• १५ असार २०८१, शनिबार

डेङ्गु सङ्क्रमण फैलिँदै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ २७ गते । सिन्धुलीका नौवटा स्थानीय तहमध्ये शुक्रबारसम्ममा छवटामा डेङ्गु रोगको सङ्क्रमण देखिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक तथा कोभिड–१९ फोकल पर्सन डा. सागर देवकोटाका अनुसार हालसम्म जिल्लामा ९५ जनामा डेङ्गु रोग सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७२ जना बिरामी रहेका छन् ।

डा. देवकोटाले भन्नुभयो, “अस्पतालमा आएका बिरामीमध्ये हरेक दिन दुई÷तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।” हालसम्म सङ्क्रमण देखिएका बिरामीमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौँ पठाएको र बाँकी बिरामी घरमै बसेर उपचार गराइरहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार पछिल्लो दुई महिनाको अवधिमा ती बिरामी देखिएका हुन् । 

डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएपछि स्थानीय तहले पनि सतर्कता अपनाउन सुरु गरेका छन् । दुधौली नगरपालिका स्वास्थ्य शाखा संयोजक जगदिश मण्डलले लामखुट्टे नियन्त्रणका लागि नगरपालिकाले खटाएको टोली घरघरमा पुगेर विषादी छर्किन (स्प्रे) सुरु गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “शनिबार वडा नं. ९ बाट उक्त विषादी छर्किन सुरु गरेका छौँ, त्यसका लागि ४५ जनाको टोलीलाई ट्याङ्की र विषादी दिएर पठाएका छौँ । लामखुट्टे बस्ने सम्भावित ठाउँमा विषादी छर्किने छन् । सबै ठाउँमा विषादी छर्किन १५ दिन जति लाग्छ ।” नगरपालिकाको डेङ्गुको जोखिम रहेको कमलाखुँज क्षेत्रका ११ वटा वडामा विषादी छर्किने योजना रहेको उहाँले बताउनुभयो ।