काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राती ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरेको छ । म्याद गुज्रिएका करोडौँ मुल्यकाे अखाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री वितरण गरेको पाइएपछि सिल गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
कानुन निर्माण गर्न, आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्न र सरकारलाई जवाफदेही बनाउन सांसदको भूमिका महत्वपूर्ण हुन्छ । यत्तिमा मात्र सांसदको भूमिकालाई सीमित गरियो भने लोकतन्त्रको सुन्दर पक्षको अवमूल्यन गरेको ठहर्छ । लोकतन्त्रमा संस्थागत व्यवस्थाको समीक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ, जसको उपयोग संसदीय लोकतन्त्रमा निजामती कर्मचारीलगायत सरोकारवालालाई प्रभावित गर्नका लागि प्रयोग गरिन्छ । सांसद, कर्मचारी र सरोकारवालाको सम्बन्धको आधारमा नै विकास र समृद्धिको ढोका खुल्ने गर्छ ।
अर्थतन्त्र सुदृढ बनाउन आन्तरिक उत्पादनमा वृद्धि ल्याउनु पर्दछ । आन्तरिक उत्पादन भनेको आफ्नै देशभित्र वस्तु उत्पादन गरेर आत्मनिर्भर हुनु हो । स्वदेशमा खपत हुन नसकेको उत्पादनलाई निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न पनि सकिन्छ । अर्को कुरा आन्तरिक उत्पादनले स्वदेशी उत्पादनसँग मात्र सरोकार हुँदैन कि निर्यात हुने विषयसँग पनि सरोकार राखेको हुन्छ । आन्तरिक उत्पादन भन्नाले औद्योगिक उत्पादन मात्र होइन । यस अन्तर्गत व्यापार, व्यवसाय र सेवा क्षेत्र पनि समावेश गरिएका हुन्छन् किनभने यी क्षेत्रले पनि स्वदेशी उत्पादनमा योगदान पुर्याएर देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् ।
सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी–किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।
डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनले खेलाडीले खाने खानामा दुध तथा दुग्ध पदार्थ अनिवार्य समावेश गराइदिन सरकारसँग आग्रह गरेको छ । एसोसिएसनले आइतबार खेलकुदमन्त्री, खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा सबै प्रदेशका खेलकुद परिषद्, जिल्लाका खेलकुद समितिसँग लिखित रूपमै आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले खेलकुदसँग सम्बन्धित सबै सरकारी निकायलाई पत्र नै पठाएर त्यो आग्रह गर्नुभएको छ । मौज्दात रहेको दुध तथा दुग्ध पदार्थको खपत बढाउनका लागि सरकारी निकायलाई यस्तो अनुरोध गरिएको अध्यक्ष दाहालले बताउनुभयो । दुध तथा दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण निकै समस्या भएको बताउँदै उहाँले मिल्क होलिडे नहोस् भनेर आफूहरूले यस्तो प्रयास गरेको बताउनुभयो । मन्त्रालय तथा परिषद्बाट सकारात्मक सन्देश आएको बताउँदै उहाँले खलाडीको खानामा दुध र दुग्ध पदार्थ अनिवार्य ग¥यो भने डेरीलाई राहत हुने बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा पनि अनिवार्य दुध तथा दुग्ध पदार्थ सेवन गराउन पहिलादेखि नै आग्रह गरिएको हो तर अहिलेसम्म नीतिगत निर्णय नभएको उहाँले बताउनुभयो । यतिबेला डेरी क्षेत्रमा निकै सङ्कट उत्पन्न भएको छ, मौज्दात दुग्ध पदार्थ बिक्री नभए त्यसको असर सिधै किसानलाई पर्ने भएकाले यसमा सरकार पनि गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।
दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७९/८० मा जिल्लाका नौ वटा समुदायिक वनबाट एक लाख सात हजार ९०७ केजी खोटो सङ्कलन भएर बिक्री हुँदा १२ लाख ९४ हजार ७८४ रुपियाँ आम्दानी भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।
सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।
गायन रियालिटी कार्यक्रम इन्डियन आइडलबाट मेनुका पौडेलको यात्रा टुङ्गिएको छ । आइतबार राति प्रसारित कार्यक्रमबाट उहाँ बाहिरिएको घोषणा गरिएको हो । पौडेल आइडलको टप १० मा मात्रै पुग्न सफल भएको हो । उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत इन्डियन आइडलको यात्रा टुङ्गिएको लेख्नुभएको छ ।
ससाना बालबालिकादेखि युवापुस्तामाझ चर्यानृत्यको लोकप्रियता बढ्दै गएको छ । बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजाकोठाभित्र अभ्यास गर्दै आएका चर्यानृत्य संरक्षण गर्नुपर्ने उद्देश्यले ससाना बालबालिकालाई सो प्रशिक्षण दिइन थालेको छ । पछिल्लो दिनमा यो नृत्यप्रति अभिभावकदेखि बालबालिकाको आकर्षण बढ्न थालेको सरोकारवालाले बताएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ । नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्र अन्तर्गतको योजनामा आबद्ध हुन मधेश प्रदेश ४७ पालिकाका प्रमुख र कोषबिच एकै पटक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मधेश प्रदेश अन्तर्गत महोत्तरी, धनुषा र सर्लाही जिल्लाका ती पालिकाले सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषका योजनामा आबद्धता गराउने विषयमा कोषसँग एकै पटक सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा सोमबार आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन’ विषयक प्रदेशस्तरीय कार्यशालामा उहाँले सहकारीमार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिन्छ भन्नुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिद गर्न दोस्रो पटक टेन्डर आह्वान गरेको छ । पहिलो पटक टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन बजार मूल्य अनुसार चामल खरिद गर्ने गरी टेन्डर आह्वान गरेको हो । तीन लाख ३६ हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले गत मङ्सिर ६ गते टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन दुई लाख ७७ हजार क्विन्टल चामल खरिद गर्न टेन्डर आह्वान गरेको हो । कम्पनीले धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न टेन्डर आह्वान गरेको थियो । कम्पनीले धान चामल खरिद गरी दुर्गम तथा सुगम ठाउँमा सुपथ मूल्यमा खाद्यान्न वितरण गर्र्ने गरेको छ । बजारमा धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको थियो । तर चामल खरिद गर्न पहिलो पटक टेन्डर नपर्दा दोस्रो पटक टेन्डर आह्वान गरेको जनाइएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा