• १३ असार २०८१, बिहिबार

सन्धिखर्क–तम्घास प्रसारण लाइन तयार

blog

काठमाडौँ, असार ७ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास) सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । प्रसारण लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ । 

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि तीन वटा ३३ केभीका र चार वटा ११ केभीका फिडर निर्माण गरिएका छन् । त्यसमध्ये ३३ र ११ केभीका दुई/दुई वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रूपमा विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि मुख्य रूपमा गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताउनुभयो । 

“३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन विच्छेद (ट्रिपिङ) हुने, कम भोल्टेजलगायतको समस्या थियो । अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति हुन थालेपछि समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ,” उहाँले भन्नुभयो । 

सोही प्रसारण लाइनबाट विद्युत् प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेन्डर गरिएको छ, अन्य निजी क्षेत्रका जलविद्युत् आयोजना पनि जोडिने हुँदा यो प्रसारण लाइन त्यस क्षेत्रको ट्रङ्कलाइन हो । बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घाखाँची र गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेज समस्या थियो साथै प्राविधिक चुहावट पनि थियो । 

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ डबल सर्किट प्रसारण लाइन र १३२ केभी सन्धिखर्क सबस्टेसन निर्माण गरी २०७८ चैतबाट सञ्चालनमा आएपछि सोही सबस्टेसनबाट गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । बुटवलबाट भन्दा सन्धिखर्क सबस्टेसनबाट लगिएको ३३ केभी लाइन केही छोटो भए पनि गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुन सकिरहेको थिएन । अब तम्घास सबस्टेसनबाट विद्युत् आपूर्ति दिँदा लाइन छोटो हुने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।