• २९ वैशाख २०८२, सोमबार

जलविद्युतमा समृद्ध गण्डकी

blog

जलस्रोतका क्षेत्रमा गण्डकी प्रदेश निकै सम्पन्न भएका कारण आर्थिक विकास र समृद्धिको आधार जलस्रोतलाई मान्न सकिन्छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले जलविद्युत् विकासमैत्री वातावरण बनाएसँगै गण्डकीमा पछिल्लो एक दशकयता जलविद्युत् आयोजनामा लगानी थपिने क्रम बढ्दो छ । जसले गर्दा जलविद्युत्बाट नै समुन्नत गण्डकी प्रदेश बनाउन सकिने आधार निर्माण भएका छन् । 

गण्डकीमा सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाले जलविद्युत्को विकास, अर्थतन्त्रमा योगदान र रोजगारी सिर्जनामा टेवा पु¥याएका छन् । जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने विभिन्न कार्यक्रमले स्थानीय स्तरमा विकासको बलियो आधार बनेका उदाहरण पनि प्रशस्त छन् । 

आयोजनाले निर्माण गर्ने पहुँच मार्ग, पक्की पुल, खानेपानी, विद्यालय भवन निर्माण र विभिन्न सामाजिक कार्यका कारण जलविद्युत् आयोजनाप्रति स्थानीयको अपनत्व पनि बढेको छ । सरकारी बजेटबाट सडक निर्माण गर्न बर्सौं समय लाग्ने दुर्गम गाउँ जलविद्युत् आयोजना निर्माणका कारण सडक सञ्जालसँग जोडिँदा स्थानीयको सडक सपना पूरा भएका उदाहरण धेरै छन् । 

प्रदेशका धेरै गाउँबस्तीलाई जलविद्युत् आयोजनाले निर्माण गर्ने सडकले जोडेको छ । जलविद्युत् आयोजनाका कारण स्थानीय उत्पादनको वृद्धि, बजारीकरण, हाइड्रो पर्यटनको विकास, रोजगारी सिर्जना, स्थानीयस्तरमा बजारको विकासलगायतका कारणले बसाइँसराइ रोकिएको छ । गाउँका खोला जलविद्युत् ‘हब’ का रूपमा परिणत भएका छन् । गाउँमा जलविद्युत् आयोजना निर्माण हुन थालेपछि रोजगारी र लगानीको अवसर सिर्जना भएपछि विदेश पुगेका गाउँ फर्किन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । 

म्याग्दीको अतिविकट बस्ती धवलागिरि गाउँपालिका–४ मा पर्ने बगरगाउँ हालै मात्र सडक सञ्जालसँग जोडिएको छ । म्याग्दीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले कडा भिरको पहरो फुटाएर बगरमा सडक पु¥याएको छ । यस क्षेत्रमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले नाउरा हुँदै बगर जोड्ने सडक निर्माण गरेको हो । 

जलविद्युत् आयोजनाले सडक बनाइदिएपछि बगर गाउँका स्थानीयको गाडी चढ्ने सपना पूरा भएको स्थानीय हरिप्रसाद तिलिजाले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी स्रोतसाधनबाट बगरमा सडक पुग्न हाम्रो पालामा सम्भव नै थिएन । सडक नहुँदा नाउरादेखि बगर पुग्न भिरको बाटो पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । सडक निर्माण भएपछि आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ । यस क्षेत्रमा निर्माण हुन लागेको जलविद्युत् आयोजनाले बर्सौंदेखिको बगरवासीको सपना पूरा गरिदिएको छ ।”

यस्तै म्याग्दीकै अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका जलविद्युत् आयोजनामा स्थानीयवासीले सेयर लगानी गरेर आर्थिक समृद्धि हासिल गरेका छन् । गण्डकीमा निर्माण भएका अन्य जलविद्युत् आयोजनामा सेयर लगानी गरेर जीवनस्तर वृद्धि भएका उदाहरण प्रशस्तै छन् । जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयको आर्थिक समृद्धिका साथै गण्डकीले राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पु¥याएको छ । 

प्रदेशमा अहिले निर्माण सम्पन्न भएका, निर्माणधीन र प्रस्तावित जलविद्युत् आयोजनालाई आधार मान्दा गण्डकी समृद्धिको पहिलो आधार जलविद्युत्लाई लिन सकिन्छ । सरकारी र निजी क्षेत्रबाट जलविद्युत्मा लगानी थपिँदो छ । गण्डकी प्रदेश भएर बग्ने ठुलासाना नदीमा जलविद्युत् आयोजना निर्माणको उच्च सम्भावना छ ।

