• १९ असार २०८१, बुधबार

प्रणय दिवस

तीन करोड पचास लाखको रातो गुलाफको कारोबार

blog

काठमाडौँ, फागुन ३ गते । प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९० प्रतिशत भारतको भर पर्नुपर्ने अवस्था रहेको जनाएको छ । 

फ्यानका अनुसार प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेकोमा ३५ हजार गुलाफ स्वदेशमा उत्पादन हुन्छ भने बाँकी तीन लाख १५ हजार स्टिम गुलाफ भारतबाट आयात गर्नु पर्छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले स्टिम गुलाफको मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताउनुभयो । 

माग अनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उहाँको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० देखि १२० रुपियाँसम्म पर्ने गरेको अध्यक्ष तामाङले बताउनुभयो । पछिल्ला वर्षमा प्रणय दिवस साताव्यापी रूपमा मनाउन थालिएको छ । 

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्छ तर उक्त दिनभन्दा एक साताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ प्रेम जोडीले एकअर्कालाई दिएर यो दिवस मनाउने गर्छन् ।

फ्यानका अध्यक्ष तामाङले कुल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रणय दिवसमा मात्रै रातो गुुलाफको तीन करोड ५० लाखभन्दा बढीको कारोबार हुने गरेको छ । वार्षिक तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेको फ्यानले जनाएको छ । 

रातो गुलाफ विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला तथा काभ्रे र चितवनमा व्यावसायिक रूपमा लगाउने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा विभिन्न किसिमका पुष्प खेती तथा नर्सरी विस्तार भइसकेको छ । व्यावसायिक रूपमा ४५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । एसोसिएसनका अनुसार गत वर्ष प्रणय दिवसमा एक सातामा दुई लाख सात हजार स्टिम गुलाफ खपत भएको थियो ।