• १४ असार २०८१, शुक्रबार

हिंसा न्यूनीकरणमा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक

blog

लैङ्गिक हिंसा न्यूनीकरणका लागि आयोजित कार्यक्रममा सहभागीहरु ।

धर्बेन्द्र झा

धनुषा, असार ६ गते । लैङ्गिक हिंसा न्यूनीकरणका लागि तीन वटै तहका सरकारले निमौण गरेको कानुन र नीति नियमको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा बक्ताहरुले जोड दिनु भएको छ । 

मधेश प्रदेश सरकार र इन्सेकको समन्वयमा समग्र जनउत्थान केन्द्रले मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार आयोजित लैङ्गिक हिंसा न्यूनीकरणका लागि अवको दिशा निर्देशनसम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिनुभएको हो । 

उहाँहरुले नियन्त्रणका लागि राज्यले विभिन्न प्रकारका कानून र नीतिहरु निर्माण गरे पनि त्यसको कार्यान्वयन फितलो भएको कारण मधेश प्रदेशमा अन्य प्रदेशभन्दा लैङ्गिक हिंसा बढदै गएको बताउनुभयो । खेलकुद तथा समाज कल्याण मन्त्रालयका समाज कल्याण महाशाखा प्रमुख देवकुमारी खत्रीले राज्यले महिला आर्थिक रुपमा सशक्त भएमा हिंसाका घटनाहरु कम हुन सक्ने भन्दै महिलालाई आर्थिक रुपमा सशक्त बनाउन राज्यले आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने बताउनुभयो । 

राष्ट्रि मानव अधिकार आयोग जनकपुरधामका प्रमुख मन्जु खतिवडाले लैङ्गिक हिंसामा परेका पीडितहरुले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि धेरै आयोगले अनुसन्धान गरी कारवाहीका लागि सम्बन्धित सरोकारवालालाई सिफारिस गर्नेगरेको भन्दै लैङ्गिक हिंसा हुन नदिन गैर सरकारी संघ संस्थाहरुले काम गर्नुपर्ने बताउनुभयो । 

इन्सेकका मधेश प्रदेश अध्यक्ष राजु पासवानले लैङ्गिक हिंसा न्यूनीकरणका लागि समय सापेक्ष कानुन र नीति निर्माणका लागि पहरेदारीको भूमिका निर्वाह गर्नुको साथै जनचेतना र कानूनी सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा सकारात्मक सोचको विकासका साथै सामाजिक व्यवहार परिवर्तनका विषयमा कार्यक्रम सञ्चालन हुनु पर्नेमा जोड दिनु भएको थियो ।