• २९ वैशाख २०८२, सोमबार

पर्यटन व्यवसायमा उत्साह

blog

पोखरा महानगरले वर्ष २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । पोखरा महानगरपालिका त्यस्तो महानगरपालिका हो, जसको पहिलो एजेन्डा पर्यटन पर्दछ ।

लामो प्रतीक्षापछि निर्माण भएको पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु भएपछि पोखरेली जनतामा पोखराबाटै अन्तर्राष्ट्रिय उडान हुने आशा पलाएको छ । 

विसं २०३२ सालमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन हजार १५० रोपनी जग्गा अधिग्रहण गरिए पनि समयमा निर्माण हुन सकेन् । विमानस्थल निर्माणका लागि त्याग गरेका पोखरेलीहरू अनशनसमेत बस्न बाध्य भएका थिए । अन्ततः चीनको एक्जिम बैङ्कको ऋण सहुलियतमा विसं २०७३ सालमा सुरु भएको विमानस्थल निर्माण कार्य कोभिडका कारण रोकिएको थियो । पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने भनेपछि यसको प्रचुर मात्रामा प्रयोग गर्न पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारसमेत बन्दै गए । अन्ततः २०८० सालमा विमानस्थल निर्माण कार्य सम्पन्न भयो । २२ अर्बभन्दा बढी लगानी गरिएको सो विमानस्थल निर्माण सम्पन्न भएको लामो समयसम्म पनि अन्तर्राष्ट्रियस्तरको उडान हुन नसक्दा पोखरेलीको मन कँुडिएको थियो ।

अहिले हप्ताको दुई वटा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुँदा पोखरेलीमा आशा पलाएको छ । कुनैबेला आन्तरिक उडानमा मात्रै सीमित रहेको पोखरा विमानस्थल अब अन्तर्राष्ट्रियस्तर सरहकै सेवा, सुविधाका साथ आफ्नो कार्यलाई तीव्रता दिइरहेको छ । २०८० चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पोखरालाई  नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको थियो । अहिले अन्तर्राष्ट्रिय उडानले पोखरालाई पर्यटकीय राजधानीका रूपमा विश्व पर्यटन बजारमा चिनाउन सहज भएको छ । 

हिमाल, पहाड, ताल, झरना, नदीका कारण पोखरा आफैँमा सुन्दर सहर हो ।  प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक विविधता,  भौगोलिक बनावट, यहाँको भौतिक विकास, पर्यटकलक्षित सेवा, सुविधाले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । बिदाको समय पोखरालाई भ्रमणको गन्तव्य बनाउने पर्यटकको सङ्ख्या बढ्दो छ ।  त्यसमा पनि नेपालको छिमेकी मुलुक चीन र भारतका पर्यटक बढी हुने गर्दछन् । 

गण्डकी प्रदेशमा मात्र एक हजार अर्बभन्दा बढीको लगानी निजी क्षेत्रले पर्यटन विकासका लागि गरेको छ । जसमा तारे होटल, रेस्टुरेन्ट, क्यासिनो, ट्राभल, ट्रेकिङ, बन्जी, प्याराग्लाइडिङ, ¥याफ्टिङ जस्ता व्यवसाय पर्दछन् । विमानस्थल निर्माण आरम्भसँगै निजी क्षेत्रले पर्यटकलक्षित धेरै व्यवसाय सुरु गरेको अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठी बताउनुहुन्छ । उहाँका अनुसार तारे होटेलसहित पर्यटकीयस्तरका एक हजार दुई सयभन्दा बढी होटेल तथा १५० भन्दा बढी रेस्टुरेन्ट पोखरामा सञ्चालित छन् ।  कोभिडका कारण विमानस्थल निर्माणमा ढिलाइ, अहिले आएर आर्थिक मन्दीले पर्यटन व्यवसायी मर्कामा 

परेको उहाँले सुनाउनुभयो । विमानस्थल सञ्चालन गर्नका लागि जताततैबाट नैतिक दबाब बढ्दै गएपछि गत चैत ५ गतेबाट पोखरादेखि चीनको छेन्दुसम्मको उडान सुरु भयो । पोखरेलीहरू आफैँ गएर उडानलाई सुचारु गर्न सहयोग गरे, जसको नेतृत्व पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । 

