• २१ असार २०८२, शनिबार

बुद्धसिंह मार्ग कालोपत्रे र ढलान हुँदै

blog

बुद्धसिंह मार्गको ढलान भएको भाग । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की  

तनहुँ, असार २० गते । गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो बाटो बुद्धसिंह मार्गको  कालोपत्रको तयारी गरिएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रेका लागि निर्माण कम्पनीले तदारुकतासाथ गरेको हो ।

पृथ्वी राजमार्गको वैकल्पिक रूपमा विकास गर्न खोजिएको यस मार्ग अन्तर्गत दस किलोमिटर खण्डमा कालोपत्रको तयारी भइरहेको हो । कालोपत्र गर्नका लागि पूर्वाधार निर्माणको काम धमाधम भइरहेको र ५३ प्रतिशत काम पूरा भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 

व्यास नगरपालिका–१, कराङकाठ बसपार्कदेखि सुडेसम्मको खण्डमा ‘आक्सफाल्ट प्रविधि’ बाट सडक कालोपत्र गरिने त्यसको तदारुकताका साथ काम भइरहेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर रविन्द्र तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार बहुवर्षीय योजना भएकाले कार्य प्रगतिको आधारमा बजेट व्यवस्थापन हुँदै जाने छ । 

यस चालु आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारबाट दुई करोड ५० लाख बजेट विनियोजन भई काम भइरहेको छ । स्तरोउन्नतिको मैनाचुली–सफल जेभी काठमाडौँसँग वि.सं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । 

मूल्य अभिवृद्धि कर सहित ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको छ । सम्झौताअनुसार टेवा पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण लगायतका काक भइरहेको जेभीका साइड इन्चार्ज विजय कुवँरले जानकारी दिनुभयो । नौ मिटरमध्ये सात मिटर सडक, एक मिटर नाला र एक मिटर फुटपाथ हुने उहाँले बताउनुभयो । 

पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्न गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । सो पुल निर्माणको काम सम्पन्न पश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन, जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटर चल्ने पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिएको छैन । उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख छ ।