• ११ मंसिर २०८१, मङ्गलबार

खाँचो आन्तरिक उत्पादन

blog

अर्थतन्त्र सुदृढ बनाउन आन्तरिक उत्पादनमा वृद्धि ल्याउनु पर्दछ । आन्तरिक उत्पादन भनेको आफ्नै देशभित्र वस्तु उत्पादन गरेर आत्मनिर्भर हुनु हो । स्वदेशमा खपत हुन नसकेको उत्पादनलाई निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न पनि सकिन्छ । अर्को कुरा आन्तरिक उत्पादनले स्वदेशी उत्पादनसँग मात्र सरोकार हुँदैन कि निर्यात हुने विषयसँग पनि सरोकार राखेको हुन्छ । आन्तरिक उत्पादन भन्नाले औद्योगिक उत्पादन मात्र होइन । यस अन्तर्गत व्यापार, व्यवसाय र सेवा क्षेत्र पनि समावेश गरिएका हुन्छन् किनभने यी क्षेत्रले पनि स्वदेशी उत्पादनमा योगदान पुर्‍याएर देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् ।

विकासको सङ्केत भन्नु नै आन्तरिक उत्पादन हो । आन्तरिक उत्पादन बढाउन सकियो भने स्वतः आयातमा कमी हुन जान्छ किनकि स्वदेशी उत्पादनले नै देशको आवश्यकता परिपूर्ति गरेको हुन्छ र विदेशबाट आयात गर्नुपर्ने आवश्यकता नै हुँदैन । न्यून मात्रामा आयात गरिने र पर्याप्त मात्रामा निर्यात हुने गर्दा आर्थिक रूपले देश बलियो हुन्छ । यसरी आन्तरिक उत्पादन बढाउन सकिएको अवस्थामा विदेशी मुद्राको सञ्चिति पनि सकारात्मक हुन जान्छ ।

बुझ्नुपर्ने कुरा के छ भने कुनै पनि देश सबै वस्तुमा आत्मनिर्भर हुन सक्दैन । स्वदेशमा उत्पादन हुन नसक्ने कतिपय वस्तु पनि हुन सक्छन् । नेपालको सन्दर्भमा भन्ने हो भने पेट्रोल, डिजेल जस्ता वस्तु स्वदेशमा उत्पादन नै हुन सक्दैनन् । उत्पादनका लागि आवश्यक पर्ने उपकरण तथा अन्य वस्तुका लागि पनि आयात गर्नै पर्दछ । यस्ता वस्तु विदेशबाट आयात गर्नै पर्दछ र विदेशी मुद्राबाट भुक्तानी गर्नुपर्ने हुन्छ । आयातका लागि स्रोत व्यवस्थापन गर्ने मुख्य अवयव भनेको नै आन्तरिक उत्पादन हो ।

अर्थतन्त्र सुदृढ बनाउनका लागि देशगत र वस्तुगत आधारमा व्यापार विविधीकरण पनि गरिएको हुन्छ । कुन कुन देशमा वस्तु निर्यात गर्दा बढी फाइदा र कुन कुन देशबाट आयात गर्दा सस्तो पर्न जान्छ, सोको आधारमा आयात निर्धारण गरिएको हुन्छ । यसरी देशलाई फाइदा हुने गरी कुनै पनि देशले तुलनात्मक लाभको आधारमा व्यापार गरेको हुन्छ । यी कार्य मूलतः आन्तरिक उत्पादनसँग जोडिएका हुन्छन् ।देशको अर्थतन्त्र सुदृढ बनाउनु भनेको नै आन्तरिक उत्पादनमा वृद्धि ल्याउनु हो । आन्तरिक उत्पादनले देशलाई आत्मनिर्भर बनाउँछ । विडम्बना के देखिन्छ भने नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन । खाद्यान्न, दाल, चामल, फलफूल, तरकारी, तेल जस्ता वस्तु हामी आयात गर्छौं । कृषिप्रधान मुलुक भनिए पनि कृषि आयात प्रधान देश बन्न पुगेको छ । यसरी कृषिजन्य वस्तुमा समेत आत्मनिर्भर हुन नसकी आयातमुखी हुन पुगेको अहिलेको अवस्था हो । 

