• १३ असार २०८१, बिहिबार

तुलाधर एन्फा सिइओमा नियुक्त

blog

काठमाडौँ, पुस ३ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार निवर्तमान महासचिव इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ । प्रवीणकुमार यादवलाई सहायक कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

यसै गरी एन्फा बैठकका निर्णय अनुसार विशेष साधारण सभा माघ ८ गते र नियमित साधारण सभा फागुन १४ गते काठमाडौँमा हुने भएको छ । एन्फाले विश्वकप छनोटलगायत विभिन्न अन्तर्राष्ट्रिय  प्रतियोगिता आयोजना गर्दा निःशुल्क पास वितरणमा पूर्ण बन्देज लगाउने भएको छ । ती प्रतियोगिताबाट गेट टिकट बिक्री वितरणमार्फत उठेको रकमको २० प्रतिशत उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीलाई प्रदान गरिने छ । 

एन्फाले सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी फागुन १५ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यसै गरी नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आयोजना गर्ने विभिन्न उमेर समूहको महिला तथा पुरुष प्रतियोगितामा भाग लिने तथा साफ यु–१९ महिला, यु–१६ महिला र महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न दाबी पेस गर्ने पनि भएको छ । 

एन्फाले ब्लड क्यान्सरबाट पीडित एन्फा प्रशिक्षक प्रकाश अर्याललाई तीन लाख रुपियाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।