• २४ साउन २०७९, मङ्गलबार

सञ्चारका तहहरू

blog

सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह सञ्चार (ग्रुप कम्युनिकेसन) र आमसञ्चार (मास कम्युनिकेसन) बाट फरक छुट्ट्याएर सार्वजनिक सञ्चार (पब्लिक कम्युनिकेसन) को तह पनि उल्लेख गरेको पाइन्छ तर अधिकतर सञ्चारविद्ले सञ्चारका माथि उल्लेखित पाँच तहलाई नै मानेको देखिन्छ। यिनमा सबैभन्दा प्रारम्भिक तहमा अन्तरनिहीत सञ्चार प्रक्रिया रहेको छ भने सबैभन्दा माथिल्लो तहमा आमसञ्चार प्रक्रिया रहेको छ। समाजको आधारभूत एकाइ व्यक्तिका तहमा हुने सञ्चार प्रक्रिया अन्तरनिहीत वा आन्तरिक प्रकृतिको हुन्छ भने बृहत्तर जनसङ्ख्याका लागि सञ्चारमाध्यमको प्रयोग गरी आमसञ्चार प्रक्रिया सम्पन्न गरिन्छ।

कुनै पनि व्यक्तिमा आन्तरिक रूपमा सम्पन्न हुने सञ्चार प्रक्रिया (जस्तैःमनोवाद)लाई अन्तरनिहीत वा आन्तरिक सञ्चार भनिन्छ। यसमा सन्देश वा सूचनाका रूपमा विचार, अनुभूति, भावना आदि रहन्छन् भने स्नायु प्रणालीले सरणि वा माध्यमको भूमिका निर्वाह गरिरहेको हुन्छ। हामी अरू व्यक्तिसँग मात्र सञ्चार गर्दैनौँ, बरु आफैँसँग पनि सञ्चार गरिरहेका हुन्छौँ। एक्लै बस्दा मनमा तर्क–वितर्क गर्नु, मनमनै कुनै कुरा सोचिरहनु यसको उदाहरण हो। हाम्रो शरीरको एक अङ्गमा कुनै असर प-यो भने त्यो कुरा हामी अनुभूति गर्न सक्दछौँ। जस्तै, बाटोमा हिँड्दा खुट्टामा काँडा गड्यो भने खुट्टामा भएका नसाले त्यो कुरा मस्तिष्कमा पु-याइहाल्छन् र हामीलाई काँडा गडेको कुरा तत्काल थाहा भइहाल्छ। यसरी मानव शरीरमा आन्तरिक रूपमा पनि सञ्चार प्रक्रिया चलिरहेको हुन्छ। 

दुई व्यक्तिबीच सम्पन्न हुने सञ्चार प्रक्रियालाई अन्तरव्यक्ति सञ्चार भनिन्छ। यस्तो सञ्चार बोलेर, इसारा गरेर, देखाएर वा छोएर पनि हुन सक्दछ भन्ने विद्वान्हरूको मत छ। अर्थात्, अन्तरव्यक्ति सञ्चार गर्न शाब्दिक र गैर–शाब्दिक दुवै तरिकाले सकिन्छ। अन्तरव्यक्ति सञ्चार दुई किसिमका हुन्छन्– यन्त्ररहित वा प्रत्यक्ष अन्तरव्यक्ति सञ्चार र यन्त्रसहित वा यान्त्रिक माध्यमको प्रयोग गरी भएको अन्तरव्यक्ति सञ्चार। दूरभाष (टेलिफोन) बाट दुई व्यक्तिबीच कुराकानी हुनु यान्त्रिक माध्यमको प्रयोग गरी भएको अन्तरव्यक्ति सञ्चारको उदाहरण हो। अन्तरव्यक्ति सञ्चारमा व्यक्तिहरूले आफूभित्र आन्तरिक सञ्चार पनि गरिरहेका हुन्छन्। त्यसैले अन्तरव्यक्ति सञ्चारअन्तर्गत आन्तरिक सञ्चार पनि समेटिएको हुन्छ।

दुईभन्दा बढी व्यक्तिका बीच एकै समयमा सम्पन्न हुने सञ्चार प्रक्रियालाई समूह सञ्चार भनिन्छ। एउटा समूहमा कति जनासम्म सदस्य हुनुपर्छ भन्ने सम्बन्धमा विभिन्न विद्वान्का विभिन्न मत रहेको पाइन्छ। जे होस्, यसमा सदस्यहरूको सङ्ख्या दुईजना भन्दा बढी (कम्तीमा तीन वा तीनभन्दा बढी) हुनैपर्दछ। 

