• २८ वैशाख २०८२, आइतबार

भैरहवा सेजबाट सतहत्तर करोडको निर्यात

blog

भैरहवा समाचारदाता

भैरहवा, वैशाख २८ गते । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) बाट चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामै झन्डै ७७ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सेजमा स्थापना भएका उद्योगले उत्पादन बढाएसँगै निर्यातमा पनि उल्लेख्य प्रगति भएको हो ।

सेजबाट चालु आव २०८१/८२ को चैत मसान्तसम्म एक अर्ब ३३ करोड रुपियाँको वस्तु उत्पादन हुँदा ७६ करोड ८४ लाख रुपियाँको निर्यात भएको हो ।

भैरहवा सेजका प्रमुख इन्जिनियर सुमित डुम्रेका अनुसार आव २०८०/८१ मा ९१ करोड ६० लाख रुपियाँ बराबरको उत्पादन भएको थियो भने ६० करोड ३६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको थियो । उहाँले सेज परिसरमा हाल सञ्चालित १० वटा उद्योगको उत्पादन र निर्यात दर हेर्दा गत आवको तुलनामा राम्रो रहेको बताउनुभयो । 

५२ बिघा जग्गामा रहेको भैरहवा सेजमा ६८ वटा प्लट छन् । २०७३ सालदेखि उद्योग निर्माण भएको सेजमा २०७६ देखि शक्ति मिनरल्स प्रालिले आफ्नो उत्पादन विदेश निर्यात गर्न थालेको हो । अन्य उद्योगले त्यसपछि उत्पादन सुरु गरेका हुन् ।

भैरहवा सेजमा जयबुद्ध मेटल क्राफ्ट, पञ्चकन्या स्टिल ट्याङ्क, शक्ति मिनरल्स, भिस्टार ग्लोबल प्रालि, एस पोलिमर्स, तिरुपति मेटल क्राफ्ट, ब्रिलेन्ट लाइटिङ आरसी इन्डस्ट्री प्रालि, हिमालय ग्रेनाइट, इको नेपाल इनर्जी, हिमालय इको प्रालिलगायतका उद्योग छन् । सेजमा स्वस्तिक उद्योग, स्पट इलेक्ट्रिकलगायत नयाँ चार उद्योग निर्माणका क्रममा छन् । 

२०७६ सालमा स्थापना भएको शक्ति मिनरल्स प्रालिले चालु आवको चैत मसान्तसम्म ११ करोड रुपियाँ बराबरको वस्तु उत्पादन गरेको छ । उक्त कम्पनीले क्रसरजन्य वस्तु उत्पादन गर्छ ।

त्यस्तै पाल्पाबाट चुनढुङ्गा लिएर प्रशोधन गरेर सिमेन्ट उद्योगलाई कच्चा पदार्थका रूपमा बिक्री गर्दछ । कुखुराका दाना उद्योगको लागि क्याल्सियम बनाउन आवश्यक कच्चा पदार्थ पनि उत्पादन गर्दछ । 

सेज व्यवस्थापनका अनुसार यो उद्योगले चालु आवमा कुल उत्पादनको ४९ प्रतिशत निर्यात गरेको छ । २०७७ सालमा स्थापना भएको भिस्टार ग्लोबल प्रालिले स्टिलका भाँडा बनाउने गर्दछ । यसले चालु आवमा ७२ करोड रुपियाँ बराबरको उत्पादन गरेको छ भने उत्पादनको ८८ प्रतिशत वस्तु निर्यात गरेको छ । सेजका प्रमुख डुम्रेले निर्यात रकमको हिसाबले यो सबैभन्दा धेरै रहेको बताउनुभयो । 

सेजमा रहेको ब्रिलेन्ट लाइटिङले एलइडी लाइट उत्पादन गर्छ । यसले कुल उत्पादनको ३४ प्रतिशत निर्यात गरेको छ । सेजमा स्थापना भएका उद्योगले पछिल्लो नियम अनुसार उद्योग स्थापना भएको तीन वर्षपछि उत्पादित वस्तुको कम्तीमा ३० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ ।

तिरुपति मेटल क्राफ्टले कुल उत्पादनको १६ प्रतिशत वस्तु निर्यात गरेको छ । यो उद्योगले ब्याट्रीको लिड उत्पादन गर्छ । पञ्चकन्या स्टिल ट्याङ्कले अहिले प्राविधिक कारण देखाउँदै उत्पादन रोकेको छ तर यहाँ उत्पादन भएको स्टक समान ९२ प्रतिशत निर्यात भएको छ ।

यस्तै जयबुद्ध मेटल क्राफ्ट सेजको पुरानो उद्योग भए पनि अहिले यो बन्द छ । सेजमा स्थापना भएको आरसी इन्डस्ट्री नयाँ उद्योग हो । आरसीले पुरानो ब्याट्रीको लिड प्रशोधन गरी नयाँ लिड उत्पादन गर्छ । यसले कुल उत्पादनको १४ प्रतिशत निर्यात गरेको छ । 

सेज सुरु हुँदा भाडा प्रतिवर्गमिटर १५० रुपियाँ रहेकामा अहिले घटाएर २० रुपियाँ बनाइएको छ । उत्पादित वस्तु निर्यातमा ७५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारिएको छ भने सेजका उद्योगीले पाउने अन्य सुविधा विस्तार गरेपछि उद्योग स्थापना गर्न उद्योगीले चासो दिएका हुन् ।