• २४ वैशाख २०८१, सोमबार

पालिकास्तरीय अस्पताल भवन अलपत्र

blog

अलपत्र परेको अस्पताल भवन ।

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस १६ गते । म्याग्दीको मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र परेको हो । 

गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भवनको अहिलेसम्म जम्मा दश प्रतिशत मात्र भौतिक प्रगति भएको छ । भवनको र्‍याप फाउन्डेशन तयार पारी पिल्लर उठाएर छाडिएको छ । रणहरुमा खिया लागेको देखिन्छ भने भवन परिसरमा पानी जमेर तलाउ परेको छ । भवन निर्माणको जिम्मा लिएको ठेकेदारलाई पटकपटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको पालिकाले जनाएको छ । 

सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पतालन सञ्चालन गर्ने योजना अनुसार २०७७ पुस १५ गते गाउँपालिकाको वडा नम्बर ५ स्थित हाँडेभिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो । अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्शन काठमाडौंसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा ९ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

मुख्य ठेकेदारबाट पेटी ठेक्का लिएका ठेकेदारले काम नगर्दा योजना अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, "भवन निर्माणलाई गति दिन गाउँपालिकाले पटकपटक ताकेता गर्दा पनि ठेकेदारले सुनेको छैन । मुख्य ठेकेदार र पेटी ठेकेदारकाबिच आपसी विवादका कारण भवन निर्माण अलपत्र परेको हो ।" भवनको अहिलेसम्म जम्मा दश प्रतिशत भौतिक प्रगति भएको र एक करोड दश लाख रुपियाँ भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो । 

पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दीपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । २०८१ असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थपिएको उहाँले जानकारी दिनुभयो । "दुई चार दिनभित्रमा आएर काम थाल्ने मुख्य ठेकेदार कम्पनीका सञ्चालक दीपेश लामाले पालिकामा आएर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अब पनि नआए पालिकाले आवश्यक कारबाही अगाडि बढाउँछौं," सब इन्जिनियर सापकोटाले भन्नुभयो । 

ठेकेदारले समयमा भवन निर्माणको काम अगाडि नबढाउँदा सङ्घीय सरकारबाट प्राप्त हुने बजेट प्राप्त गर्न कठिनाइ हुनुका साथै ठेकेदारलाई काममा लगाउन ठुलो सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको पालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँले भन्नुभयो, "योजनाको कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्र बजेट प्राप्त हुने हो । तर ठेकेदारले काम नगर्दा बजेट आउने कुरा पनि भएन । डेढ वर्षपछि अहिले ठेकेदार आएर काम गर्दछु भनेको छ ।"

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री भवन निर्माण हुनेछ। अस्पतालका लागि पालिकाले अर्मन स्वास्थ्यचौकी परिसरमा आठ रोपनी जग्गा व्यवस्थापन गरेको थियो ।