सिन्धुलीका नौवटा स्थानीय तहमध्ये शुक्रबारसम्ममा छवटामा डेङ्गु रोगको सङ्क्रमण देखिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक तथा कोभिड–१९ फोकल पर्सन डा. सागर देवकोटाका अनुसार हालसम्म जिल्लामा ९५ जनामा डेङ्गु रोग सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७२ जना बिरामी रहेका छन् ।
कक्षा ४ मा अध्ययनरत समीक्षा जिरेल बिहान ८ बजे नै विद्यालय जान तयार हुनुहुन्छ । उहाँलाई विद्यालय पुग्न करिब डेढ घण्टा लाग्छ । बर्खायाममा दिउँसो कक्षा चलिरहेको बेला पानी पर्दा शिक्षकले पढाएको विद्यार्थीले नसुनेपछि आजभोलि दिनहुँजसो पढाइ रोकिने गरेको छ । २०७२ को भूकम्पपछि पठनपाठनका लागि जस्ताको अस्थायी टहरो बनाइएको थियो । नयाँ भवनको आशामा रहेका जिरी माविका विद्यार्थी अझै तिनै टहरामा बसेर पढ्न बाध्य छन् । भूकम्पले २०१७ सालमा बनेको जिरी नगरपालिका–६ स्थित जिरी माध्यमिक विद्यालयको भवन भत्किएको सात वर्ष बितिसक्दा पनि नयाँ भवन नबन्दा पढाइमा बाधा पुगिरहेको छ । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा ६६५ जना विद्यार्थी अध्ययनरत छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा होमियोप्याथी चिकित्सा विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । इन्डो नेपाल होमियोप्याथी सम्मेलनकोे आइतबार उद्घाटन गर्दै स्वास्थ्यमन्त्री खापुङले पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दै गएको बेला होमियोप्याथी उपचार पद्धति सस्तो देखिएकाले यसलाई विकास गर्नुपर्ने बताउनुभयो ।
प्रदेश र सङ्घीय निर्वाचनमा मधेशी दलितको प्रतिनिधित्व सुनिश्चितताको माग गरिएको छ। दलित सरोकार मञ्च नेपालले आइतबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कानुनले प्रष्ट व्यवस्था नगरेको कारण मधेशी दलितको प्रतिनिधित्व कम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समानुपातिकतर्फ १३.८ प्रतिशत आरक्षण कोटामा एउटै जातिलाई सिफारिस गरेमा पनि हामी बदर गर्न सक्दैनौँ।” संविधानमा राज्यका सबै निकायमा दलितलाई समानुपातिक÷समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था छ।
केन्द्रीय सुरक्षा समितिको बैठकले दार्चुला जिल्लामा गएको बाढी पहिरोमा परी घाइते र विस्थापित भएकालाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय गरेको छ। दार्चुलामा तीन दिनअघि बाढी पहिरो गएको थियो। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो। विपद्बाट प्रभावितलाई खाद्यान्न सडकबाट पु¥याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य पु-याउने निर्णयसमेत बैठकले गरेको छ।
सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक सोमबार बस्ने भएको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल समानुपातिक बन्दसूचीको मनोनयनअघिसम्म मात्र कायम रहने वक्तव्यको बेहोरासहितको पत्र सङ्घीय संसद्मा पठाएको छ । सामान्यतया जनप्रतिनिधिमूलक संस्थाले नै कानुनबाट विधायिकाको कार्यकाल निर्धारण गर्नुपर्ने भए पनि आयोगले कार्यकालबारेको पत्र संसद्लाई पठाएको हो । सरकारले यसअघि कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट पार्न भन्दै विधेयक ल्याए पनि पछि हटेको थियो । उक्त विधेयकबारे पनि आयोगले आपत्ति जनाएको थियो ।
काठमाडौँ महानगरपालिका–६, बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपन क्षेत्रस्थित यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काए मात्रै बाढीको दीर्घकालीन समाधान हुने सुझाव जलस्रोत विज्ञहरूले दिनुभएको छ। बाढीमा समस्या सुरु हुनुको कारण अध्ययन गरी दीर्घकालीन समाधानका लागि यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काउनु उचित हुने बताउनुभएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रस्तावित धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी छलफलमा पानीको बहाव, खोलाको बाटो र अतिक्रमित क्षेत्रको बस्तीको समग्र अध्ययनमार्फत नयाँ कार्यक्रम निर्माण गर्नुपर्ने उहाँहरूको भनाइ छ।
छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ भदौ २९ गतेसम्म नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने कार्यक्रम रहेको छ । सोमबार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ । वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्याय प्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पु-याउन सक्ने सम्भावित सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुहुने भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेश कार्यालयका तत्कालीन दुई जना कार्यालय प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दैलेखको चामुण्डा विन्द्रासैनिक नगरपालिकास्थित चामुण्डा माध्यमिक विद्यालयमा परिषद्बाट तालिम सञ्चालनका लागि निकासा भएको रकममा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको हो। तालिम सञ्चालनका लागि परिषद्बाट निकासा भएको रकम मिलेमतोमा विद्यालयले सञ्चालन नगरी निजी कम्पनीलाई दिइएको, यसरी तालिम सञ्चालनको जिम्मा दिँदा न्यूनतम सर्त पनि पूरा नगरेको आयोगको दाबी छ। मुद्दा दायर गरिएकामा तत्कालीन कार्यालय प्रमुख भीमकान्त लामिछाने, मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाया, दैलेखको चामुण्डा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमल्सिना, विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही रहेको अख्तियारले जनाएको छ।
सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजनाको ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐनबमोजिम नभएको ठहर गरेको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको समितिको बैठकले ठेक्का व्यवस्थापन कार्यमा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ। समितिका सभापति कल्याणीकुमारी खड्काका अनुसार आगामी दिनमा यस्ता कमीकमजोरी नदोहोरिने गरी आयोजनाको काम अगाडि बढाउनसमेत समितिले निर्देशन दिएको छ। मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो आयोजना निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गर्नुभएको हो। उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गर्नुभएको हो। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गर्नुभयो।
भक्तपुर, भदौ २६ गते। मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ। येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो। दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो। योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो। मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो। यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ। माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ। परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो। स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो। जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं ९जामा० लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो। जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ। बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ। बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ।संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ। यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ।”शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताउनुभयो। जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर् याइएको थियो। डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो। धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन्। आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ। आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु ९सुइरो० लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ। यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन। मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ। त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७–१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन्।शनिवार राति ९ बजे श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्नुभएको हो। उहाँले यसअघि विसं २०७४ मा जिब्रो छेडाउनुभएको थियो। धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो। त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो। विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो। जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो। त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन्। त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन्।
गुल्मीमा प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको छ। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा वर्षेनी आर्थिक दायित्व बढ्दै गएपछि प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको हो।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आइतबार चौंथो दिन बयान दिनुभएको छ। बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ।