• १२ असोज २०८१, शनिबार

श्री एयरलाइन्सको परीक्षण उडान सफल

blog

शालिग्राम नेपाल 

चितवन, असार ६ गते ।  श्री एयरलाइन्सले काठमाडौँ–भरतपुर परीक्षण उडान गरेको छ । श्री एयरलाइन्सको ८० सिटे जहाज बिहीबार काठमाडौँबाट भरतपुर विमानस्थलमा सफल अवतरण भएको हो । 

सफल अवतरण पश्चात् सो जहाज पुनः काठमाडौँ फर्केको छ । जहाज परीक्षणको निरीक्षण गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङ भरतपुर आउनु भएको थियो । उडान परीक्षणका क्रममा कुनै समस्या नभएको श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मितलले जानकारी दिनुभयो । 

८० सिट क्षमता भएको जहाज पहिलो पटक भरतपुर विमान स्थलमा अवतरण गरेको छ । यसअघि ४२ सिट क्षमता भएको जहाज मात्र यहाँ अवतरण हुदैआएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि मात्र नियमित उडान भर्ने श्री एयरलाइन्सले जानकारी दिएको छ । 

उडान अनुमतिको प्रक्रिया पूरा गर्न केही महिना लाग्ने एयरलाइन्सले जनाएको छ । अहिले काठमाडौँ–भरतपुरमा बुद्ध एयरले मात्र उडान भर्दैआएको छ । बुद्ध एयरको ४२ सिटे जहाजले उडान भर्ने गरेको छ । भरतपुर–काठमाडौँको एकतर्फी भाडा चार हजार ८०० भन्दा बढी छ । श्री एयरलाइन्सले नियमित उडान थालेपछि हवाई भाडा घट्न सक्ने श्री एयरलाइन्सका प्रबन्ध निर्देशक मितलले जानकारी दिनुभयो । 

‘हवाई भाडा पक्कै घट्ने छ । तर, कति घट्छ भन्ने कुरा चाहिँ उडान भर्ने बेलामा जानकारी गराउँछौँ’, प्रबन्ध निर्देशक मितलले भन्नुभयो । भरतपुर विमानस्थल विस्तार र टर्मिनल भवनको निर्माण कार्य भइरहेको छ । गृहमन्त्री लामिछाने, पर्यटनमन्त्री तामाङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले निर्माणाधीन टर्मिनल भवनको निरीक्षण गर्नु भएको छ । 

विमानस्थल विस्तार भएपछि यहाँ रात्रिकालीन हवाई सेवा सुरु हुनेछ । ढिलोमा सन् २०२५ को सुरुवातदेखि विमानस्थल विस्तारको काम सुरु हुने बताइएको छ । विस्तारपछि विमानस्थलको रनवे १८ सय मिटरको हुनेछ ।

भरतपुर महानगर प्रमुख दाहालले ८० सिटे जहाजको सफल परीक्षणसँगै महानगरवासीको सपना साकार भएको बताउनुभयो ।  पर्यटनमन्त्री तामाङले एक वर्षभित्रै रनवे विस्तारको काम सुरु हुने जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले चितवन अथाह सम्भावना भएको जिल्ला भएको बताउँदै पर्यटकको सङ्ख्या बढाउनका लागि विमानस्थल विस्तारको कामले ठुलो सहयोग पुग्ने बताउनुभयो ।