• २४ साउन २०७९, मङ्गलबार

सम्मानको संस्कृति हराउँदै गएपछि

blog

२०७९ साल साउन ४ गते बुधबार प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट २०७५ फागुनमा पारित गरेको ज्येष्ठ नागरिकको हक, अधिकारसम्बन्धी विधेयक पारित गरेको छ। यो विधेयक पारित भएर कार्यान्वयनमा आएपछि आमाबाबुलाई वृद्धाश्रममा फाल्ने प्रवृत्तिमा सुधार हुने अपेक्षा गर्न सकिन्छ। ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले पारित गरेपछि नेपाली समाजको वर्तमान अवस्था र विगतमाथि घोत्लिन बाध्य बनाएको छ। 

नेपाली समाज भ्रष्ट हुँदै गएको छ । जब मानिसको आचरण भ्रष्ट हुन्छ तब उसले आफूबाहेक केही देख्दैन। नेपालमा अहिले यस्तै एकलकाँटेको जमात बढिरहेको छ। समूहमा बस्नुपर्ने सामाजिक प्राणी मानिस आज एकल हुँदै आफ्नो मानवीय गुणवत्ता नै गुमाउँदै गएको छ। यसैको परिणाम हो संयुक्त परिवारमा सुख–दुःखमा हातेमालो गर्दै ठूलाको आशीर्वाद र मार्गदर्शन, सँगैकाको सहयात्रा अनि सानाको सम्मान पाउनै सकेको छैन। आफैँ जान्ने–सुन्ने बनेर दिग्भ्रमित हुँदै पश्चिमाको गलत बाटो अपनाएर पशुसमानको जीवन बिताइरहेको छ र मानवता हराउँदै गएको छ।

जब मानिसले आफ्नो जननी माता–पितालाई नै जीवनको सबभन्दा ठूलो बोझ ठानेर सडकमा लगेर मिल्काउँछन् भने ऊ मानव हुन लायक नै मानिँदैन। मानव हुनुको केही खास अर्थ, परिभाषा र गुण हुन्छन्। त्यसमा संवेदनशील भावना, दया, करुणा, माया, चेतना अनि विवेकद्वारा मात्रै मानिस मानिस भएको हो। आफ्नो मात्र स्वार्थ हेर्ने त पशु हो। नेपाली समाजमा आज यस्तैहरूको बाहुल्यता छ। जसको परिणाम बाबुआमाको सम्पत्ति खाने उनीहरूलाई सडकमा मिल्काउने परिपाटी बढिरहेको छ।

हामी सबैले बुझ्नुपर्ने के हो भने बाबुआमाको सम्पत्तिले सुविधा भोग्ने, समाजमा धक्कु लगाउन सक्ने हैसियत बनाउने, तर तिनै बाबुआमाको हेरचाह नगर्ने प्रवृत्ति नेपाली संस्कार, संस्कृति र अभ्यास हुँदै होइन। मुलुकमा भित्रिएका अनेक विकृतिको पहाडसँगै यो पनि एउटा विकृतिका रूपमा नेपाली समाजलाई भताभुङ्ग पार्न नियोजित रूपमा भिœयाइएको हो। विगतमा असहाय भएका, अर्थात् हेरचाह गर्ने कोही नभएकाका लागि सरकारले वृद्धाश्रम खोलेको थियो। आजभोलि ‘ओल्डेज केयर होम’को नाममा व्यापार फस्टाएको छ। बाबुआमाको सम्पत्तिमा मोज गर्न पल्केकाहरू बाबुआमालाई त्यस्ता केयर हाउसमा लगेर पैसा तिरेर थुपार्ने गरेका छन्। जुन कुरा वृद्ध बाबुआमाका लागि कदापि सहन सक्ने विषय होइन। 

बुढेसकालको सहारा भनेको परिवार नै हो र त्यसमा पनि छोरा–छोरी, नाति–नातिना हुन्। अहिले तिनै सहारा बन्नुपर्नेहरू मासिक शुल्क तिरेर बाबुआमालाई व्यापारिक वृद्धाश्रममा लगेर राख्ने गर्दछन् कतिपय भने सडकमा लगेर छाडिदिने पनि गरेका छन्। यो विकृत मानसिकताको घृणित सोच र व्यवहार हो। हेरचाह भनेको दुई छाक खान दिनु मात्र होइन, उनीहरूको भावनाको कदर गर्नु, सम्मान गर्नु पनि हो।

कुनै पनि मुलुकको आफ्नै संस्कार, संस्कृति, सभ्यता र संरचना हुन्छ। नेपालको संस्कार, संस्कृति, सभ्यता र संरचना संयुक्त परिवार हो। विगतमा परिवार संयुक्त थियो, मानिस सुखी थिए, आनन्दित थिए तर आज आधुनिक समयको नाममा बूढाबूढी हेँलाका पात्र हुन थालेका छन्। जीवनभर सन्तानका लागि भनेर हड्डी खियाएका उनीहरू आज छोराछोरीकै दुव्र्यवहारको सिकार भएर जीवनको अन्तिम घडीमा आएर सहाराविहीन बन्नुपर्ने अवस्था आएको छ। यसको अन्त्यका लागि सरकारले ल्याएको विधेयक सराहनीय छ। 

