बनेपा समाचारदाता
बनेपा, पुस १६ गते । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा निर्माण थालिएको ‘आधारभूत अस्पताल’ डेढ वर्षदेखि रोकिएको छ ।
अस्पताल निर्माणको काम सुरु गरिए पनि बागमती प्रदेश सरकारले अस्पताल निर्माणको कामलाई बहुवर्षीय योजनामा समावेश नगरेपछि अस्पताल निर्माणको काम डेढ वर्षदेखि रोकिएको हो ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार प्रदेश सरकारले अस्पताल निर्माणको योजनालाई बहुवर्षीय योजनामा समावेश नगरेका कारण निर्माण व्यवसायीले काम रोकेका हुन् ।
उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले काम गरिरहनुभएको थियो । थप काम गर्नका लागि बजेट सुनिश्चित नभएपछि अस्पताल निर्माणको काम रोकिएको छ ।”
उहाँले बजेट अभावका कारण गत आर्थिक वर्ष र चालु आवमा काम हुन नसकेको बताउनुभयो । उहाँका अनुसार अस्पतालका लागि दुई वटा भवन निर्माण गर्नुपर्ने भए पनि हालसम्म एउटा भवनको गारो लगाउने, प्लास्टर गर्ने काम सम्पन्न भएको छ ।
निर्माणाधीन अस्पतालको काम बिचैमा रोकिएपछि प्रदेश सरकारबाट चालु आवका लागि तीन करोड रुपियाँ विनियोजन भएको बताइन्छ ।
अध्यक्ष थिङका अनुसार प्रदेश सरकारबाट चालु आवका लागि तीन करोड रुपियाँ विनियोजन भए पनि निर्माण व्यवसायीलाई हालसम्म गरेको कामबापतको करिब साढे दुई करोड रुपियाँ भुक्तानी गर्नुपर्ने छ । बाँकी रकमले निर्माण व्यवसायीलाई कसरी काम लगाउने भन्ने अन्योल रहेको गाउँपालिका अध्यक्ष थिङले बताउनुभयो ।
अस्पताल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी रामबहादुर खत्रीले अस्पताल निर्माणका लागि आवश्यक पर्ने बजेट नभएका कारण अस्पताल निर्माणको काम रोक्नुपरेको बताउनुभयो ।
उहाँले अस्पताल निर्माणका लागि रकम सुनिश्चितता नभएका कारण आर्थिक वर्ष २०७८/७९ को फागुन महिनादेखि अस्पताल निर्माणको काम रोकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजभन्दा अघि गरेको कामबापतको रकम अहिलेसम्म पाउन सकिएको छैन । हामी काम गर्न चाहन्छौँ तर काम गरेको रकम पाउने ग्यारेन्टी नभएसम्म हामीले कसरी काम गर्न सक्छौँ ?”
निर्माण व्यवसायी खत्रीले भन्नुभयो, “हामीलाई हामीले गरेको रकम पाउने ग्यारेन्टी गरिएमा छिटो काम गर्न तयार छौँ । रकम सुनिश्चित नभएसम्म काम गर्न सकिने अवस्था छैन ।”
प्रदेश सरकारले आव २०७७/७८ मा खानीखोला गाउँपालिकामा १० शøया अस्पताल बनाउने घोषणा गरेर काम सुरु गरेको थियो । दुई वर्षभित्र अस्पताल निर्माणको काम सम्पन्न गर्ने सर्तमा गाउँपालिका र निर्माण व्यवसायीबिच सम्झौता भए पनि अस्पताल निर्माण गर्ने स्थानमा विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बमोजिमको अस्पताल बन्ने स्थान नभएपछि जग्गा मिलाउनका लागि केही समय ढिलाइ भएको बताइन्छ ।
असार महिनामा अस्पताल निर्माणका लागि एक वर्षको समय थप गरिएको थियो । निर्माण व्यवसायीले भ्याटसहित १२ करोड ३१ लाख रुपियाँमा अस्पताल निर्माणको जिम्मा लिए पनि हालसम्म करिब ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।