खलङ्गा समाचारदाता
डडेलधुरा, वैशाख २८ गते । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले मसौदाका रूपमा रहेको आमसञ्चार नीतिलाई संसद्बाट छिट्टै पास गर्ने बताउनुभएको छ । डडेलधुरामा शनिबार आयोजित एफएम रेडियोमा कार्यरत पत्रकारको क्षमता विकाससम्बन्धी दुईदिने प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आफू मन्त्री हुनेबित्तिकै आमसञ्चार नीतिलाई पास गर्ने प्रक्रियामा लैजान त्यसको मसौदा अर्थ मन्त्रालयमा पठाएको बताउनुभयो । अर्थ मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएपछि सो रोकिएको अवस्थामा रहेको उहाँले बताउनुभयो ।
अबको केही दिनपछि पत्रकार महासङ्घ प्रदेश कार्यसमितिका पदाधिकारीसँग छलफल गरेर आमसञ्चार नीतिको मसौदा संसद्मा लैजाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियालाई बचाउने विधेयक छिट्टै पास गर्छौं ।” पत्रकार राज्यको चौथो अङ्ग हो, आमसञ्चार नीति पास गरेर मिडिया बचाउने बताउँदै उहाँले देशको विकासमा मिडियाको महत्वपूर्ण भूमिका छ, सबै तहका सरकारले मिडिया विधेयक निर्माण गरी मिडिया बचाउनुपर्ने कुरामा जोड दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै डडेलधुरा क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले प्रविधिको अधिक विकासले रेडियो एफएमहरू सङ्कटमा परेको बताउनुभयो । प्रविधिसँग जुधेर रेडियो सञ्चालन गर्नुपर्ने पत्रकारका अगाडि चुनौती सिर्जना भएको उहाँले बताउनुभयो । विकट गाउँमा लुकेका प्रतिभालाई बाहिर ल्याउने काम रेडियोले गरेको बताउँदै उहाँले भन्नुभयो, “मिडियालाई बचाउने गरी प्रदेश सरकारले आमसञ्चार नीति निर्माण गरोस् ।”
कार्यक्रममा सहभागी रेडियोका सञ्चालकले आमसञ्चार नीति पास गर्दै लोककल्याणकारी विज्ञापनमार्फत रेडियोलाई बचाउनुपर्ने र वृत्ति विकासका लागि जोड दिनुभएको छ । पछिल्लो समय खस्किँदै गएका रेडियोको आर्थिक व्यवस्थापन प्रदेश सरकारले गर्नुपर्नेमा महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले जोड दिनुभएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनमा भइरहेको कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका रेडियोमा कार्यरत पत्रकारको सहभागिता रहेको छ ।