• १५ असार २०८२, आइतबार

पाँच जना कृषक पुरस्कृत

blog

कृषि ज्ञान केन्द्र बागलुङबाट पुरस्कृत भएका पाँच जना उत्कृष्ट कृषकसँग सामूहिक तस्बिर लिँदै अतिथिहरू । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), असार १५ गते । बागलुङमा धान दिवसको अवसरमा पाँच जना कृषक पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र बागलुङले २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा आइतबार जिल्लाका उत्कृष्ट पाँच कृषकलाई पुरस्कृत गरेको हो । 

ज्ञान केन्द्रले ढोरपाटन नगरपालिका–१ को शिवम कृषि तथा फलफूल फर्मका सञ्चालक चन्द्रलाल पाण्डे, बागलुङ नगरपालिका–११ को सापकोटा गाईभैँसी पालन फर्मका सञ्चालक नन्दलाल जैसी, बागलुङ नगरपालिका–७ को ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक ओमराज शर्मा, बागलुङ नगरपालिका–४ को कालिगण्डकी पशुपालन तथा कृषि फर्मका सञ्चालक तिलोचन सापकोटा र ढोरपाटन नगरपालिका–७ को स्वरोजगार बहुउद्देश्यीय कृषि पशु फर्मका सञ्चालक हिमालकुमार पुनलाई सम्मान गरेको हो । 

उनीहरूलाई नगद १० हजार रुपियाँसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । कृषिमार्फत उत्कृष्ट कारोबार गर्ने कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको ज्ञान केन्द्रका प्रमुख सिलवालले बताउनुभयो ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले कृषकको अनुभवले गर्दा उत्पादनमा वृद्धि हुने र लाभ लिन सकिने बताउनुभयो । उहाँहरूले कृषकले उत्पादन गरेका सामग्रीलाई प्याकेजिङ र ब्रान्डिङ गर्दा बजारमा मूल्य पाउन सहज हुने बताउँदै कृषिजन्य उत्पादनलाई ब्रान्डिङ गरिनुपर्ने बताउनुभयो । 

प्रमुख थापाले राष्ट्रको विकासका लागि धान दिवस मनाइँदै आएको बताउनुभयो । उहाँले किसानको हातमा दाजु रहेको बताउँदै नेपाल कृषि प्रधान देश रहेकोले कृषिमार्फत आर्थिक विकास सम्भव रहेको बताउनुभयो । 

पुरस्कृत कृषक नन्दलाल सापकोटा, चन्द्रलाल पाण्डे, ओमराज शर्मा, तिलोचन सापकोटा र हिमालकुमार पुनले नेपालमै आम्दानी गर्न सकिने बताउँदै कृषिमा लाग्न नयाँ पींढिलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले सम्मानले हौसला र खुसी महसुस भएको बताउनुभयो । उहाँहरूले कृषकका लागि प्राविधिक सामग्री आवश्यक रहेकाले राज्य तहबाट प्राविधिक सहयोग गरिदिन माग गर्नुभएको थियो ।