• १५ असार २०८२, आइतबार

'बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बनाउने व्यवस्था गर्नुपर्छ'

blog

नेकपा (एमाले)की सांसद विद्या भट्टराई । तस्बिर : न्यूज एजेन्सी नेपाल ।

काठमाडाैँ, असार १५ गते । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो । 

उहाँले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यालय कर्मचारीको सम्बन्धमा पनि स्पष्ट कार्यसम्पादनको क्षेत्र निर्धारण हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, "उहाँहरूको योग्यताको आधारमा उहाँहरूलाई साधारण शिक्षक बनाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । यस्तो व्यवस्था गरेनौँ भने यो भार हुन्छ । यसतर्फ म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । उहाँहरूको योग्यतालाई कसरी उहाँहरूको योग्यतासँग जोड्ने भन्ने निष्कर्षमा हामी पुग्न सक्नुपर्छ ।"

बैठकमा बोल्ने अधिकांश सांसदहरूले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयाे ।