• ८ पुस २०८२, मङ्गलबार

पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

blog

जापानका पूर्वसम्राट अकिहितो।

टोकियो, पुस ८ गते । जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्थास्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् । यसैबिच, उहाँको ९२ औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ ।

यस वर्षको सुरूमा देखिएको स्वास्थ्य चिन्तापछि उहाँको अवस्था हाल नियन्त्रणमा रहेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ । सम्राट नारुहितोका पिता अकिहितोलाई मे महिनामा मुटुको मांसपेशीमा पर्याप्त मात्रामा रगत प्रवाह नहुने समस्या देखिएको थियो । तर जुलाईदेखि नयाँ औषधी सुरु गरिएपछि उहाँको स्वास्थ्य अवस्था स्थिर रहँदै आएको एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उमेरका बाबजुद पनि उहाँ अझै सक्रिय जीवनशैलीमा रहनु भएको छ । विशेष गरी गोबी माछामाथिको वैज्ञानिक अनुसन्धानमा उहाँको रुचि कायमै रहेको छ । यस क्षेत्रमा उहाँले अहिलेसम्म १० नयाँ प्रजाति पहिचान गरिसक्नु भएको छ । एजेन्सीका अनुसार उहाँ हप्तामा दुई पटक दरबार परिसरभित्र रहेको जीवविज्ञान प्रयोगशालामा जानु हुन्छ ।

सन् २०१९ मा गद्दी त्याग गरेपछि ‘सम्राट एमेरिटस’ को उपाधि धारण गर्नु भएका अकिहितोले आफ्नो जन्मदिन परिवारसँगै मनाउने र जापानी प्रधानमन्त्री साने तकाइचीसहितका विशिष्ट पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ । जापानको युद्धकालीन इतिहासप्रति संवेदनशील दृष्टिकोण राख्नुभएका अकिहितोले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष बारम्बार युद्धका पीडित र कठिन समय भोगेका जीवित साक्षीहरूका लागि प्रार्थना गर्नु भएको थियो । 

उहाँले विगतका पीडालाई स्मरण गर्दै शान्तिको सन्देश दिनु भएको छ । पूर्वसम्राट अकिहितो र महारानी एमेरिटा मिचिकोले ८० वर्षअघिको युद्धसँग सम्बन्धित चार प्रमुख मिति ओकिनावाको युद्धको अन्त्य, हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोट तथा जापानको आत्मसमर्पणको दिनमा केहीबेर मौन धारण गर्नु भएको थियो । उहाँले आफ्ना पिता सम्राट हिरोहितोको नाममा लडिएको युद्धलाई कहिल्यै भुल्न नहुने धारणा पनि व्यक्त गर्नु भएको छ ।

अगस्ट महिनामा अकिहितो र उहाँकी पत्नी मिचिको मध्य जापानको करुइजावा रिसोर्ट पुग्नु भएको थियो । यही स्थानमा युद्धका बेला उहाँ बालक अवस्थामै अस्थायी रूपमा बसाइँ सर्नु परेको थियो र पछि यहीँ दम्पतीबिच प्रेम सम्बन्ध सुरु भएको स्मरणीय इतिहास पनि जोडिएको छ । रासस/एपी