उत्पादन क्षमता १९ हजार 

जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययन अनुसार गण्डकी प्रदेशभर जलविद्युत् उत्पादनको क्षमता करिब १९ हजार मेगावाट देखिएको छ । विद्युत् विकास विभागको तथ्याङ्क अनुसार अहिले गण्डकीले निजी र सरकारी स्तरबाट सञ्चालित जलविद्युत् आयोजनाबाट एक हजार ७२ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । गण्डकी प्रदेशमा १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना, ६९ मेगावाट क्षमताको मस्र्याङ्दी र ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी ठुला जलविद्युत् आयोजनामध्येमा पर्छन् । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) ले प्रकाशित गरेको तथ्याङ्क अनुसार निजी क्षेत्रका ५२ वटा आयोजनाबाट ७६० मेगावाट र सरकारीस्तरबाट सञ्चालित छ वटा आयोजनाबाट हाल ३०२ मेगावाट क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । मुस्ताङमा रहेको जलविद्युत् आयोजनाबाट ११.१ मेगावाट, बागलुङमा रहेका पाँच वटा आयोजनामार्फत ७६ मेगावाट, स्याङ्जामा ९.४ मेगावाट, म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाबाट १७० मेगावाट र पर्वतमा रहेका चार वटा जलविद्युत् आयोजनामार्फत ५१.५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । 

यसैगरी गोरखामा रहेका छ वटा आयोजनामार्फत २५ मेगावाट, कास्कीमा रहेका १२ वटा जलविद्युत् आयोजनामार्फत १५३ मेगावाट र लमजुङमा रहेका १८ वटा आयोजनाबाट २६३ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । सरकारी स्तरबाट पर्वत र स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४, मोदीखोला जलविद्युत् आयोजनाबाट १४.८, तनहुँमा रहेको मस्र्याङ्दीबाट ६९, लमजुङमा रहेका मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन भएको छ । 

प्रदेशभरिमा निर्माणको विभिन्न प्रक्रियामा रहेका १३६ आयोजनाबाट थप पाँच हजार २४४ मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ । यसै गरी यो प्रदेशमा अहिले निजी क्षेत्रका ८४ र दुई वटा सरकारी गरी ८६ वटा आयोजना निर्माणको विभिन्न चरणमा प्रवेश गरेका छन् । ती आयोजना निर्माण सम्पन्न भइसक्दा चार हजार ९९६ मेगावाट विद्युत् उत्पादन हुने छ । 

हाल प्रदेशका विभिन्न जिल्लामा गरेर ३८ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती आयोजना निर्माण सम्पन्न हुँदा गण्डकी प्रदेशबाट थप एक हजार ३७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । निजी र सरकारीस्तरबाट सञ्चालित अधिकांश ती आयोजना निर्माणको अन्तिम चरणमा आइपुगेका छन् । बागलुङमा ४, गोरखामा पाँच, कास्कीमा सात, लमजुङमा पाँच, मनाङमा तीन, मुस्ताङमा एक, म्याग्दीमा ११, पर्वतमा एक र तनहुँमा एक वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

गण्डकीमा आयोजना निर्माणको अनुमति प्राप्त गरी वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेका ५२ वटा जलविद्युत् आयोजनामा बागलुङमा दुई, गोरखामा ११, लमजुङमा आठ, म्याग्दीमा ११, नवलपुरमा एक, पर्वत एक, कास्कीमा ११, तनहुँमा तीन र मनाङमा चार वटा छन् । ती आयोजनाबाट कुल एक हजार ९३२ मेगावाट विद्युत् उत्पादन क्षमता छ । गोरखामा सात, मनाङमा तीन र लमजुङमा एक गरी ११ वटा जलविद्युत् आयोजनाले ४७२ मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यले सर्वेक्षण लाइसेन्स लिएका छन् ।

यसै गरी बागलुङमा एक, गोरखामा तीन, कास्कीमा तीन, लमजुङमा दुई, मनाङमा एक र म्याग्दीमा छ वटा गरी ३५८ मेगावाट क्षमता जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न १६ वटा जलविद्युत् आयोजनाले अनुमति पाएका छन् । सरकारी स्तरबाट एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी, ८२८ मेगावाट क्षमताको उत्तरगङ्गा र १८० मेगावाटको आँधीखोला जलाशययुक्त आयोजना निर्माणका लागि अनुमित लिएर प्रक्रिया अगाडि बढाइएको छ । यस्तै गोरखामा सात, मनाङमा तीन र लमजुङमा एक गरी ११ वटा जलविद्युत् आयोजनाले ४७२ मेगावाट विद्युत् उत्पादन गर्न सर्वेक्षणका लागि अनुमति पाएका छन् । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इ.पान) सचिवालयका प्रमुख कार्यकारी भीम गौतमले गण्डकी जलविद्युत् विकासमा राम्रो सम्भावनायुक्त प्रदेश भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा सञ्चालित विद्युत् आयोजनाले ठुलो मात्रामा रोजगारी सिर्जना, अर्थतन्त्रमा टेवा र जलविद्युत् विकासमा ठुलो भूमिका खेलेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले जलविद्युत् निर्माणमा देखिएका बाधा अड्चन र अवरोधलाई हटाउन आवश्यक ऐन, कानुनको निर्माण र नीति नियम तर्जुमामा अझै ध्यान दिन आवश्यक छ ।” पछिल्लो एक दशकयता जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्रको नेतृत्वदायी भूमिकाका कारण समग्र राष्ट्रिय उत्पादनमा गण्डकीको योगदान बढ्दो रहेको उहाँले बताउनुभयो ।   

Author
ठाकुरप्रसाद आचार्य

उहाँ गोरखापत्रका लागि म्याग्दीबाट रिपोर्टिङ गर्नुहुन्छ ।