कुल जनसङ्ख्याको करिब ६४ प्रतिशत कृषिमा निर्भर भए पनि कृषि क्षेत्र उपेक्षित छ । कृषिका लागि आवश्यक पर्ने सिँचाइ, मल, बिउ, उपकरणको अभावमा कृषि पेसा फस्टाउन सकिरहेको छैन । युवाशक्ति वैदेशिक रोजगारीमा गएकाले कृषिमा आश्रित जनसङ्ख्या घट्दै छ । गाउँघरका खेतबारी बाँझो जग्गामा परिणत भएका छन् । १२ कक्षा उत्तीर्ण विद्यार्थी देश छाडेर युरोप, अमेरिका अध्ययनका लागि जाने क्रम बढ्दो छ । गाउँमा कृषि व्यवसाय गर्ने जनसङ्ख्या दिनप्रतिदिन घट्दो छ ।

ठुलो जनसङ्ख्यालाई पाल्ने र आन्तरिक उत्पादनले धान्ने पेसा भनेको कृषि नै हो तर अहिले यो क्षेत्र उपेक्षित छ । मल, बिउ जस्ता सामान्य कुरा पनि उपलब्ध नहुँदा कृषि उत्पादनमा ह्रास आउँदै छ । फलस्वरूप आन्तरिक उत्पादन घट्दो छ । कृषि उत्पादनमा वृद्धि ल्याउन नसकिएकाले देशको अर्थतन्त्र आयातमा निर्भर हुँदै छ ।

आन्तरिक उत्पादन बढाएर देशको अर्थतन्त्र धान्ने अर्को क्षेत्र भनेको औद्योगिक उत्पादन हो । अहिले औद्योगिक क्षेत्र पनि धर्मराएको अवस्था छ । उद्योग, व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेका छैनन् । सञ्चालन खर्चसमेत धान्न मुस्किल छ । आन्तरिक उत्पादन न्यून भएकाले राष्ट्रिय आयमा प्रतिकूलता बढ्दै छ । रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा उत्पादन लागत पनि बढेको छ । यसले सबै वस्तुमा मूल्यवृद्धि भएको छ । आयातमा निर्भर नेपालको अर्थतन्त्रमा झनै प्रतिकूल प्रभाव पारेको छ । कोभिड–१९ पछि नै औद्योगिक उत्पादन खस्कँदै गएको छ । अहिलेसम्म लयमा आउन सकेको छैन । कोभिडकै कारण आयात–निर्यातमा असर पर्न गयो । मानिसको आवागमन प्रायः शून्य अवस्थामा थियो । यातायात पूर्ण रूपले बन्द थिए । कोभिड केही मत्थरिँदै गएपछि थोरै मात्रामा भए पनि उद्योगी व्यवसायीले वस्तु उत्पादन गर्न सुरु गरे । आयातमा निर्भर रहेको अर्थ प्रणालीमा आयातमा ह्रास आउँदा थोरै उत्पादनले देशको माग धान्न सक्ने कुरै भएन र अर्थतन्त्र कमजोर बन्दै गयो । 

कोभिडले अस्तव्यस्त बनाएको अर्थतन्त्रलाई उकास्न बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक क्षेत्रमा उल्लेखनीय सुधार हुन सकेन । आन्तरिक उत्पादनमा वृद्धि गर्नेतर्फ त्यति पहल नभएकाले देशको आवश्यकता आयातबाटै परिपूर्ति गर्नुपर्ने भयो । आयात बढ्दै जानु र आन्तरिक उत्पादन बढाउन नसक्दा देशको अर्थतन्त्र खस्कँदै जान थाल्यो । अहिले पनि आन्तरिक उत्पादनमा केही सुधार भएको जस्तो देखिए पनि आयातलाई विस्थापित गर्न सकिएको छैन ।

आन्तरिक उत्पादन कमजोर हुँदै गएपछि देशको अर्थव्यवस्था चलाउने कार्यमा बाह्य क्षेत्रको भूमिका बढ्न गएको छ । त्यसैले आन्तरिक र बाह्य गरी करिब २४ खर्ब ऋण पुगिसकेको छ । विश्व अर्थव्यवस्था नै खस्कँदै गएकाले अनुदान पनि अपेक्षित रूपमा प्राप्त हुन सकेन । आय आर्जनका सबै क्षेत्र धराशायी भएकाले राजस्वले पनि लक्ष्य प्राप्त गर्न सकेन । 

