• ८ जेठ २०८१, मङ्गलबार

बयरको व्यावसायिक खेती सुरु

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन ३ गते । मोरङको कानेपोखरी–३, हरकपुरमा नेपाल मै पहिलो पटक व्यावसायिक बयर खेती सुरु गरिएको छ ।

धरानका व्यवसायी विनोद अग्रवालले बयरको आयात उच्च भएको अध्ययन गरेपछि बयरको व्यावसायिक खेती सुरु गर्नुभएको छ । खास गरी सरस्वती पूजालगायतका चाडमा नेपालमा विभिन्न जातका बयरको आयात हुने गरेको छ । अग्रवालले आफ्नै पाँच बिघा जग्गामध्ये साढे चार बिघा खेतमा एक हजार बिरुवा लगाउनुभएको हो । जसमध्ये सात सय बिरुवाले उत्पादन दिन थालेका छन् । भारतको हरियाणाबाट प्रतिबिरुवा एक सय रुपियाँका दरले ल्याएका बिरुवा उहाँले गत वर्षको चैतमा रोप्नुभएको थियो । ती बिरुवाले रोपेको १० महिनामा उत्पादन दिन थालेका छन् । 

अग्रवालको बयरघारीमा अहिले लटरम्म बयर फलेका छन् । एउटै बिरुवाले २५ केजीसम्म उत्पादन दिएको बयर फार्मका कर्मचारी रघु टुडूले बताउनुभयो । टुडूका अनुसार गोलसुन्दरी, मिस इन्डिया, एप्पल र कासी गरी चार प्रजातिका बयरले उत्पादन दिन थालेका छन् । वर्षमा तीन पटक उत्पादन लिन सकिने यो फल माघ/फागुन, जेठ/असार र कात्तिक/मङ्सिरमा टिप्न योग्य हुन्छ । नेपाली बजारमा अहिले बयरको खुद्रा मूल्य प्रतिकेजी १६० रुपियाँ रहेको छ । टुडूले भन्नुभयो, हामीले बगानबाटै प्रतिकेजी एक सय रुपियाँमा बिक्री गरिरहेका छौँ । जुन बिरुवाले उत्पादन दियो, त्यसमा २० केजीभन्दा बढी नै फलेको छ तर तीन सयभन्दा बढी बिरुवाले उत्पादन दिएका छैनन् । यो सिजनमा मात्र सरदर १२ हजार केजी बयर बिक्री गरिने टुडूको भनाइ छ । “अहिले बगानबाटै बिक्री भइरहेको छ । अर्को फसलदेखि बजारको खोजी गर्छौं,” उहाँले भन्नुभयो । 

अग्रवालको बगानमा अरू १६ जातका फलफूलका बिरुवा फल दिने तयारीमा छन् । मुख्य गरी बयरको व्यावसायिक उत्पादन लिने गरी फार्म सञ्चालन गरिएको हो । तर,  बयर  उत्पादनमा असफल भए लगानी डुब्ने डरले उहाँले अन्य फलफूलका बिरुवा लगाउनुभएको हो । अग्रवालका अनुसार अहिले बगानमा चिकुफल, आलुबखडा, आँप, लिची, कटहर, ड्र्यागन फ्रुट, अनार, मेवा, सफेदा, अन्जिर, थाइलैन्ड एप्पल, सरिफा, जामुन, निमु, कागतीलगायतका बिरुवा उत्पादन दिने अवस्थामा छन् । उहाँले भन्नुभयो, “मौसमलाई अनुकूल बनाउन सके सबै खाले फलफूलको उत्पादन लिन सकिने रहेछ । मेवा, अनार र अम्बालाई विशेष जोड दिएको छु । आयात प्रतिस्थापन नै मुख्य लक्ष्य हो ।” 

अग्रवालले जग्गाबाहेक हालसम्म सात लाख रुपियाँ खर्च गरिसक्नुभएको छ । डाँस खोला किनारको पाँच बिघा जग्गामा मुस्किलले प्रतिबिघा सय मन धान उत्पादन हुन्थ्यो । तर, फलफूल लगाएपछि एक सिजनमा नै खर्च कटाएर सात लाख जति आम्दानी हुने देखियो । 

बयरको बोटलाई एक पटक उत्पादन लिएपछि पुनः उत्पादन लिन बोट डेढ फिट राखेर काटिदिनु पर्छ । सोही ठुटोबाट पुनः झाँगिएर बयरले उत्पादन दिन्छ । बोट वरिपरि चार वटा किला गाडेर थाङ्ग्रा हालिदिनु पर्छ । अग्रवालले कृषिसम्बन्धी युट्युब कार्यक्रम हेरेर बयर खेती सुरु गरेको सुनाउनुभयो ।