• १२ असार २०८१, बुधबार

खेलाडीलाई नियमित दुध खाने व्यवस्था मिलाउन आग्रह

blog

काठमाडौँ, माघ २३ गते ।   डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनले खेलाडीले खाने खानामा दुध तथा दुग्ध पदार्थ अनिवार्य समावेश गराइदिन सरकारसँग आग्रह गरेको छ । 

एसोसिएसनले आइतबार खेलकुदमन्त्री, खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा सबै प्रदेशका खेलकुद परिषद्, जिल्लाका खेलकुद समितिसँग लिखित रूपमै आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले खेलकुदसँग सम्बन्धित सबै सरकारी निकायलाई पत्र नै पठाएर त्यो आग्रह गर्नुभएको छ । मौज्दात रहेको दुध तथा दुग्ध पदार्थको खपत बढाउनका लागि सरकारी निकायलाई यस्तो अनुरोध गरिएको अध्यक्ष दाहालले बताउनुभयो । दुध तथा दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण निकै समस्या भएको बताउँदै उहाँले मिल्क होलिडे नहोस् भनेर आफूहरूले यस्तो प्रयास गरेको बताउनुभयो । मन्त्रालय तथा परिषद्बाट सकारात्मक सन्देश आएको बताउँदै उहाँले खलाडीको खानामा दुध र दुग्ध पदार्थ अनिवार्य गर्‍यो भने डेरीलाई राहत हुने बताउनुभयो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा पनि अनिवार्य दुध तथा दुग्ध पदार्थ सेवन गराउन पहिलादेखि नै आग्रह गरिएको हो तर अहिलेसम्म नीतिगत निर्णय नभएको उहाँले बताउनुभयो । यतिबेला डेरी क्षेत्रमा निकै सङ्कट उत्पन्न भएको छ, मौज्दात दुग्ध पदार्थ बिक्री नभए त्यसको असर सिधै किसानलाई पर्ने भएकाले यसमा सरकार पनि गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो । 

विगत वर्षमा फागुनदेखि डेरी क्षेत्रमा सिजन सुरु हुन्थ्यो । देशमा उत्पादन भएको दुधले नपुगेर डेरीहरूलाई बजारको माग धान्न गाह्रो हुन्थ्यो । यस वर्ष फागुनदेखि नै बजारमा दुध तथा दुग्ध पदार्थको माग अत्यन्तै कम हुन थालेको छ । आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापितलगायतका कारण होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस नचल्नुले पनि दुध तथा दुग्ध पदार्थको खपत कम भएको हो । 

भारतबाट पनि अवैद्य रूपमा दुध आयात भइरहेकाले पनि नेपालका दुध बिक्रीमा समस्या भएको उहाँले दाबी गर्नुभयो ।