शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन्। जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन्। आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा एकाएक घटेको सङ्ख्या गत आर्थिक वर्षमा बढोत्तरी भएको हो। आर्थिक वर्ष २०७६/७७ मा एक हजार ७७५ जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए। जसमा ३९ महिला र ६१ पुरुष गरेर एक सय विदेशी नागरिक, २१ महिला र ५१ पुरुष गरेर ७२ जना सार्क राष्ट्रका र ६२१ महिला र ९८२ पुरुष गरेर एक हजार ६०३ जना रहेका थिए।
बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन्। नेपाल–भारत सीमा नाका झुलाघाट पुगेर छ दिन पालो कुरेर पेन्सन लिनुपर्ने बाध्यता उनीहरूको छ। भारतीय सेना गोरखा रेजिमेन्टबाट सेवा निवृत्त आठ सय जनाभन्दा बढीले झुलाघाट पारिको भारतीय बैङ्कबाट पेन्सन बुझ्दै आइरहेका छन्। भारतीय स्टेट बैङ्क (एसबीआई बैङ्क), उत्तराखण्ड ग्रामीण बैङ्क र पोस्ट अफिस झुलाघाटले भारतीय सेनाबाट अवकाश पाएकालाई पेन्सन दिँदै आइरहेको छ।
जिल्लाका विपन्न समुदायका विद्यार्थी बिदाको समयमा मजदुरी गर्न भारतको कालापहाड जाने गरेका छन्। भारतमा मजदुरी गरी कमाएर विद्यालय पोसाक, स्टेसनरी र पढाइ शुल्क तिर्ने गरेको उनीहरूले बताएका छन्।
हेटौँडा उपमहानगर क्षेत्रमा सञ्चालन हुँदै आएका तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापन सुरु गरिएको छ। मुख्य बजार क्षेत्रमा तीनपाङ्ग्रे सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण र दुर्घटनाको जोखिम बढ्दै गएपछि उपमहानगरपालिकाको अगुवाइमा तीनपाङ्ग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरिएको हो।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान अवतरण गर्नुभएको छ । शनिबार विहान अध्यक्ष प्रचण्डलाई टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गर्नुभएको छ ।
पशु कल्याण विधेयक तयार गर्न सरकारले सैद्धान्तिक सहमति प्रदान गरेको नौ महिनाभन्दा बढी भइसक्यो तर हालसम्म यो ऐनको मस्यौदा पनि तयार भएको छैन । सरकारले सैद्धान्तिक सहमति दिइसकेपछि त्यसको मस्यौदा तयार गर्ने काम कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको हो तर झन्डै एक वर्ष बित्दा पनि चासो नदेखाइँदा विधेयक तयार हुन नसकेको हो ।
सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह सञ्चार (ग्रुप कम्युनिकेसन) र आमसञ्चार (मास कम्युनिकेसन) बाट फरक छुट्ट्याएर सार्वजनिक सञ्चार (पब्लिक कम्युनिकेसन) को तह पनि उल्लेख गरेको पाइन्छ तर अधिकतर सञ्चारविद्ले सञ्चारका माथि उल्लेखित पाँच तहलाई नै मानेको देखिन्छ। यिनमा सबैभन्दा प्रारम्भिक तहमा अन्तरनिहीत सञ्चार प्रक्रिया रहेको छ भने सबैभन्दा माथिल्लो तहमा आमसञ्चार प्रक्रिया रहेको छ। समाजको आधारभूत एकाइ व्यक्तिका तहमा हुने सञ्चार प्रक्रिया अन्तरनिहीत वा आन्तरिक प्रकृतिको हुन्छ भने बृहत्तर जनसङ्ख्याका लागि सञ्चारमाध्यमको प्रयोग गरी आमसञ्चार प्रक्रिया सम्पन्न गरिन्छ।
