नागेन्द्रकुमार कर्ण
महोत्तरी, पुस ८ गते । जिल्लाको मटिहानी नगरपालिकाले हरेक वर्ष पालिकामा गर्दै आएको एकीकृत घुम्ती शिविरलाई यस वर्ष पुनः निरन्तरता दिएको छ । पालिका तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्याउने उद्देश्यले मटिहानी नगरपालिकाले मङ्गलबारदेखि एकीकृत घुम्ती सेवा शिविर–२०८२ सञ्चालनमा ल्याएको हो ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले उक्त एकीकृत घुम्ती सेवा शिविरको एक कार्यक्रमबिच उद्घाटन गर्नुहुँदै पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पुर्याउने उद्देश्यले उक्त एकीकृत घुम्ती सेवा शिविरको आयोजना गरिएको बताउनु भयो । उहाँले एकिकृत घुम्ती शिविरबाट अपाङ्ग, गरिब, दलित समुदायकाहरू प्रत्यक्ष लाभान्वित हुने बताउनु हुँदै स्थानीय नागरिकहरूलाई आफ्नै गाउँ–टोलमै आवश्यक सेवा लिन आग्रह समेत गर्नु भयो।
मटिहानी नगरपालिका-१, सिरसियाबाट शुभारम्भ गरिएको यो शिविर नगरपालिकाको ९ वटै वडामा पुग्ने बताउनु हुँदै उहाँले नगरपालिकासम्म पुग्न नसक्ने स्थानीयवासीलाई एकै ठाउँबाट सम्पूर्ण सेवा लिन सकिने भएकोले सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले यस कार्यले स्थानीय पालिका र नगरवासी बिचको सम्बन्धमा सुधार हुनुका साथसाथै गुनासोहरू सुन्ने, समाधानको प्रयास समेत गरिने नगर प्रमुख मण्डलले बताउनु भयो ।
शिविरमा योजना सम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, कृषि प्रयोजनका लागि माटो परीक्षण, कृषि मिटर सिफारिस, तरकारीको मिनी किट वितरण, गोबर तथा गर्भ परीक्षण, पशुपक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायतका सम्पूर्ण सेवाहरू प्रदान गरिने नगर प्रमुख मण्डलले जानकारी दिनुभयो ।
सो एकिकृत शिविरमा स्वास्थ्य बिमा सेवा पनि उपलब्ध गराइने भएकोले सबै नगरवासीहरूलाई सेवा लिन उहाँले आग्रह गर्नु भयो । नगरपालिकामा भइरहेको सेवा प्रवाहको मूल्याङ्कन समेत एकिकृत शिविरबाट हुने भएकोले पनि बढीभन्दा बढी सङ्ख्यामा शिविरमा आउन उहाँले आग्रह गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा नगरपालिकका उपप्रमुख मञ्जुदेवी साह, वडा नं. १, ४, ५ र ६ का वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, लेखा शाखा प्रमुख विजयकुमार यादवलगायत सम्पूर्ण शाखाका प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिवहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थानीयवासीले नगरपालिकाले घरदैलौमै आएर आवश्यक पर्ने सेवाहरू उपलब्ध गराएकोमा खुसी व्यक्त गरेको छ । यसले स्थानीयवासीहरूलाई सेवा पहुँचमा वृद्धि, समय र खर्चको बचत, जनचेतनामा वृद्धि, समस्या तत्काल समाधानको अवसर समेत एउटै थलोमा मिल्ने भएकोले एकिकृत शिविरको प्रशंसा गरेको हो ।