समूह सञ्चार पनि दुई किसिमका हुन्छन्– यन्त्ररहित वा प्रत्यक्ष समूह सञ्चार र यन्त्रसहित वा यान्त्रिक माध्यमको प्रयोग गरी भएको समूह सञ्चार। कक्षा कोठामा हुने समूह सञ्चारमा कुनै यन्त्रको आवश्यकता नपरे पनि आमसभाजस्ता समूह सञ्चारमा यन्त्र (जस्तै ः लाउड स्पीकर) आवश्यक पर्छ । समूह सञ्चारमा संलग्न व्यक्तिहरूले आफूभित्र आन्तरिक सञ्चार पनि गरिरहेका हुन्छन् र त्यहाँ दुई दुईजनाबीचमा अन्तरव्यक्ति सञ्चार पनि भइरहेको हुन्छ। त्यसैले समूह सञ्चारअन्तर्गत अन्तरव्यक्ति सञ्चार एवं आन्तरिक सञ्चार पनि समेटिएको हुन्छ।

समूहभन्दा ठूलो एकाइ हो सङ्गठन। समूह–समूह मिलेर सङ्गठन बन्दछ। जस्तै : एउटा कक्षा समूह हो भने सम्पूर्ण विद्यालयचाहिँ सङ्गठन। कुनै पनि सामाजिक, राजनीतिक, प्रशासनिक, व्यावसायिक आदि सङ्घ–संस्था वा सङ्गठनहरूमा हुने सञ्चारलाई साङ्गठनिक सञ्चार भनिन्छ। सङ्गठनका सदस्यहरूका बीचमा, कुनै दुई सङ्गठनका बीचमा तथा सङ्गठनहरूका बीचमा हुने सञ्चार प्रक्रियालाई साङ्गठनिक सञ्चार भनिएको पाइन्छ। यसअन्तर्गत समूह सञ्चार, अन्तरव्यक्ति सञ्चार एवं आन्तरिक सञ्चार पनि समेटिएको हुन्छ।

सञ्चारको सबैभन्दा जटिल तह आमसञ्चार मानिन्छ। ठूलो सङ्ख्याका जनसमुदायलाई लक्ष्य गरी सञ्चारमाध्यमको प्रयोग हुने आमसञ्चारकै कारणले पुस्तक, पत्रपत्रिका, रेडियो, टेलिभिजन, फिल्म आदि जस्ता मिडिया विकास भएका हुन्। नेपाली भाषामा ‘आमसञ्चार’ र ‘जनसञ्चार’ शब्दावली एक–अर्काका समानार्थकका रूपमा प्रयोग हुने गरेका छन्। यी दुइटै शब्दावलीको अङ्ग्रेजीमा मासकम्युनिकेसन भनेर उल्था गर्ने गरिन्छ, जुन शब्दावली ‘मास’ र ‘कम्युनिकेसन’ दुईओटा शब्दहरूको संयोजनबाट बनेको छ। तीमध्ये ‘कम्युनिकेसन’ (अर्थात्, सञ्चार) शब्दको अर्थबारेमा माथि चर्चा गरिसकिएको छ। यहाँ प्रयोग भएको अर्को शब्द ‘मास’को अर्थ बारेमा तल चर्चा गरिएको छ। 

