• १२ साउन २०८१, शनिबार

यज्ञमती र चखुँचा ‘खोलामा पसेको बस्ती’

खोला कायम गर्न विज्ञहरूको सुझाव

blog

काठमाडौँ, भदौ २७ गते । काठमाडौँ महानगरपालिका–६, बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपन क्षेत्रस्थित यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काए मात्रै बाढीको दीर्घकालीन समाधान हुने सुझाव जलस्रोत विज्ञहरूले दिनुभएको छ। 

बाढीमा समस्या सुरु हुनुको कारण अध्ययन गरी दीर्घकालीन समाधानका लागि यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काउनु उचित हुने बताउनुभएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रस्तावित धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी छलफलमा पानीको बहाव, खोलाको बाटो र अतिक्रमित क्षेत्रको बस्तीको समग्र अध्ययनमार्फत नयाँ कार्यक्रम निर्माण गर्नुपर्ने उहाँहरूको भनाइ छ। 

गोरखापत्र दैनिकमा यज्ञमती र चखुँचाखोला अतिक्रमणको विषयमा ‘खोलामा पसेको बस्ती’ शृङ्खला प्रकाशित भएपछि सहरी विकास मन्त्रालयले खोला संरक्षण गरी डुबानको स्थायी समाधान निकाल्न सरोकारवाला र जलस्रोत विज्ञहरूसँग छलफल थालेको हो। 

विज्ञहरूले यज्ञमती र चखुँचाखोलासँगै काठमाडौँमा अतिक्रमणमा परेका अरू नदीनालालाई पनि आफ्नै स्वरूपमा बग्न दिने गरी बृहत्तर गुरुयोजना निर्माण गर्न सुझाव दिनुभयो। प्राडा. जीवराज पोखरेलले पाँचौँ शताब्दीभन्दा पहिले निर्मित पोखरी अहिले मेटिने अवस्था आएको बताउँदै सरकारले प्रयास गरे नदी र खोलाको संरक्षण सम्भव हुने बताउनुभयो। 

उहाँले यज्ञमती र चखुँचाखोलाको सन्दर्भमा पनि स्थायी समाधानका लागि गुरुयोजना निर्माण गर्न सुझाव दिनुभयो। विज्ञहरू प्राडा. नरेन्द्रमान शाक्य र पद्मसुन्दर जोशीले आयोजना निर्माण गर्दा खोला कायम गर्ने विषयमा प्रष्ट हुनुपर्ने बताउनुभयो। 

प्राडा. शाक्यले भन्नुभयो, “खोला मासेर बस्ती विस्तार गर्न दीर्घकालीन रूपमा असर हुने भएकाले यसको स्थायी समाधान खोज्नुपर्छ।” डा. सञ्जय उप्रेतीले सहरहरू बहुविपद्को जोखिममा रहेको बताउँदै कपनको माथिल्लो क्षेत्रमा पहिरोको समस्या आउन सक्नेतर्फ सचेत हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “बाढीको जोखिमको दृष्टिगत गरी अध्ययन अनुसन्धानमार्फत समाधान निकाल्नुपर्छ। पानीको बहावमा अवरोध भए त्यसको परिणाम भयावह हुनसक्छ।”

डा. चिरञ्जीवी भट्टराई र विज्ञ प्रकाशचन्द्र घिमिरेले कपन क्षेत्रको जमिनको जल भू–विज्ञानको अवस्था कस्तो भन्ने विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो। डा. भट्टराईले विगतको अवस्थाको विश्लेषण गरी तथ्य तथ्याङ्कको अध्ययन गरी त्यसका आधारमा गुरुयोजना तयार गर्न सुझाव दिनुभयो।घिमिरेले खोलाले आफ्नो बाटोमा बग्न पाउनुपर्ने बताउँदै आफ्नो बाटोमा बग्न पाए नोक्सानी नगर्ने र अवरोध भए अवस्था गम्भीर हुने बताउनुभयो।

अध्ययन सुरु गरिने

सहरी विकासमन्त्री मेटमणि चौधरी र नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले यज्ञमती र चखुँचाखोलाको विषयमा अध्ययन सुरु गर्ने बताउनुभयो। मन्त्री चौधरीले पानीको व्यवस्थापन गर्न विज्ञहरूको सुझावका आधारमा दीर्घकालीन समाधानका लागि गुरुयोजना निर्माण गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “जसरी हुन्छ, समाधान निकालौँ। स्थलगत रूपमा जाऔँ। मेरो सहयोग शतप्रतिशत साथ रहन्छ।”

महामन्त्री थापाले कपनमा बाढी र डुबानको समस्याको स्थायी समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले २०७२/०७३ देखि बाढीको समस्या सुरु भएको बताउँदै अब नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीसँग पनि छलफल भएको छ। 

उहाँले भन्नुभयो, “गुरुयोजना निर्माण गर्छौं। विज्ञहरूलाई बोलाएर छलफल र स्थलगत अध्ययन गर्छौं। खोलाको नक्सा के हो ? क्षेत्र कति हो भन्ने विषयमा अध्ययन गरेर समाधान निकाल्छौँ।” उहाँले खोलाको बहाव क्षेत्र खोलाकै रूपमा राखिएमा निजी घरजग्गाको संरक्षण कसरी गर्ने भन्ने सन्दर्भमा सोच्नुपर्ने बताउनुभयो।