नीति निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैङ्कले तीन विकास बैङ्क र तीन वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नारायणी डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सलाई राष्ट्र बैङ्कले कारबाही गरी जरिबाना पनि तिराएको हो ।
हिन्दु विद्यापीठका संस्थापक डा. चिन्तामणि योगीले अहिले देखिएका सामाजिक परिवेश र मानिसको प्रविधिप्रतिको बढ्दो लगावका बेला योग ध्यान जस्ता कुराको महत्व झन् बढेको बताउनुभएको छ । बुधबार राजधानीमा ‘आरोग्यताका लागि मुद्रा–प्राणायाम’ पुस्तक विमोचन गर्दै उहाँले नेपाल वेद, रामायण, त्रिपिटक जस्ता ग्रन्थ र दर्शन जन्माउने देश भएको उल्लेख गर्दै कतिपय विकसित देशमा समेत हाम्रो योग र ध्यान पद्धतिबारे व्यापक चर्चा र चासो हुने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अहिले समाजमा देखिएको एक प्रकारको निराशालाई चिर्न पनि योग र ध्यान आवश्यक रहेकाले त्यसलाई चिर्न पुस्तक प्रभावकारी हुने बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तमाङ भाषा
सङ्गीतकार तथा निर्देशक डिआर सुजनले ‘टोपी उनैको’ बोलको गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायिका आयुषा गौतम र अञ्जु विश्वकर्माले उहाँलाई साथ दिनुभएको छ ।
नेपाल सङ्गीत विद्यालयले स्नातक तहको सङ्गीतको अध्ययन गराउने भएको छ । नेपाल म्युजिक सेन्टर शैक्षिक गुठी तथा गुठीद्वारा सञ्चालित नेपाल सङ्गीत विद्यालयको १८ औँ वार्षिक उत्सव कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । गुठीका अध्यक्ष तथा लोक सेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गराइरहेका विद्यालयमा स्नातक तह पनि अध्ययन अध्यापन गर्ने भएको जनाएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दोस्रो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले यही फागुन ५ देखि १७ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बबरमहलस्थित ललितकला परिषद्मा उक्त कार्यशालाको आयोजना गर्न लागेको हो । नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार यसअघि गत असोज १७ देखि २१ सम्म आयोजना भएको पहिलो चरणको चित्रकला कार्यशालाबाट १७० हाराहारीमा तयार भएका चित्रकलालाई प्रदर्शनमा राखिने र दोस्रो चरणको कार्यशालामा ५० देशका चित्रकारले क्यानभासमा प्रत्यक्ष चित्रकला तयार पार्ने छन् । उहाँले भन्नुभयो, “जिल्लाका दस वटै पालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीलगायतका कला, संस्कृति र पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले चित्रकला कार्यशालाको आयोजना गरिन लागेको हो ।
लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ गतेबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने बताउनुभयो ।
मोरङको कानेपोखरी–३, हरकपुरमा नेपाल मै पहिलो पटक व्यावसायिक बयर खेती सुरु गरिएको छ । धरानका व्यवसायी विनोद अग्रवालले बयरको आयात उच्च भएको अध्ययन गरेपछि बयरको व्यावसायिक खेती सुरु गर्नुभएको छ । खास गरी सरस्वती पूजालगायतका चाडमा नेपालमा विभिन्न जातका बयरको आयात हुने गरेको छ । अग्रवालले आफ्नै पाँच बिघा जग्गामध्ये साढे चार बिघा खेतमा एक हजार बिरुवा लगाउनुभएको हो । जसमध्ये सात सय बिरुवाले उत्पादन दिन थालेका छन् । भारतको हरियाणाबाट प्रतिबिरुवा एक सय रुपियाँका दरले ल्याएका बिरुवा उहाँले गत वर्षको चैतमा रोप्नुभएको थियो । ती बिरुवाले रोपेको १० महिनामा उत्पादन दिन थालेका छन् ।
प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९० प्रतिशत भारतको भर पर्नुपर्ने अवस्था रहेको जनाएको छ । फ्यानका अनुसार प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेकोमा ३५ हजार गुलाफ स्वदेशमा उत्पादन हुन्छ भने बाँकी तीन लाख १५ हजार स्टिम गुलाफ भारतबाट आयात गर्नु पर्छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले स्टिम गुलाफको मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताउनुभयो ।
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
स्थानीय बजारमा बुधबार सुनको मूल्य एकै दिन तोलामा एक हजार दुई सय रुपियाँले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार घटेर एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा साना क्षमताका आयोजनाको कोटारहित विद्युत् खरिद गर्ने भएको छ । त्यस्तै करिब सात मेगावाटसम्म थप सौर्य आयोजनाको पनि विद्युत् खरिद सम्झौता गर्ने भएको छ । प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको विद्युत्मा लगानी प्रोत्साहन गर्न भन्दै सञ्चालक समितिमार्फतनिर्णय गरेको हो । निर्णय अनुसार अब १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा नै खरिद गरिने छ ।
रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुस सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने तय भएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ। अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्।
दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी बहिनीको मृत्यु भएको छ । स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ बर्षीया राधा बस्नेत र उहाँकी बहिनी १६ बर्षीया विपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।