• २९ वैशाख २०८२, सोमबार

नेपाल–भारत सीमामा चेकजाँच कडाइ

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख २८ गते । दक्षिण एसियाका दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबिच तनाव बढेका बेला कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । 

दुई देशबिच भइरहेको द्वन्द्वलाई मध्यनजर गर्दै कुनै पनि अवाञ्छित क्रियाकलाप वा घुसपैठ हुन नदिनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । नेपाल–भारत सीमा क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । 

उहाँले नाकामा चेकजाँचमा कडाइका साथै प्रत्येक व्यक्तिको विवरण राख्ने कार्य भइरहेको उल्लेख गर्नुभयो । “नेपाल–भारत सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिनका लागि समन्वयात्मक ढङ्गले दुवै देशका अधिकारीले काम गर्ने सहमति पनि भएको छ,” जोशीले भन्नुभयो, “सीमानाका भएर आउजाउ गरिरहेका सबैको इन्ट्री गर्ने र विवरण राख्ने काम पनि भइरहेको छ ।” कैलालीमा नेपाल–भारत खुला सिमाना १०१ किलोमिटर रहेको छ । सीमा क्षेत्रमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलमातहतका १९ निकाय छन् । जसमध्ये सीमा सुरक्षा पोस्ट (बिओपी) मात्रै १४ स्थानमा स्थापना गरिएको छ । यस जिल्लामा नेपाल–भारत प्रवेशका लागि टीकापुरमा खव्रmौला, भजनीमा पृथ्वीपुर र धनगढीमा त्रिनगर गरी तीन वटा नाका रहेका छन् । यद्यपि खुला सिमाना रहेका कारण अरू ठाउँबाट पनि आउजाउ हुँदै आएको छ । 

भारत–पाक तनाव बढेपछि सीमा क्षेत्रमा व्यवस्थित तरिकाले चेकजाँच गर्न निर्देशन भएको र त्यही अनुसार चेकजाँचको काम भइरहेको सशस्त्र बल नेपाल नम्बर ३४ गण हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक जगदीश जोशीले बताउनुभयो । 

सीमा क्षेत्रमा सुरक्षाका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरेर सशस्त्र प्रहरीले संयुक्त गस्ती पनि गर्दै आएको छ । यस्तो गस्ती पहिलेदेखि नै हुँदै आएको छ । यद्यपि संयुक्त गस्तीलाई अब अझ बढावा दिइएको छ । यसै गरी दुवै देशका सुरक्षा अधिकारीबिच नियमित समन्वय पनि भइरहेको जनाइएको छ ।