प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो ।
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
सरकारले जेठमा करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको हो । यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु आवमा सरकारले कुल चार खर्ब ५२ अर्ब ७५ करोड रुपियाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको थियो ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास) सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । प्रसारण लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ ।
एसियाली विकास बैङ्क (एडिबी) ले मेलम्ची खानेपानी आयोजनाको नयाँ ‘हेडवर्क्स’ निर्माणका लागि एक करोड ८० लाख (१८ मिलियन) अमेरिकन डलर अनुदान दिने भएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानी आयोजनाको अहिलेको ‘हेडवर्क्स’ पुरिइसकेकाले नयाँ ‘हेडवर्क्स’ निर्माण तथा मुहानस्थल सार्नका लागि एसियाली विकास बैङ्कले आयोजनालाई १८ मिलियन अमेरिकन डलर अनुदान दिने जानकारी दिनुभयो । सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेसँगै सिन्धुपाल्चोकको सर्कस्थली भन्ने ठाउँमा नयाँ मुहान स्थलको निर्माण सुनिश्चित भएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन् । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो ।
नियमित योग गर्नाले नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताइएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा विभागका महानिर्देशक डा. प्रदीप केसीले नियमित योग गर्ने मानिसलाई नसर्ने रोगको जोखिम कम हुने बताउनुभयो ।
सपक्क परेका सेता रौँ, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङका साथै झपक्क दारी तथा माउको विकसित ठुलो कल्चौँडो । यो पहिचान हो सानन बाख्राको । दुध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाईसमेत भन्ने गरिएको छ । बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वरप्रसाद यादवका अनुसार गाई, भैँसी पाल्न नसक्ने र सानो क्षेत्र, घाँसको अभाव भएका किसानले दुधका लागि सानन बाख्रा नै उपयुक्त हुन्छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतक स्थायित्वको पक्षमा रहेको आफनो पार्टीले वर्तमान सरकारको विकल्प बारेमा नसोचेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गर्नुभएको हो ।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि तीन वटै तहका सरकारले निमौण गरेको कानुन र नीति नियमको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा बक्ताहरुले जोड दिनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने बताउनुभएको छ।
हावाहुरीले बुधबार धनगढी स्थित घुँयाघाटमा क्षति पुर्याएको विद्युतीय पोल । हावाहुरीले घुँयाघाट, हङकङ रोड, कम्पनी टोललगायत विभिन्न स्थानका १० भन्दा बढी विद्युतीय पोलमा क्षति पुर्याएको धनगढी वितरण केन्द्रले जनाएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसहित ७ जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ।
श्री एयरलाइन्सले काठमाडौँ–भरतपुर परीक्षण उडान गरेको छ । श्री एयरलाइन्सको ८० सिटे जहाज बिहीबार काठमाडौँबाट भरतपुर विमानस्थलमा सफल अवतरण भएको हो ।