• २९ वैशाख २०८२, सोमबार

विद्यार्थी विहीन विद्यालयमा तीन शिक्षक कार्यरत

blog

आत्मारा प्राथमिक विद्यालय ।

कोकिला भण्डारी 

धनकुटा, वैशाख २८ गते । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गए पनि  अभिभावक र शिक्षकहरू बालबालिकालाई विद्यालय भर्ना गराउन कुनै पनि सक्रियता गरेको देखिँदैन । यो हाम्रो गाउँघरका विद्यालयहरूको तितो यथार्थ बनेको छ । यस्तै उदाहरण बनेको छ धनकुटा नगरपालिका वडा नं. ६ आत्मारामा रहेको आत्मारा प्राथमिक विद्यालय । यहाँ कागजी रूपमा सात जना विद्यार्थी भए पनि विद्यालयमा भने शून्य विद्यार्थी रहेका छन् । 

विद्यालयमा तीन जना शिक्षक कार्यरत रहेका छन् तर बालबालिकालाई विद्यालयमा भर्ना गराउन भने उहाँहरूको भूमिका शून्य भएकाले विद्यालयको हालत यस्तो भएको स्थानीय माधवप्रसाद पोख्रेल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ गाउँका बालबालिकालाई विद्यालयसम्म ल्याउन शिक्षकले योजना नै बनाउनु पर्ने हुन्छ । 

विद्यार्थी नहुँदा विद्यालय क्षेत्र जङ्गल जस्तै बनेको छ । विद्यालय वरिपरि सिरु काँस फुलेर सेतै देखिएको छ भने घाँसले घेरिएको छ । बस्ती नजिकै भए पनि अभिभावक सो विद्यालयमा जानै पनि डराउँछन् । मजदुरका छोराछोरी भएकाले हम्मेसि विद्यार्थी नआउने प्रधानाध्यापक विनय राईको तर्क छ । तर विद्यार्थीको सङ्ख्या वृद्धिमा उहाँको योजना शून्य छ ।

विद्यार्थी नभए पनि पछिल्लो एक वर्षमा सो विद्यालयका प्रधानाध्यापकसहितका तीन जना कर्मचारीले ९ लाख १९ हजार ९ सय १४ रुपैयाँ खर्च भइसकेको छ । अहिले पालिकाभित्रका विद्यालयहरूको सम्पूर्ण रेखदेख, अनुगमन र शिक्षक दरबन्दी मिलानसम्मको अधिकार स्थानीय सरकारलाई छ । स्थानीय सरकार भने बेखबर जस्तै छ । विद्यालयको अनुगमन समेत नगरेपछि यस्तो किन भएको भन्ने प्रश्नमा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल अव चासो देखाउने बताउनु हुन्छ । 

उहाँले अघिल्ला बर्सहरूमा अनुगमनमा जाँदा १० देखि १२ वटा विद्यालयमा विद्यार्थी विहीन भेटिएको समेत बताउनु भयो ।

त्यसो त सदरमुकाम भित्रैका अन्य सामुदायिक विद्यालयका अवस्थामा पनि उस्तै छ । धनकुटा सदरमुकामको टेकुनाला, याक्ते प्राथमिक विद्यालय, सिंहदेवी आधारभूत विद्यालय धनपा ६, खाल्डे लगायतका प्राथमिक विद्यालयहरूमा पनि विद्यार्थी न्यून छन् । 

अन्य विद्यालय सँग मर्ज गरिदिए सहज हुने उक्त आत्मारा प्राथमिक विद्यालयका प्रधानाध्यापक विनय राइले बताउनु भयो ।

उहाँका अनुसार एक कक्षाामा ३ जना कहिलेकाहीँ मात्र आउने गरेको, कक्षा १ मा २ जना आउँदै गरेकोमा हाल छैन, कक्षा २ मा तीन जना आउँदै गरेकोमा हाल एक जना आउने कहिले नआउने, कक्षा तीनमा दुई जना कहिले काहीँ एक जना आउने गरेको भनिए पनि विद्यालयमा गएर हेर्दा विद्यार्थी विहीन देखिएको छ ।