• २८ वैशाख २०८२, आइतबार

बज्रमादी जलविद्युतकाे वित्तीय व्यवस्थापन सम्पन्न

blog

गोरखापत्र समचारदाता

काठमाडौँ, वैशाख २८ गते । बज्र इनर्जी भेन्चर्स प्रालिले प्रवर्धन गरेको २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । शुक्रबार एनएमबी बैङ्क लिमिटेडको नेतृत्वमा कृषि विकास बैङ्क लिमिटेडसहित  तीन अर्ब ७४ करोड पाँच लाख रुपियाँ बराबरको ऋण लगानी सुनिश्चित गरिएको छ ।

कास्कीको मादी गाउँपालिका भएर बग्ने मादी नदीमा निर्माणाधीन यो जलप्रवाही आयोजनाले २४.८ मेगावाट क्षमताको इजाजत प्राप्त गरेको आयोजना स्तरोन्नति गरी ३१ मेगावाट बनाउन खोजिएको छ । यसका लागि विद्युत् विकास विभागमा अनुमतिका लागि आवेदन दिइसकिएको कम्पनीले जनाएको छ ।

परियोजनाको डिजाइन अनुसार ४३ मिटर लामो ड्याम, एक सय मिटर लामो डिसेन्डर, झन्डै आठ किलोमिटर लामो सुरुङमार्ग र १२५.५ मिटरको ग्रस हेड हुने छ । उत्पादित विद्युत् १३२ केभीको ७.२ किलोमिटर लामो सिङ्गल सर्किट प्रसारण लाइनमार्फत  लेखनाथ सबस्टेसनमा जोडिने छ ।

२०७८ माघमा विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा उत्पादन इजाजतसमेत प्राप्त भइसकेको छ । कुल लागत पाँच अर्ब ३५ करोड रुपियाँ अनुमान गरिएको सो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

 सोही कार्यक्रममा कास्कीको माछापुच्छ«े गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा बनेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिएको छ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्धन गरेको सो आयोजना निर्माण सम्पन्न भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको कम्पनीका अध्यक्ष सुदीपसिंह अधिकारीले जानकारी दिनुभयो । २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माण सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ । सेती नदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सबस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कको ऋण लगानी रहेको छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।