नेपाली सभ्यतालाई आत्मसात् गरिएको भए, नेपालको धर्म, संस्कृति र परम्पराको संरक्षणमा चासो राखिएको भए आज बाबुआमाको हेरचाह गर्नैपर्ने कानुन बनाउनुपर्ने नै थिएन। आधुनिकता र परिवर्तनको नाममा चलिआएका संस्कार, संस्कृतिमाथि जसरी धावा बोलियो यो त्यसैको उपज हो। बाबुआमालाई देवतुल्य मानेर सम्मान गर्ने, आफ्नो हैसियतअनुसार उनीहरूको स्याहार–सुसार गर्ने परम्परा नै थियो र अहिले पनि छ। यस्ता कानुन अझै पनि अधिकांशका लागि आवश्यक पर्दैन। सहरमा बस्ने, पढेलेखेका भनिएका, अति आधुनिक भनाउन रुचाउनेहरू नै बाबुआमालाई बोझ ठान्ने हुन्। सहरको तुलनामा ग्रामीण भेगमा अझै पनि बूढाबूढी पिँढीको डिलमा बसेर घर रुँगेर आनन्दले नाति–नातिना खेलाएर बसेकै हुन्छन्, उनीहरू खुसी छन्, सुखी छन्। सहरमा यस्तो छैन र अब बिस्तारै गाउँघरतिर पनि यस्तै समस्या सल्कन थालेको छ। 

वैदेशिक रोजगारीले जीवनशैली बदलियो, नेपालीको स्तर उकासियो भनिन्छ र सरकारहरू यस्तै तथ्याङ्क पेस गरेर मुलुक धनी हुँदै गएको, सहरमा बस्नेहरूको सङ्ख्या बढ्दै गएको भनेर मख्ख छ। यसले ल्याएको सामाजिक–पारिवारिक विचलनको भेउ नै पाउन सकेको छैन। नेपालमा अहिले जेजस्ता समस्या उत्पन्न भएका छन् ती सबै आयातीत संस्कृतिका उपज हुन्। यसलाई निमिट्यान्न पार्न कानुनसँगै आफ्नोपनको आभास हुने गतिविधि पनि सञ्चालन गर्नुपर्छ।

विशेष गरी ज्येष्ठ नागरिकको हेरचाह, भरणपोषणको हकमा हामीले पुरानो मान्यता, अभ्यास र संस्कारलाई स्थापित गराउनुपर्छ। नेपाली समाजमा अहिले पनि कागजी रूपमा वा अवसरमा ‘मातृदेवो भवः पितृदेवो भवः’ अर्थात् बाबुआमा नै भगवान् हुन् भनेर मानिन्छ, पुकारिन्छ। यही मान्यता पुनः स्थापित गर्नुपर्छ। यसो गर्न सकियो भने नेपाली समाजमा विगतको सहिष्णुता, पारिवारिक मेल, सामाजिक 

सद्भाव सबै एकाएक पुनः प्रकट हुनेछ। समाज कतिसम्म भाँडिएको छ भने आज बाबुआमालाई त बोझ ठानेर बाहिर मिल्काउनेहरूको बाहुल्य रहेको समाजमा छिमेक वा अन्यत्रको समस्या समाधानका लागि कोही अघि सर्दैनन्। अरू त अरू अहिले मलामी जानेको सङ्ख्यासमेत न्यून हुन थालेको छ। जन्ती जाने र भोज खान जानेहरूको भने कमी हुँदैन। कुनै घरमा शोक प-यो भने त्यहाँ जानेको सङ्ख्या हातका औँलामा गन्न पुग्छ तर त्यही घरमा भोज भयो भने खान जानेको सङ्ख्या कति हो कति ? यही हो असामाजिक चरित्र र प्रवृत्ति। 

सूचना प्रविधिको विकासले भित्रिएको अनेक विकृति, विसङ्गति र भ्रमपूर्ण सामग्रीमा आकर्षित भएर धन कमाउने लोभ, सान–सौकतको कथित आकाङ्क्षाले मानिसलाई समाजबाट एक्ल्याउँदै लगेको छ। जवानी र शरीरमा तागत रहँदासम्म एक्लै बस्न खोजे पनि बुढेसकालमा त सहारा अवश्य चाहिन्छ भन्ने अहिलेको पुस्ताले बुझ्नै चाहेको छैन। आज आफू तन्नेरी भएको घमण्डमा वृद्ध बाबुआमालाई बोझ ठान्नेहरूले भोलि आफू बूढा भएपछि आफ्ना सन्तानले पनि त्यही गर्दैनन् भन्ने सोच्नै सकेका छैनन्।

यस्तो प्रवृत्ति निरुत्साहित गर्न प्रारम्भिक तहदेखि नै आफ्नोपनको शिक्षा दिनु आवश्यक छ । कानुनी प्रावधानले मात्रै केही हुनेवाला छैन। संसद्ले पारित गरेको विधेयकले एक हदसम्म ज्येष्ठ नागरिकको बुढेसकाल कष्टप्रद नहुन सक्छ । अपेक्षा तत्काल लालमोहर लगाएर कडाइका साथ कार्यान्वयनमा जानु आवश्यक छ। जसरी राष्ट्रिय सभाबाट पारित भएर फर्केको चार वर्षपछि मात्र प्रतिनिधि सभाबाट पारित भयो, यसमा लालमोहर लगाउन पनि त्यति नै वर्ष लाग्यो भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुनेछ। यसबीचमा सयौँ वृद्धवृद्धा कष्टकर जीवन बिताउँदै धर्तीबाट विलिन हुनेछन्।