिचान, पर्यटन र जलस्रोतको उपयोग जस्ता सम्भाव्य क्षेत्रमा लगानी आकर्षित गर्ने विषयमा छलफल भएको थियो । 

दिगो विकास लक्ष्यका लागि हरित लगानी र शून्य कार्बन उत्सर्जनका विषय पनि उठान भएको थियो । नेपालले नयाँ संविधान जारी गरी विभिन्न क्षेत्रका कानुनहरू बनाउने चरणमा रहेकाले नीतिगत सुधार गरी लगानी आकर्षित गर्न सम्मेलनले जोड दिएको थियो । सन् २०१९ मार्चमा दोस्रो लगानी सम्मेलन भएको थियो । लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय लगानीकर्ता, नीति निर्माता, विकास सामmेदार, विज्ञ, कूटनीतिक नियोगका साथै गैरआवासीय नेपालीसमेतको सहभागिता थियो । नेपालको निजी क्षेत्रको समेत लगानी सम्मेलनमा सक्रियता थियो । लगानी सम्मेलनको नारा लगानीको गन्तव्यको प्रवर्धन गर्ने रहेको थियो । 

सम्मेलनबाट नेपालमा लगानीका लागि १३ दशमलब १४ बिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता आएको थियो । लगानीको उत्साहका लागि एकद्वार सूचना केन्द्र राखिएको थियो । नेपाल सन् २०२६ मा विकासशील देशको श्रेणीमा स्तर उन्नति हुँदै छ । स्तर उन्नतिपछिका दिनहरूको उज्ज्वल भविष्यका लागि नेपालले आर्थिक विकाससँगै धेरै क्षेत्रमा सुधार गर्नुपर्ने दायित्व रहेको छ । निजी क्षेत्रले लगानी प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सम्पर्क र साझेदारीको अर्थपूर्ण सम्बन्धको आवश्यकता देखिन्छ ।

तेस्रो लगानी सम्मेलन 

नेपालको आर्थिक क्रियाकलाप बढाउन लगानी सम्मेलनको आवश्यकता छ नै । लगानी सम्मेलनको प्रभावकारी परिणामका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको अध्यक्षतामा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति सचिवको अध्यक्षतामा प्राविधिक समिति गठन गरी सरोकार निकाय र क्षेत्रलाई समेटिएको छ । वैशाखमा आयोजना हुने सम्मेलनअघि सम्बद्ध देशको क्रेडिट स्तर जानकारी गराउने सूचनाका लागि सार्वभौम साख मूल्याकङ्न ‘कन्ट्री रेटिङ’ गर्ने तयारी पनि रहेको छ । 

‘क्रेडिट रेटिङ’ बाट लगानी गर्ने वातावरण बनाउन अन्तर्राष्ट्रिय वित्तीय स्रोत ल्याउने विषय, वित्तीय जोखिमको अवस्था, लगानीपछि प्राप्त हुने प्रतिफल र प्रतिफल सहज रूपमा लैजाने व्यवस्थालगायतका विषयमा जानकारी गराइन्छ । नेपालको अहिलेसम्म ‘क्रेडिट रेटिङ’ नहुनु्मा खराब नतिजा आउँछ कि भन्ने डर पनि रहेको देखिन्छ । त्यसै गरी सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधियेक संसद्बाट पारित गरी आर्थिक सुधार गर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायमा दिन खोजिएको छ । नेपालको सोह्रौँ योजनाका खाका तयार हुँदै छ । योजनाले नेपालको कुल गार्हस्थ उत्पादन ८० खर्ब पुर्‍याउने दूरदृष्टिको सफलताका लागि वैदेशिक लगानीको स्रोत जुटाउन पनि सम्मेलन महत्वपूर्ण छ । 

वैदेशिक लगानीमा अवरोध

विश्वको ठुलो अर्थतन्त्र भएको देश अमेरिकाले नेपालमा वैदेशिक लगानीका लागि अनुकूल नभएको टिप्पणी गरेको थियो । राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारी प्रशासन, असहज कर प्रशासन, समन्वयको अभाव र ऐननियम कार्यान्वयनमा एकरूपता हुन नसकेका कारण नेपालको वैदेशिक लगानीको वातावरण नाजुक रहेको टिप्पणी गरिएको थियो । 

नेपालमा लगानीमैत्री वातावरण बनाउनका लागि आन्तरिक सुधार गर्न दिइएका सुझावहरूमा राज्यले चासो नदिएको गुनासो विश्व बैङ्क र अन्य अन्तर्राष्ट्रिय निकायहरूले पनि गरेका छन् । नेपाललाई युरोपियन युनियनले हवाई क्षेत्रमा जोखिम भएको देश भनेर कालोसूचीमा राखेकाले पनि आर्थिक वातावरणमा असर पारेको छ । दूरसञ्चारको क्षेत्रमा लगानी गरेको एलसेलको विवादहरू पनि वैदेशिक लगानीका लागि दुःखद अवस्थाका रूपमा लिइन्छ । 

