यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति भवानीप्रसाद खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ। करिब एक हजार आठ सय कर्मचारी, एक हजार पाँच सय विद्यार्थी र तीन सय शिक्षक रहेको प्रतिष्ठानमा दैनिक १० हजारको सङ्ख्यामा बिरामी र कुरुवा उपस्थित हुनेभएकोले प्रतिष्ठानको व्यवस्थापनमा चुनौती रहेको उहाँको भनाइ छ। यसलाई मिलाएर लैजानु सबैको दायित्व भएको भन्दै स्वास्थ्यमन्त्री खापुङले सबैलाई आ–आफ्नो जिम्मेवारी इमानदार भएर निर्वाह गर्न आग्रह गर्र्नुभयो।
दोलखा सदरमुकाम चरीकोटबाट करिब दुई किलोमिटर तल लामोसाँघु–जिरी सडकमुनि भूकम्पले जीर्ण बनेको भवन रहेको छ । बाहिरबाट हेर्दा चिटिक्क देखिने भवन भित्र हेर्दा भने ठाउँ–ठाउँमा चिरिएको छ । यसै भवनमा खोखिमपूर्ण तवरले गौरीशङ्कर बालगृह चलाइएको छ । बाल सङ्गठन दोलखाले जिम्मा लिएको भवन भूकम्पले जीर्ण बने पनि न अर्को नयाँ भवन बन्यो, न मर्मत नै भयो । नेदरल्यान्डस् अन्तर्राष्ट्रिय बालकल्याण सङ्गठन तथा नेपाल बाल सङ्गठनको संयुक्त सहयोगमा निर्माण गरिएको बालगृहको २०५३ साल कात्तिक ३० गते तत्कालीन कार्यवाहक प्रधानमन्त्री एवं श्रममन्त्री बलबहादुर राईले उद्घाटन गर्नुभएको थियो ।
बागमती प्रदेश सरकारले ल्याएको यात्रुवाहक सार्वजनिक सवारीसाधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि नै बागमती प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी थालेको थियो । प्रदेश सरकारले एक वर्षअघि बनाएको प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ मा व्यवस्था भएअनुसार सेवा प्रदायक छनोट गर्न मन्त्रालयले दुई पटक प्रस्ताव माग गरिसकेको छ । यात्रुहरूले सार्वजनिक यात्रुवाहक सवारी उपयोग गरेबापत प्रदेश सरकारले निर्धारण गरेको भाडा रकम कार्ड वा विद्युतीय माध्यमबाट नगदरहित तरिकाले भुक्तानी गर्ने उद्देश्यले प्रणाली कार्यान्वयन गर्न लागिएको हो ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा नेपाली सेनाले बनाएको युद्ध सङ्ग्रहालयप्रति आकर्षण बढ्दै गएको छ । एक वर्षअघि सेनाबाट नगरपालिकाले युद्ध सङ्ग्रहालयको स्वामित्व पाएसँगै अवलोकनका लागि खुला गरेपछि अहिले सङ्ग्रहालय हेर्न आउनेहरूको सङ्ख्या दैनिक बढ्दै गएको छ । युद्ध सङ्ग्रहालय हेर्न भनेर नै सर्लाहीको लालबन्दीबाट आउनुभएका मनीष साह सङ्ग्रहालय लोभ लाग्दो पाएको सुनाउनुभयो ।
पुरातात्त्विक, सांस्कृतिक र ऐतिहासिक महत्त्वको पनौती नगरपालिका–७ (साबिक पनौती गाविस)लाई ‘विश्व सम्पदा सूची’मा सूचीकृत गर्न पहल गरेको करिब अढाई दशक हुँदासमेत सूचीकृत हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा २०५४ सालमा मन्त्रिपरिषद् बैठकले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तर्गत रहेर साबिक पनौती गाविसलाई प्राचीन स्मारक क्षेत्र घोषणा गरेको थियो । सरकारले प्राचीन स्मारक क्षेत्र घोषणा गरेपछि २०७४ सालसम्म विश्व सम्पदा सूचीमा सूचीकृत गराउन खासै पहल नभएकामा २०७४ सालमा नगरपालिकामा जनप्रतिनिधि आएपछि सामान्य पहल गरे पनि सार्थक हुन सकेको छैन ।
निर्वाचन आयोगले शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आउनुभएका बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आउनुभएको थियो । त्यसअघि उहाँ राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आउनुभएको थियो ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठक मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ। बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको हो।
