• १३ असोज २०८१, आइतबार

खोटो सङ्कलनबाट बढ्दो आम्दानी

blog

लीलाधर वली 

घोराही, माघ २३ गते । दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो ।

आर्थिक वर्ष २०७९/८० मा जिल्लाका नौ वटा समुदायिक वनबाट एक लाख सात हजार ९०७ केजी खोटो सङ्कलन भएर बिक्री हुँदा १२ लाख ९४ हजार ७८४ रुपियाँ आम्दानी भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । 

अघिल्लो आव २०७८/७९ मा ७८ हजार २५६ केजी सल्लाको खोटो सङ्कलन भएको थियो । उक्त वर्ष खोटो बिक्रीबाट नौ लाख ३९ हजार २७ रुपियाँ मात्रै आम्दानी भएको थियो । आवको तुलनामा पछिल्लो समय सल्लाको खोटो सङ्कलन गर्ने कार्य बढेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 

कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “वनमा सल्लाका रुख बढेसँगै खोटो सङ्कलन गर्ने क्रम बढेको छ । खोटो बिक्री गरेर वन समूहले राम्रो आम्दानी गरिरहेको छ ।” 

सल्लाको खोटो बिक्री गरेर आम्दानी भएको ७५ प्रतिशत रकम सम्बन्धित वन समूहको कोष र २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभएको छ । 

जिल्लामा बङ्गलाचुली गाउँपालिकाबाट खोटो सङ्कलन हुने गरेको छ । सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाका रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्ने र उक्त पैसा सामाजिक कार्यमा लगाउने गरेका छन् । 

वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै खानेपानी धारा निर्माण, बाटो निर्माण, विद्यालय, सामुदायिक वन निर्माणलगायतका कार्यमा लगाउने गरेको बङ्गलाचुली गाउँपालिका–८ मा रहेको ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताउनुभएको छ । सल्लाको रुखबाट वैशाख/जेठ महिनादेखि मङ्सिर/पुस महिनासम्म खोटो सङ्कलन गर्ने गरिन्छ ।