भूमि र वनस्रोतको उपयोग गर्ने विधि लगानीमैत्री नभएको, श्रमको व्यवस्थापनमा पनि सहजता नभएको, एकद्वार प्रणालीले लगानीको उत्साह बढाउन नसकेको, अन्तर्राष्ट्रिय बहुदेशीय कम्पनीहरूको प्राथमिकतामा नपरेको र लगानीमैत्री कूटनीतिको प्रभाव कमजोर भएकाले लगानीमा उत्साह देखाएनन् । लगानीका लागि सम्भाव्य परियोजनाका तथ्यगत सूचनाहरूको प्रवाह हुन सकेन । लगानी गरिएको पुँजीको प्रतिफलको अनुपातमा लगानी प्रभावित गर्ने हुन सकेन । वित्तीय संस्थाहरूको क्षमता र लगानीका लागि स्रोत परिचालनमा समेत द्विविधाहरू देखिए । लगानी प्रभावकारी बनाउने पूर्वाधारहरूको अवस्था पनि कमजोर रहेको गुनासो रह्यो । हाम्रो सम्भाव्य लगानीको क्षेत्र र बजारको सुनिश्चितताबिचमा तालमेल भएको देखिँदैन । 

यी यावत् समस्याका कारण वैदेशिक लगानीको वातावरण सङ्लो नभएको गुनासो छ । तेस्रो लगानी सम्मेलनअघि विगतका सम्मेलनका उपलब्धि र कमीकमजोरीको अर्थपूर्ण मूल्याङ्कनको आवश्यकता देखिन्छ । लगानीलाई त्यसको प्रतिफल र प्रतिष्ठासँग जोड्नु पर्छ । लगानीकर्तालाई लगानी गर्न प्रेरित गर्न खोजिए पनि लगानीको आकर्षण र उत्साह भने हुन सकेको छैन । लगानी सम्मेलन गरी लगानी आकर्षित गर्नु राज्यको दायित्व हो । लगानीको वातावरणका लागि ‘कन्ट्री रेटिङ’ को सूचना उपयुक्त नै हो । 

देशको लगानीको अवस्थाको जानकारी सरोकार पक्षलाई गराउनु पर्दछ । लगानी सम्मेलनअघि विगत सम्मेलनका कमीकमजोरी र उपलब्धिका विषयमा घनीभूत छलफल गरी लगानीका अवरोध हटाई आगामी कार्यदिशा तय गर्न तहगत सरकार, निजी क्षेत्र, हाम्रा नियोगहरूको क्रियाशीलताको खाँचो रहेको छ । छिमेकी मुलुकहरूको बढ्दो आर्थिक गतिविधिलाई नेपालको सम्भावनासँग जोड्न नवीनतम् सोच र दृष्टिकोणको आवश्यकता छ । 

आन्तरिक बजार र छिमेकी मित्रराष्ट्रको बजारलाई केन्द्रबिन्दुमा राखी लागत लाभका आधारमा लगानीको प्रभावकारिता बढाएमा सफलता प्राप्त गर्न सकिन्छ । सम्मेलनको विषय सूचीमा व्यापक छलफल गरी कार्यान्वयनयोग्य परियोजनाको सूचनासहित सक्रियता देखाउने, आन्तरिक सुधारको फेहरिस्त बनाई खुला रूपमा छलफल गरी सुधारको पृष्ठपोषण लिने, समयतालिकामै नतिजाको अनुभूति हुने गरी लगानीको उत्साह बढाउने, राज्यको भूमिका र निजी क्षेत्रको सक्रियता बढाउने, लगानीका लागि आवश्यक स्रोत भूमि, वन जस्ता उपयोगमा हुने अवरोधको सहजता ल्याउने, लगानी नीति र कार्यप्रक्रियामा सुधार गर्ने, लगानीमैत्री पूर्वाधारमा राज्यको लगानी अर्थपूर्ण बनाउने, सम्भाव्य परियोजनाको डिजिटल सूचनाको सूची प्रस्तुत गर्ने काम, अन्तर्राष्ट्रिय समुदायको सुझाव र अवधारणाको अक्षरशः पालना गर्ने, कूटनीतिक नियोगहरूले लगानीका परियोजनाहरूको सूचना प्रवाह गरी लगानीकर्ता आकर्षित गर्ने, देशमा रहेका विदेशी नियोगहरूसँग लगानीका लागि सम्पर्क र सम्बन्ध निरन्तर बढाउने, बौद्धिक सम्पत्तिको संरक्षणमा जोड दिने र नेपालीको विदेशी संस्थागत सञ्जाललाई लगानीको उत्साह बढाउन उपयोग गर्ने काममा सम्मेलनले दिशानिर्देश गर्न सक्नु पर्छ । 

निष्कर्ष 

लगानीका लागि आन्तरिक सुधार गर्न दिइएका सुझावहरूको सुधार गरी अन्तर्राष्ट्रिय समुदायको गुनासोको सम्बोधन गर्न सके सम्मेलनको उपादेयता बढ्ने छ । देशको सार्वभौम मूल्याङ्कन नतिजा र गर्नुपर्ने सुधारबिचमा अन्तर हटाई नेपालको प्रचूर सम्भावना भएका क्षेत्रमा लगानी आकर्षित गर्न सामूहिक प्रयत्नको खाँचो छ । देशको आर्थिक सबलीकरण गर्न खुला अर्थतन्त्रको पक्ष रहेको सन्देश विश्वमा फैलाउनुपर्ने देखिन्छ । लगानीमैत्री कार्यशैलीको बढोत्तरी गरी लगानी नीति र व्यवहारमा सुधारसहित छिमेकी देशको बढ्दो आर्थिक गतिविधिसँग नेपालको लगानी जोड्न लगानी सम्मेलनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।  

Author

भरत गौतम