२०७९ साल साउन ४ गते बुधबार प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट २०७५ फागुनमा पारित गरेको ज्येष्ठ नागरिकको हक, अधिकारसम्बन्धी विधेयक पारित गरेको छ। यो विधेयक पारित भएर कार्यान्वयनमा आएपछि आमाबाबुलाई वृद्धाश्रममा फाल्ने प्रवृत्तिमा सुधार हुने अपेक्षा गर्न सकिन्छ। ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले पारित गरेपछि नेपाली समाजको वर्तमान अवस्था र विगतमाथि घोत्लिन बाध्य बनाएको छ।
सङ्खुवासभाको विकट क्षेत्र भोटखोला गाउँपालिकामा माथिल्लो अरुण जलविद्युत् परियोजना (१०६१ मे.वा.) बन्ने निश्चित भएको छ। यस परियोजनालाई नेपाल सरकारले रूपान्तरणकारी योजनाका रूपमा अघि बढाएको छ । परियोजनाको पावर हाउसदेखि बाँध निर्माणस्थलसम्म पुग्ने करिब २१ कि.मि. लामो पहुँचमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अन्तिम चरणमा पुगेको र पहुँच मार्ग निर्माणकर्ता छनोटको निमित्त ठेक्का आह्वान भइसकेको छ। यो परियोजना नेपाल सरकार आफैँले निर्माण गर्ने निर्णय भई नेपाल विद्युत् प्राधिकरणलाई यसको अगुवाइ गर्ने जिम्मेवारी दिइएको हुँदा परियोजनाका लागि आवश्यक लगानी सुनिश्चित गर्न नेपाल सरकारबाट लगानीकर्तासँग छलफल भइरहेको र यो प्रक्रियासमेत लगभग अन्तिम टुङ्गोमा पुग्ने अवस्थामा रहेको बुझिएको छ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा रामेश्वरप्रसाद सिंहको ठूलो योगदान छ। उहाँको जन्म सप्तरी जिल्लाको कोइलाडी बरसाइन गाउँमा पिता सुब्बा सत्यनारायण सिंहको पुत्रका रूपमा वि.सं. १९६७ मङ्सिरमा भएको थियो। उहाँको शिक्षादीक्षा सीमावर्ती भारतीय सहर सुपौलमा भएको थियो। त्यतिबेला भारतीय स्वतन्त्रता आन्दोलन चलिरहेको थियो। महात्मा गान्धी र लोकमान्य गङ्गाधर तिलक जस्तो राष्ट्रियस्तरका नेताको व्यक्तित्वबाट प्रभावित भई उहाँमा पनि राजनीतिक चेतनाको विकास भएको थियो। नेपालमा पनि एकतन्त्रीय, निरङ्कुश राणातन्त्र समाप्त गरी प्रजातन्त्र ल्याउन उहाँको पनि ठूलो योगदान छ।
घोराही उपमहानगरपालिका–१३, कलमघारीका रेशमबहादुर राणासँग अहिले १५० घार मौरी छन् । मौरीपालनमा मेहनतअनुसार राम्रै कमाइ हुने भएकाले राणाले बर्सेनि मौरी बढाउँदै आउनुभएको थियो । मौरी बढ्दै जाँदा उत्पादन पनि बढेको थियो तर उत्पादन भएको मह बिक्री नहुँदा उहाँ समस्यामा पर्नुभएको छ । “गएको वर्ष मह उत्पादन राम्रो भएको थियो तर अहिलेसम्म मह बिक्री भएको छैन । अब फेरि मह उत्पादन हुने सिजन सुरु हुने बेला भइसक्यो,” राणाले भन्नुभयो ।
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैङ्कको खुद मुनाफा तीन अर्ब ७९ करोड रुपियाँ मात्रै थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ। केन्द्रले हालै सूचना जारी गरी चालू आर्थिक वर्षको बजेटमा विद्यालय शिक्षा क्षेत्र योजनातर्फ ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्त नगर्न भनेको हो। केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ को स्वीकृत बजेट र अनुदान कोटाभन्दा बढी शिक्षक नियुक्ति नगर्न नगराउन निर्देशन दिएको छ।
दुईवटा स्थानीय तहले पुल निर्माणका लागि नीति तथा कार्यक्रममा नै ३०/३० लाख रुपियाँ विनियोजन गरे पनि सम्बन्धित निकायले ठेक्का रद्द नगरिदिँदा मोरङको कानेपोखरी–रङ्गेली सडक खण्डअन्तर्गत कानेपोखरी– २ को गेउरिया खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अलपत्र छ। यो पुल दुई पालिकाको सिमानामा पर्छ।