अहिले देशको अर्थतन्त्र धान्ने विप्रेषण नै हो । विप्रेषणबाट विदेशी मुद्रा भित्रिने भए पनि सधैँ यही अवस्था भइरहन्छ भन्न सकिँदैन । रोजगारदाताहरूको रोजगार नीतिमा कुनै परिवर्तन आउनेबित्तिकै फर्किनुपर्ने अवस्था पनि आउन सक्दछ । खास गरेर खाडी मुलुकमा श्रमिकको माग बढ्दै गएकाले विप्रेषण सकारात्मक हुन गएको हो । केही गढबढ हुनासाथ स्वदेश फर्किनुपर्ने हुन सक्छ । त्यो बेला नेपालको अर्थतन्त्रलाई कसरी धान्ने भन्नेतर्फ अहिले नै योजना बनाउनुपर्ने देखिन्छ । स्वदेश फर्किएका श्रमिकलाई उनीहरूले प्राप्त गरेको ज्ञान, सिप र प्रविधिलाई उत्पादन क्षेत्रमा लगाउन सकियो भने निश्चय नै आन्तरिक उत्पादनले देशको अर्थतन्त्र थेग्न सक्ने हुन्छ ।

विप्रेषणबाट करिब १३ खर्ब रुपियाँ जति भित्रिन्छ । ५४ खर्बको आर्थिक संरचना भएको सानो अर्थतन्त्रमा यसलाई कम आँक्न मिल्दैन । राष्ट्रिय बजेटको हाराहारीमा स्वदेश भित्रिने यो रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकियो भने देशको अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुन सक्छ तर विडम्बना के छ भने यसरी प्राप्त हुने रकमलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न सकिएको छैन । करिब ७० प्रतिशत उपभोगमा र ३० प्रतिशत मात्र उत्पादनशील क्षेत्रमा लगानी भएको देखिन्छ ।

विश्व अर्थव्यवस्था नै कमजोर भएको अहिलेको अवस्था हो । अर्थतन्त्र कमजोर हुँदै गएको अवस्थामा उत्पादन लागतमा वृद्धि हुन्छ भने उत्पादित वस्तुको मूल्य पनि बढ्छ । अहिले यही भएको छ । नेपालमा पनि आर्थिक क्रियाकलाप बढ्न नसक्दा एक प्रकारको मन्दीको स्थिति छ । बजारमा वस्तुको माग नभएको हुँदा उद्योग तथा कलकारखाना सञ्चालनमा आउन सकेका छैनन् । औद्योगिक वातावरण खस्कँदै गएकाले उद्योगी व्यवसायीहरू राज्यसँग सुविधा एवं सहजीकरणका लागि माग गरिरहेका छन् । साथै कर्जाको ब्याजदर बढी भएकाले घटाई दिन पनि उनीहरूको माग छ । 

बैङ्कहरूले केही प्रतिशत ब्याजदर पनि घटाएका छन् । त्यसै गरी पुरानो कर्जाको साँवा, ब्याज भुक्तानी गर्ने सम्बन्धमा पुनर्तालिकीकरणका लागि उद्योगी तथा व्यवसायीको माग छ । यी विभिन्न कारणले गर्दा औद्योगिक उत्पादनले गति लिन सकिरहेको देखिँदैन । फलस्वरूप आन्तरिक उत्पादन खस्कँदै गएको छ । अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार देखिए पनि आन्तरिक सूचकहरूमा सुधार भएको अवस्था छैन । श्रम निर्यात गरेर देश धनी हुन सक्दैन । देश विकास गर्न त वस्तु निर्यात गर्नु पर्दछ । निर्यातका लागि देशभित्र आन्तरिक उत्पादन बढाउनु पर्दछ । आन्तरिक उत्पादनले एकातिर आन्तरिक आवश्यकता परिपूर्ति हुन्छ भने अर्कातिर वस्तु निर्यात गरेर देशको अर्थतन्त्र सुदृढ बन्छ ।    

Author

कृष्णमणि पराजुली