काठमाडौं, भदौ २४ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुने बताउनुभएको छ। निर्वाचित जनप्रतिनिधिको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनपछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताउनु भएको हो। नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्नु हुँदै मन्त्री कार्कीले देश विकासको साझा लक्ष्यमा सरकारसँगै हातेमालो गरेर अघि बढ्न निजी क्षेत्रलाई पनि आह्वान गर्नुभयो। निजी क्षेत्र र सरकारको साझा प्रयासमा मात्रै मुलुकलाई अघि बढाउन सकिने उहाँको भनाइ छ। मन्त्री कार्कीले भन्नुभयो, ‘‘अहिले नेपाल निर्वाचनको संघारमा छ। नेपालको संविधान २०७२ को कार्यान्वयनमा आएपछि यो सात वर्षको अवधिमा राजनीतिक क्षेत्रमा निकै काम भए। संघ, प्रदेश र स्थानीय तहका संरचना तयार भए। तीन वटै तहका जनप्रतिनिधिको आफ्नो एक कार्यकाल पूरा गरिसकेका छन्। यसबाट राजनीतिक रुपमा जग बसेको छ। अब हामीले यसमा धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन। आसन्न निर्वाचनपछि हाम्रो सम्पूर्ण ध्यान आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुनेछ। सरकार र निजी क्षेत्रको आपसी सहयोग, समन्वय अनि प्रतिवद्धता यसका लागि चाहिन्छ। हामी हातेमालो गरेर देश विकासको साझा लक्ष्यमा अगाडि बढौं।’’ मन्त्री कार्कीले स्वदेशी तथा विदेशी लगानी भित्र्याई मुलुकको पूर्वाधार विकास गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न सरकार तत्पर रहेको पनि बताउनु भयो। पूर्वाधार विकास र उत्पादन वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय पूर्वाधार निर्माणमा ध्यान दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो। मन्त्री कार्कीले भन्नुभयो, ‘‘केही समय अगाडि गरिएको एउटा अध्ययनले नेपाल कूल ग्रार्हस्थ उत्पादनमा सरकारको एक्लो प्रयासले मात्रै पूर्वाधारका लागि आवश्यक लगानी हुन सक्दैन। यसमा स्वेदशी तथा विदेशी निजी क्षेत्रको सहयोग जरुरी छ। सरकार र निजी क्षेत्रको साझा प्रयासले पूर्वाधार लगानी सजिलै बढाउन सकिन्छ भन्ने मेरो धारणा छ।’’ उहाँले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको विश्वास दिलाउनु भएको छ। ‘‘पूर्वाधार विकास र उत्पादन वृद्धिमा यहाँहरुको महत्त्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको छ। यहाँहरुलाई थाहनै छ। देश विकासका लागि पूर्वाधार विकास र विस्तार मात्रै साध्य होइन। ती त साधन मात्र हुन। तर, साधनको गुणस्तर भएन भने, तिनको उपयोग सहज भएन भने र जुन उद्देश्यका साथ पूर्वाधार विकास गरिएको सोको सदुपयोग भएन भने त्यसले उचित प्रतिफल दिन सक्दैन। त्यसैले पूर्वाधारको गुणस्तर, सहज प्रयोग र पूर्ण उपयोगमा समेत ध्यान दिन म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।’’उक्त अवसरमा मन्त्री कार्कीले मुलुकको पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानी सबैभन्दा महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गर्नुभयो।
श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
काठमाडौंका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल सम्मानित हुनुभएको छ।