• २९ वैशाख २०८२, सोमबार

फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, वैशाख २८ गते । सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले जथाभाबी फोहोर फाल्ने गरेका छन् । यहाँका १२ वटा स्थानीय पालिकाको फोहोर व्यवस्थापन गर्ने निश्चित स्थानको अभावमा सधैँ दुर्गन्ध फैलिने गरेको छ । फोहोर फाल्ने डम्पिङ साइटको अभावमा जथाभाबी फाल्दै आएका हुन् । स्थानीय तहमा चुनिएर आएका जनप्रतिनिधिले आफ्न पालिकाभरको फोहोर व्यवस्थापन र नष्ट गर्ने कार्य नगर्दा पालिकाको बजार क्षेत्रमा फोहोरको डुङ्गुर थुपार्ने गरिएको छ । केही नगरपालिका र गाउँपालिकाले बजार क्षेत्रको फोहोर उठाएर पुनः बजार क्षेत्रमै लगेर थुपार्ने गरेका छन् । 

बाह्रबिसे नगरपालिकाले बाह्रबिसे बजार क्षेत्रको फोहोर उठाएर बजार क्षेत्रसँगै रहेको महभिरमा लगेर खसाल्छ । पालिकाले महभिर क्षेत्रको सुनकोशी नदीमा फोहोर फाल्दै आएको छ । अरनिको यातायातको तल्लो भाग सुनकोशीमा उक्त नगरले फोहोर फाल्दै आएको हो । सो नगरले २०७४ सालदेखि नै बजारबाट उठाएको फोहोर सुनकोशी नदी किनारामा फ्याँक्दै आएकाले नदी प्रदूषित बन्दै गएको हो ।  

बलेफी गाउँपालिकाले खाँडीचौर, लामोसाँघु, बलेफी, कोठेलगायतका बजार क्षेत्रबाट फोहोर उठाउने गरिएको छ । सङ्कलित फोहोर निश्चित क्षेत्रमा लगेर व्यवस्थापन र नष्ट गर्नुपर्ने भए पनि सो पालिकाले खाँडीचौर बजारछेउ, बलेफीको ब्रह्मायणी नदी, सुनकोशी नदीमा हाल्ने गरेको छ । फोहोर फालिएको ठाउँबाट गन्धले जनजीवन अस्वस्थकर बन्दै गएको छ । त्यस्तै लिसङ्खुपाखर गाउँपालिका मुडेलगायतका बजारबाट सङ्कलित फोहोर मुडे बजारनजिकै फालिँदै आएको छ । मुडेको प्रहरी चौकीनजिकै फोहोर फाल्ने कार्य बर्सौंदेखि हुँदै आएको छ । यसले बजार क्षेत्रमा गन्ध फैलिएर बस्नलायक भएको छैन । मेलम्ची नगरपालिकाले पनि बजारबाट सङ्कलन गरेको फोहोरजन्य इन्द्रावती नदीमा फाल्दै आएको छ । हेलम्बु गापाले पनि उही सोही नदीमा फोहोर फाल्दै आइरहेको छ । जुगल गाउँपालिकाले ब्रह्मायणी नदीमा फोहोर फाल्दै आएको छ । सुनकोशी गाउँपालिकाले सुनकोशी नदीमा फोहोर फाल्दै आएको छ । तीन नगरपालिका, नौ गाउँपालिका रहेको जिल्लामा सबै पालिकाले नदी, नदी किनारा, खुला स्थानमा फोहोर फाल्दै आइरहेका छन् ।

जथाभाबी फोहोर फाल्दै आएपछि फोहोरको गन्धले स्थानीयको स्वास्थ्यमा असर परिरहेको छ । फोहोर जथाभाबी फालिएपछि नगरपालिका र गाउँपालिकाकै सुन्दरतामा कुरूपता बढेको छ । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले दिगो रूपमा फोहोर फाल्ने क्षेत्र निश्चित गर्न लागेको बताउनुभयो । छिट्टै नै डम्पिङ साइटका लागि कार्यपालिका बैठकबाट स्थान तोकिने जानकारी दिनुभयो । फोहोर व्यवस्थापनका साथै फोहोरबाट मोहर कमाउने कार्यसँगसँगै अघि बढाउन लागिएको उहाँको भनाइ छ । नगरपालिकाले आठ वर्षयता बजारबाट फोहोर सङ्कलन गरेर सुनकोशी नदी किनारामा फाल्दै आएको छ ।