मीना कंडेल
कावासोती, वैशाख २५ गते । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुरसहित गण्डकीका ११ वटा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित नवलपुर’ मूल नाराका साथ नवलपुरको सदरमुकाम कावासोतीमा पनि विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको छ ।
नवलपुरमा मात्र हप्तामा औसतमा दुई वटा ठूला दुर्घटना हुँदा एक जनाको मृत्यु हुनेगरेको छ । त्यसैले सडक दुर्घटनासम्बन्धी सचेतना बढाइ सात लाख मानिसमा सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।
दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔँ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिवारीको भनाइ छ । उहाँले भन्नुभयो, “विश्वमा हरेक वर्ष सवारी दुर्घटनाबाट १३ लाख ५० हजार मानिसले ज्यान गुमाउँछन् भने हरेक दिन तीन हजार ५ सयको सवारी दुर्घटनामा परी मृत्यु हुनेगरेको छ ।
नेपालमा दैनिक १२ जनाको सवारी दुर्घटनामा परी मृत्यु हुनेगरेको छ भने गत आर्थिक वर्षमा २८३ सवारी दुर्घटनामा १२० जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।” सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रचार पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सशस्त्र प्रहरी, विद्यार्थीलाई प्रशिक्षण, साना तथा ठूला सवारीमा स्टिकर टाँस गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण, ग्रामीण भेगमा सचेतनाका कार्यक्रम गरिने जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले जानकारी दिनुभयो ।
कार्यक्रममा समुदायको तल्लो तहसम्म सडक दुर्घटनासम्बन्धी सचेतना फैलाएर दुर्घटना न्यूनीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्माले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कार्यक्रमले व्यक्तिदेखि समाजसम्मलाई सुरक्षित ट्राफिक व्यवस्थापनका बारेमा प्रेरणा प्रदान गर्ने बताउनुभयो । ट्राफिक व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
दुर्घटनामा पर्नेमध्ये २४ प्रतिशत मोटरसाइकल, २३ प्रतिशत पैदल यात्रु र ३ प्रतिशत साइकल यात्रु रहने ट्राफिक प्रहरीको भनाइ छ ।