अङ्ग्रेजी भाषाको ‘मास’ शब्दले ठूलो सङ्ख्यामा रहेका जनसमुदायलाई बुझाउँछ। अङ्ग्रेजी भाषामा जनसमुदाय वा व्यक्तिहरूको समूहलाई बुझाउने अन्य शब्दहरू पनि छन्; जस्तै : ग्रुप, पब्लिक, क्राउड आदि। तर ती सबैको भन्दा पृथक् अर्थ दिनेगरी बीसौँ शताब्दीको पूर्वाद्र्धमा अमेरिकामा ‘मास’ शब्दको प्रयोग गर्न थालियो। सहरीकरण तथा औद्योगिकीकरण बढ्दै जाँदा अनेक गाउँहरूबाट सहर पसेका सामान्य मानिसहरूको विशाल समूहलाई बुझाउन त्यस बेलाका केही विद्वान्ले यो शब्द प्रयोग गरेका थिए। कामको खोजीमा सहर पसेका यी मानिसहरू त्यसअघि सहरिया बासिन्दाका रूपमा रहेका हुनेखाने ठालुवर्गका तुलनामा कम शिक्षित थिए। भिन्दाभिन्दै ठाउँबाट आएका हुनाले तिनीहरूबीचमा कुनै आत्मीय सम्पर्क तथा सम्बन्ध नभएको स्थिति थियो। तिनीहरूको रुचि पनि सहरीया ठालुवर्गको भन्दा फरक किसिमको थियो। यिनीहरूबीचको सञ्चारप्रक्रिया पनि फरक किसिमको भएको हुनाले त्यस्तो सञ्चारलाई बुझाउन ‘मास कम्युनिकेसन’ शब्दावलीको प्रयोग हुन थालेको थियो। अनि, कतिपय लेखकले त्यस्ता मानिसहरूको सांस्कृतिक पक्षलाई ‘मास कल्चर’ भनी जनाउने गरेका थिए। यसरी सुरुमा ‘मास’ शब्द केही नकारात्मक मानेमा प्रयोग हुन थालेको देखिन्छ तर अहिले यस शब्दले नकारात्मक अर्थ दिँदैन। यसको अर्थ केही परिवर्तन भइसकेको छ। यसको कारण के भने–कालान्तरमा एउटै शब्दको अर्थ पनि या त विस्तृत हुने या सङ्कुचन हुने र कहिलेकाहीँ ठ्याक्कै उल्टो अर्थ दिने गरी परिवर्तनसमेत हुने हुनसक्छ। 

‘मास कम्युनिकेसन’ शब्दावलीको प्रयोग व्यापक हुन थालेको सन् १९३० को दशकदेखि हो। यद्यपि, ठूलो जनसङ्ख्यालाई लक्षित गरिने सञ्चार प्रक्रिया भने मानव समाजमा त्यसअघि नै प्रचलनमा आइसकेको थियो। वर्तमान समयमा ‘मास कम्युनिकेसन’ को निकै व्यापक क्षेत्र रहेको छ। सोही शब्दावलीको नेपाली भाषामा ‘आमसञ्चार’ भनेर उल्था गरिएको हो। असीमित जनसमुदायका लागि कुनै माध्यम (जस्तै : पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) को सहायताले कुनै पनि विषयवस्तुलाई सन्देशको रूपमा प्रकाशन वा प्रसारण गर्ने प्रक्रियालाई आमसञ्चार (मासकम्युनिकेसन) भनिन्छ। 

अर्को शब्दमा भन्नुपर्दा, कुनै एक व्यक्ति वा केही व्यक्तिहरूको समूहबाट कुनै प्रविधि वा माध्यमको सहयोगमा ठूलो असीमित जनसमुदायलाई लक्ष्य गरेर गरिने सञ्चार नै आमसञ्चार हो। सामान्यतया आमसञ्चार भनेको आधुनिक प्रविधिजडित सञ्चारमाध्यमद्वारा विशाल सङ्ख्यामा रहेको अज्ञात जनसमूहका लागि लक्ष्य गरेर एकतर्फी रूपमा सन्देशलाई तुरुन्तै, निरन्तर एवम् बारम्बार टाढा– टाढासम्म पु-याइने प्रक्रियाको रूपमा लिइएको देखिन्छ।

आमसञ्चार भन्नाले त्यस्तो प्रक्रिया हो, जसमा पेसेवर सञ्चारकहरूले कुनै पनि सन्देशलाई तत्कालै, व्यापक एवं निरन्तर रूपले प्रचार–प्रसार गर्नका लागि माध्यमको प्रयोग गरिरहेको हुन्छ– ताकि त्यसबाट आफूले चाहेजस्तो अर्थ पैदा गरी विभिन्न र ठूलो सङ्ख्यामा रहेका लक्षित जनसमुदायलाई विविध किसिमका प्रभाव पार्न सकियोस्। आमसञ्चारअन्तर्गत विशेष समूहले प्रयोग गर्ने ती तरिकाहरू तथा तिनीहरू संलग्न संस्थाहरू सबै समेटिन्छन्, जसमा उनीहरूले ठूलो सङ्ख्यामा तथा छरिएर रहेका लक्षित जनसमुदायसम्म साङ्केतिक सन्देश प्रचार–प्रसार गर्न विभिन्न प्राविधिक साधनहरू (जस्तै– छापाखाना, रेडियो, चलचित्र आदि) को उपयोग गर्दछन्।

