• ७ जेठ २०८१, सोमबार

मह बिक्री नहुँदा समस्या

blog

घोराही समाचारदाता

घोराही, साउन २१ गते । घोराही उपमहानगरपालिका–१३, कलमघारीका रेशमबहादुर राणासँग अहिले १५० घार मौरी छन् । मौरीपालनमा मेहनतअनुसार राम्रै कमाइ हुने भएकाले राणाले बर्सेनि मौरी बढाउँदै आउनुभएको थियो । मौरी बढ्दै जाँदा उत्पादन पनि बढेको थियो तर उत्पादन भएको मह बिक्री नहुँदा उहाँ समस्यामा पर्नुभएको छ । “गएको वर्ष मह उत्पादन राम्रो भएको थियो तर अहिलेसम्म मह बिक्री भएको छैन । अब फेरि मह उत्पादन हुने सिजन सुरु हुने बेला भइसक्यो,” राणाले भन्नुभयो । 

उहाँको जस्तै पीडा बङ्गलाचुली गाउँपालिका–४ का किसान मोहन खत्रीको पनि छ । अन्यत्रभन्दा दाङको महको गुणस्तर राम्रो रहे पनि बिक्री हुन नसकेकाले घरमै मह राख्नुपर्ने अवस्था आएकोे उहाँले बताउनुभयो । “भन्नलाई दाङको मह अरू ठाउँको भन्दा स्तरीय छ भन्नुहुन्छ तर के गर्नु उत्पादन भएको मह नै बिक्दैन, घरमा राख्नुपरेको छ,” खत्रीले भन्नुभयो । 

राणा र खत्रीजस्तै मह बिक्री नहुँदा दाङका धेरै किसान समस्यामा परेका छन् । दाङमा हाल पाँच सयभन्दा बढी व्यावसायिक रूपमा मौरीपालक किसान रहेको नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभएको छ । हाल १५० टन मह बिक्री नभएर किसानसँग रहेको उहाँले बताउनुभयो । 

“विगत वर्षभन्दा यस वर्ष राम्रो उत्पादन भएको थियो तर अहिले मह बिक्री नहुँदा खर्च उठाउन पनि किसानलाई समस्या भएको छ,” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । बाहिरबाट आउने महका कारण स्थानीय मह बिक्री हुन नसकेको उहाँले बताउनुभयो । 

दाङको मह बुटवल, पोखरा, काठमाडौँलगायतक  सहरमा बिक्री हुने गरेको थियो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरी जोनकी प्राविधिक सहायक नारायणी घर्तीले मौरीपालक कृषकलाई मौरीको नश्ल सुधारदेखि व्यावसायिक रूपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आए पनि बजारीकरणको काम कृषक आफैँले गर्ने गरेको बताउनुभयो । मौरी जोनमा मात्रै घोराहीका १०१, तुलसीपुरका ४५ र बङ्गलाचुलीका ११ वटा मौरीपालक फर्म सूचीकृत भएका छन् । उनीहरूलाई यान्त्रिक उपकरणमा अनुदानदेखि अरू प्राविधिक सहयोग परियोजनाले गर्दै आएको छ । 

महको बजारीकरणमा समस्या हुन थालेपछि जिल्लाका किसान सङ्गठित रूपमा एकद्वार प्रणालीमार्फत मह बिक्री गर्ने तयारीमा जुटेका छन् । जसका लागि सबै मह उत्पादक किसानलाई अब सहकारी संस्थामा आबद्ध गराउँदै एकीकृत रूपमा मह बिक्री गर्ने तयारी गरेका हुन् ।