प्रमुख आचार्यले पर्यटनका दृष्टिले पोखरेली व्यवसायीसँग सुनको थाल छ तर थालमा खाने परिकार नभएकाले निराश बढेकाले महानगरको पहलले दुईतर्फी उडान आरम्भ गरेकाले आशा जगाएको उल्लेख गर्नुभयो । उडानका साथमा महानगरले लिएको पर्यटन कूटनीति र भगिनीसम्बन्धका कारण पनि उडानलाई दिगो बनाउन र चिनियाँ पर्यटकलाई पोखरामा आकर्षित गर्न सफल भएको उहाँको दाबी छ ।  हामीहरूले चिनियाँ पर्यटकलाई नेचर, कल्चर र एड्भेन्चर दिन सक्ने भएकाले पनि उनीहरू पोखराप्रति आकर्षित भएको प्रमुख आचार्यले बताउनुभयो ।  दिगो उडानका बारेमा उहाँले भन्नुभयो, “पोखराबाट  नै चिनको ल्हासासम्म अर्को उडान सुरु भएकाले पोखरेलीहरू थप आशावादी भएका छन् । यसलाई जसरी पनि नियमितता दिनै पर्छ । यसको पहलमा हामी लागेका छौँ ।” यसबारेमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले उडानले नागरिक नागरिकबिचको सम्बन्धलाई बलियो बनाएको भन्दै विकासका सम्भावना खुलेर आउने प्रस्ट पार्नुभयो । छेन्दुबाट पचपन्न वटा अन्तर्राष्ट्रिय विमानस्थल जोडिने भएको हुँदा पोखराबाट अन्य स्थानमा जाने यात्रुका लागि पनि सुविधा हुने भएकाले पोखरा रोजाइ बन्न सक्ने चौलागाईंको भनाइ छ ।

पोखरा महानगरले वर्ष २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । पोखरा महानगरपालिका त्यस्तो महानगरपालिका हो, जसको पहिलो एजेन्डा पर्यटन पर्दछ । जहाँ जुन फोरममा पनि नागरिक नागरिकबिच पर्यटनलाई जोडिन्छ । नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठलाई लिएर चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबिचमा भएका कूटनीतिक सम्बन्धले पनि चिनियाँ पर्यटक नेपालमा आउन 

आकर्षित भएका छन् ।  भ्रमण वर्षका संयोजक एवं अग्रज पर्यटन व्यवसायी गोपी भट्टराईले राज्यको लगानीलाई सही सदुपयोग गरी मुलुकको आर्थिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्नका निम्ति पनि उडानलाई जोड दिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिनियाँ पर्यटक खर्च गर्न सक्ने र पर्यटन क्षेत्रमा बिजनेस दिने भएकाले पनि हामीलाई आशा लागेको हो ।” संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको चिनसँग पोखराको सिधै कनेक्टिभिटी भएमा दिगो रूपमा फाइदा लिन सकिने उहाँको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनिसकेपछि जुन नकारात्मक हल्ला रहेको थियो, त्यसलाई चिर्नका निम्ति यो उडान सफल भएको छ र पोखरालाई आइकाओको सूचीमा पर्न सफल भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदी बताउनुहुन्छ । 

पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले चीनमा मात्र नभई भारतका सहरमा उडान सुरु भएमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सार्थक प्रयोग हुने बताउनुहुन्छ । भिसाका लागि सहज गराउन चीनको दूतावासले पोखरामा भिसा सेन्टर राख्नुपर्ने उहाँको भनाइ छ । यसले नेपाललाई मात्र नभई चाइनालाई पनि आर्थिक एवं सामाजिक रूपमा फाइदा हुने पालिखे बताउनुहुन्छ ।

झन्डै नौ करोड जनसङ्ख्या रहेको चीनको छेन्दुसँग पोखराको सम्बन्ध जोडिएमा मात्र पनि पोखरामा पर्यटकको सङ्ख्या वृद्धि हुने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सो प्रान्तका केही प्रतिशत पर्यटक पोखरा आए मात्र पनि पोखराको पर्यटनमा सकारात्मक प्रभाव पर्दछ ।” यसबाट पोखरा आसपासको क्षेत्रमा पनि आर्थिक तथा सामाजिक विकास हुने उहाँ बताउनुहुन्छ । 

सिचुवान एयरलाइन्सको छेन्दु र हिमालयन एयरलायन्सको ल्हासा उडानले पोखरेली पर्यटन व्यवसायमा सकारात्मक सङ्केत दिन थालेको छ । हाल पर्यटकको सङ्ख्यामा वृद्धि भएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने बताउनुहुन्छ । 

  

Author

रमेश पौडेल