• १० मंसिर २०८१, सोमबार

अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारद्वय काफ्ले र आचार्य सम्मानित

blog

काठमाडौं, वैशाख २५ गते । अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरूको साझा संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एसोसिएसन (एन्जा) सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । सिड्नीमा न्यूसाउथवेल्स राज्यमा रही क्रियाशील समुदायका अग्रजहरूको उपस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।

सो अवसरमा एन्जाले अष्ट्रेलियामा कार्यरत पत्रकारद्वय हेमन्त काफ्ले र ऋषि आचार्यलाई टीका कार्की सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।  अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पत्रकारद्वय काफ्ले र आचार्यलाई पुरस्कार वितरण गर्नुभएको थियो । एन्जा स्थापनामा सक्रिय भूमिका खेलेका काफ्ले र आचार्यले जनही पाँच सय अष्ट्रेलियन डलर नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै एन्जाका पदाधिकारीसहित नेपाली समुदायका अगुवाहरूले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग जोड्न प्रवास पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो ।

कार्यक्रमको समापन गर्दै एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटाले अझ जिम्मेवारीका साथ पत्रकारिता गर्ने हौसला मिलेको भन्दै कार्यक्रममा सहभागिता जनाउने प्रमुख अतिथि, अतिथि, समुदायका अगुवालगायत एन्जा पदाधिकारीहरूलाई धन्यवाद दिनुभयो ।