अन्तरव्यक्ति सञ्चार र आमसञ्चारको फरक बारे थप चर्चा गर्नु उपयोगी हुनेछ। दुवै नै सञ्चार प्रक्रियाअन्तर्गत पर्दछन्। सङ्केत, बोली, लेखाइ वा अन्य कुनै तवरले प्रत्यक्ष रूपमा दुई व्यक्तिबीच हुने सञ्चारलाई अन्तरव्यक्ति सञ्चार भनिन्छ। आमसञ्चारमा कुनै पनि सञ्चारमाध्यमको प्रयोग गरी धेरै जनमानसबीच एकै पटक सञ्चार प्रक्रिया सम्पन्न गरिन्छ। यी दुईबीच केही आधारभूत भिन्नताहरू रहेका छन्। जस्तै : अन्तरव्यक्ति सञ्चारमा दोहोरो सञ्चार प्रक्रिया सम्भव हुन्छ। यता आमसञ्चार चाहिँ सामान्यतया एकतर्फी (प्रेषकबाट प्रापकतर्फ) प्रवाहको रूपमा रहेको हुन्छ। अन्तरव्यक्ति सञ्चारमा प्रतिक्रिया छिटो र धेरै हुन्छ तर आमसञ्चारमा प्रतिक्रिया एकदमै कम र निकै ढिलो गरी मात्र प्राप्त हुने हुन्छ। अन्तरव्यक्ति सञ्चारमा व्यक्ति–व्यक्तिबीच प्रायः सोझो सम्पर्क हुन्छ तर आमसञ्चारमा प्रविधिमार्फत मात्र सम्पर्क हुन्छ। अन्तरव्यक्ति सञ्चारमा सञ्चार प्रक्रियाको विषय–वस्तु तय गर्नमा दुवै पक्षको भूमिका हुन्छ, तर आमसञ्चारमा स्रोता (प्रापक) को भूमिका कम वा सीमित हुन्छ। अन्तरव्यक्ति सञ्चारमा शारीरिक निकटताको अनुभूतिसमेत हुन्छ तर आमसञ्चारमा यस्तो निकटताको अनुभूति हुँदैन । अन्तरव्यक्ति सञ्चार सरल तथा कम खर्चिलो हुन्छ, यसको तुलनामा आमसञ्चार जटिल र बढी खर्चिलो हुन्छ।

अन्तरव्यक्ति सञ्चारमा मानव इन्द्रियको बढी महìवपूर्ण भूमिका हुन्छ, आमसञ्चारमा प्रविधि (टेक्नोलोजी) वा यन्त्र (मेसिन) को बढी महत्त्वपूर्ण भूमिका हुन्छ। अन्तरव्यक्ति सञ्चारमा सम्बद्ध पक्षहरूले साझापनको जुन अनुभूति गर्दछन्। आमसञ्चारमा त्यस्तो अनुभूति हुँदैन। बरु, अवरोधको सम्भावना बढी हुन्छ। अन्तरव्यक्ति सञ्चारमा दुईपक्षीय दृष्टिकोण कायम भएको हुन्छ, त्यसको तुलनामा आमसञ्चारमा प्रायः एकपक्षीय दृष्टिकोण बढी हुन्छ। आमसञ्चारमा पेसेवर सञ्चारकर्ता रहेका हुन्छन् तर अन्तरव्यक्ति सञ्चार पेसाको रूपमा रहेको छैन। आमसञ्चारको विषयवस्तु वा अन्तर्वस्तु (कन्टेन्ट्) प्रायः सार्वजनिक महìवको हुन्छ तर अन्तरव्यक्ति सञ्चारमा चाहिँ सामान्यतया सहभागी दुई पक्षको रुचिका आधारमा विषयवस्तु तय हुन्छ। 

आमसञ्चार यस्तो प्रक्रिया हो, जसबाट कुनै जटिल सङ्गठनले सार्वजनिक सन्देशलाई एक वा धेरै प्रकारका यन्त्रको प्रयोग गरी धेरै, असमान तथा छरिएका जनसमुदायतर्फ लक्षित गर्दै उत्पादन तथा सम्प्रेषण गर्दछ। आमसञ्चार त्यस्तो प्रक्रिया हो जसमा देशभरि वा संसारभरि छरिएका मानिसहरूसँग छापा वा विद्युतीय माध्यमको प्रयोग गरी सञ्चार गरिन्छ। डिजिटल प्रविधिको विकासले आमसञ्चार प्रक्रियालाई झन् सहज बनाएको छ।