संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन हुनुभएको छ । जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्षसमेत रहनुभएका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरुको स्थानीय नगरप्रमुखदेखि केन्द्रीय प्रतिनिधि अर्थात राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर चयन गर्ने निर्वाचन प्रक्रियामा भाग लिने छन् ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभएको छ ।
ललितपुर बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाही हुने भएको छ ।
११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार काठमाडौँको वसन्तुपुरमा कार्यक्रम गरी टोपी दिवस मनाइएको हो ।
म्याग्दीको मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेको छ ।
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि 'घुम्न जाऔँ बन्दीपुर' अभियान सुरु गरिएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताउनुभएको छ ।
फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो ।
प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) की नेत्री सरस्वती सुब्बाले कानुन निर्माणको मुख्य थलो संसद्ले कानुनको संशोधन र नयाँ कानुन तीव्र गतिमा बनाउने अपेक्षा राखेकामा एक वर्षको अभ्यासमा एउटाबाहेक महत्वपूर्ण भए पनि अरु थुप्रै कानुन बनाउन नसकिएको प्रतिक्रिया दिनुभएको छ ।
सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको हो ।
खाडी मुलुक साउदी अरब जान भनी पाल्पाबाट काठमाडौँ पुगेका एक युवक सम्पर्कविहीन हुनुभएको छ । पूर्वखोला गाउँपालिका–१ माझकोटका २३ वर्षीय युवक विक्रम पङ्गेनी एक सातादेखि सम्पर्कविहीन हुनुभएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा निर्माण थालिएको ‘आधारभूत अस्पताल’ डेढ वर्षदेखि रोकिएको छ । अस्पताल निर्माणको काम सुरु गरिए पनि बागमती प्रदेश सरकारले अस्पताल निर्माणको कामलाई बहुवर्षीय योजनामा समावेश नगरेपछि अस्पताल निर्माणको काम डेढ वर्षदेखि रोकिएको हो ।